Aamsanchar

१५ लाख मानिसले धमाधम काठमाडौं छोड्दै,दशैंमा वैकल्पिक यातायात खोजी

Author Image
शनिवार, असोज १५, २०७३
झापा ।

नेपालीहरुको महान चाड दशैं शुरु भइसके पनि यातायात व्यवसायी र सरकारबीच समझदारी हुन नसकेपछि सरकारले राजधानीबाट बाहिर जाने यात्रुका लागि यातायातको वैकल्पिक व्यवस्थाको खोजी थालिएको जनाएको छ।

व्यवसायीका सिट क्षमता भन्दा बढी यात्रु राख्न पाउनुपर्ने जस्ता मागहरु सम्बोधन गर्ने अवस्थामा सरकार नरहेको र व्यवसायीहरु आफ्नो मागबाट पछि नहटेको यातायात व्यवस्था विभागका महानिर्देशकले बताए।

व्यवसायीहरुले भने समस्याका कुरा राख्दा सरकार उदासीन बनेको आरोप लगाएका छन्।

यसै साताको शुरुदेखि नै राजधानी बाहिर जाने यात्रुका लागि यातायात व्यवसायीले अग्रिम बुकिङ खुल्ला गरेका थिए।

दुई दिनमै सबै टिकट सकिएको भन्ने भनाईमाझ धेरैले टिकट नपाएको गुनासो गरेपछि व्यवसायी र सरकारले बाँकी यात्रुलाई कसरी सहज बनाउने भन्नेबारे छलफल गरेका थिए।

व्यवसायीहरुको माग अनुसार १५ दिनका लागि अस्थाई रुट परमिट दिने निर्णय सरकारले गरेको थियो।

यसका अतिरिक्त सिट झमता भन्दा बढी यात्रु बोक्न दिएमा र एकतर्फी मात्र यात्रु बोक्ने बसलाई पेट्रोलियम पदार्थ उपलब्ध गराइदिएमा सबै यात्रु लैजान सकिने माग व्यवसायीहरुले राखेका थिए।

शुक्रबार भौतिक योजना तथा यातायात मन्त्रालयमा सरकारी निकायकाबीच भएको छलफलमा ती मागहरु पूरा गर्न नसकिने भन्दै विकल्पको खोजी गर्ने सहमति भएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए।

उनले भने, “व्यवसायीहरू यात्रु मैत्री भएनन् त्यसैले विकल्प खोज्ने कुरा अगाडि बढेको छ, विद्यालय संचालकहरुसँग पनि कुरा गर्दैछौं। साझाका, सेना, प्रहरी, निजामती लगायत संस्थानमा भएका सवारी साधनलाई पनि प्रयोग गर्ने कुरा भइरहेको छ।”

यद्यपी यातायात व्यवसायीहरुसँगको छलफल जारी रहने उनले बताए।

श्रेष्ठले भने, “वार्ता त हुनसक्छ वार्ताको ढोका बन्द भइसकेको छैन, धेरै कोशिस गरियो उहाँहरु सम्झौतामा आउन चाहनु भएन।”

सडकको सुधार, व्यवसायीको समस्या जस्ता कुराहरु आफुले सरकारसँग राखेको तर सरकार उदासLन देखिएको भनाई यातायात व्यवसायी महासंघको छ।

शुक्रवार दिउँसो यातायात व्यवस्था कार्यालयमा भएको छलफलमा सहभागी व्यवसायीले आफुहरुले राखेका मागहरु जायज रहेको बताएका छन्।

महासंघका महासचिव सरोज सिटौलाले भने, “हामी यात्रुप्रति प्रतिवद्ध छौं, हामीले ठुला माग राखेका छैनौं, सडकमा सवारी आवागमनलाई सहज बनाउन सडकका खाल्डा पुर्न र एकतर्फी हुने बसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा त गरेका हौं।”

विगतका वर्षहरुमा दशैंका बेला बसका छतहरुमा समेत यात्रुहरुलाई बोक्ने गरिएको थियो।

हालै सरकारले सिट क्षमता भन्दा बढी यात्रु बोक्न नपाउने जस्ता नियममा कडाई गर्न थालेदेखि नै व्यवसायी र सरकारी निकायबिच विवाद शुरु भएको थियो।

त्यसको मारमा दशैं मनाउन आफ्नो घर जाने मानिसहरु पर्ने देखिएको वीवीसीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर