Aamsanchar

लोकमान्य शब्दकोश [हाँस्नलाई काफी]

Author Image
सोमवार, कार्तिक ८, २०७३

मनोज गजुरेल

lokman


अहिले जताततै लोकमानको चर्चा छ । लोकमानलाई नचिन्नेहरू पनि ‘लोकमान’ शब्दसँग परिचित छ । लोकमान काण्ड नजान्नेहरू पनि लोकमानलाई चिन्न थालेका छन् । लोकमानका बारेमा जान्नेहरूभन्दा नजान्नेहरूले लोकमानको शब्दको चर्चा गरेको पाइन्छ ।
कानुनविद्, अधिकारकर्मी, लोकतन्त्रका पक्षधरहरू, कानुनी राज्यका हिमायतीहरू लोकमान प्रवृत्तिको आलोचना गर्दैछन् । पार्टीका शीर्ष नेताहरू, मन्त्री र शक्तिशाली प्रशासकहरू चुप्प बसेका छन् । उनीहरूको यो मौनताभित्र कस्तो रहस्य लुकेको छ, केहीलाई थाहा छ, धेरैले चाँडै थाहा पाउनेछन् तर लोकमान शब्दचाहिँ धेरैले जपिरहेका छन् ।

यो नामको चर्चा हुनु मलाई चाहिँ एकदमै राम्रो लागिरहेको छ । किनभने नाम होस्, बदनाम होस् तर गुमनाम नहोस् भनेझैं ‘लोकमान’ शब्दले आफ्नो चर्चा कायम राखेको छ । सबैको मुखमा झुन्डिएको छ, यही ठूलो कुरा हो ।
पत्रकार, वकिल, कार्यकर्तादेखि बालक, वृद्ध र सर्वसाधारणले समेत लोकमानलाई मन्त्रझैं जप्नु सामान्य कुरा होइन । यो नाममा कुन त्यस्तो अलौकिक शक्ति छ ? कि, लौकिक शक्तिले नै काम गरेको हो ? अथवा पावर र पैसाको खेलले नै सुपरहिट भएको हो ? यी सबै प्रश्नको जवाफ समयले दिनेछ ।
चाडबाडको बेला छ । आज यस्तो गम्भीर विषयतिर जानु पनि उचित हुँदैन । समय आएपछि त्यतातिर जाऔंला । लोकमानकै प्रसंग भएकाले यसैको ‘फन्नी साइड’का बारेमा चर्चा गरौं ।
‘लोकमान’ शब्द यति भाइरल भैसक्यो कि यसलाई जोडेर सयौं वाक्य बनाउन सकिन्छ । लोकमान्नु, लोकमानिनु, लोकमान्दा, लोकमानक, लोकमुन्ट्याउनु, लोकमिच्नु, लोकपार्नु थुप्रै शब्द बनेका छन् । यी शब्दले वर्तमान नेपालको न्याय प्रणाली, कानुनी राज, राजनीतिको विरूपताजस्ता थुप्रै कुरालाई प्रतिविम्बित गर्छ ।
आउनुहोस्, लोकमान कोशमा भएका केही शब्द, अर्थ र वाक्य प्रयोग पढौं र चाडबाडको मौसमलाई थप मनोरञ्जक बनाऔं ।

लोकमान्नु : अटेर गर्नु । वाक्य : कानुन सबैका लागि बराबर हुन्छ । त्यसैले यसलाई कसैले पनि लोकमान्नु हुँदैन ।

लोकमानक : पदका कारणले व्यक्तिमा उत्पन्न हुने सनक । वाक्य : लोकमानकका भरका कुनै पनि निर्णय गर्न हुँदैन । शान्त दिमागले सोचेर निर्णय गर्नुपर्छ ।
लोकमात्तिनु : अनावश्यक फुर्ती लगाउनु । वाक्य : बल छ भन्दैमा धेरै लोकमात्तिनु हुँदैन, जुनसुकै बेला परलोक पुग्न सकिन्छ ।
लोकाचार : धर्मको आवरणमा शक्ति आर्जन गर्नु । वाक्य : बाहिर लोकाचार गरेर के गर्नु, भित्र शक्तिको लोभले लाभ र लाभले विलाप गरेको हुन्छ ।
लोक्पार्नु : कानुलाई धोती लगाइदिनु । वाक्य : कानुन सानालाई त लाग्ने रहेछ नि । ठूलाबडाहरूले त्यसलाई लोक्पारिहाल्दा रहेछन् ।

लोकोक्ति : लोकमानको भनाइ । वाक्य : बरु ठट्टा गरेको हो भने पत्याउन सकिएला, लोकोक्ति हो भने ज्यान गए पनि पत्याइँदैन ।

लोखर्के : पदमा पुग्न जे पनि गर्ने तरिका । वाक्य : पढेर गएको भए पो बलियो हुन्थ्यो । लोखर्के पारामा चढेको पद आज हो कि भोलि †
लोकन्ती : लोकतन्त्रको अन्त्यका हिँड्ने मानिस । वाक्य : हैन, यो अख्तियारमा लोकन्ती मात्र छन् कि लोकतन्त्रका जन्ती पनि छन् हँ ?
लोकमुन्ट्याउनु :
आफ्ना विरोधीलाई जेलमा सडाउनु । वाक्य : होस गर्नुस् है प्रधानमन्त्रीजी, आफैंले दूध ख्वाएर पालेको सर्पले लोकमुन्ट्याउला ।
लोक्नु : कारबाहीको डरले विदेश लाग्नु । वाक्य : एक–डेढ महिनालाई बिदेशतिर लोक्नोस् न । मत्थर भएपछि फर्किए भैहाल्यो नि ।

लोकरठ्याक : हेर्दाका डाल, ढिंडाका काल । वाक्य : यी सांसद्हरू लोकरठ्याक नै रहेछन् । लोकमानका बारेमा बोल्नुपर्‍यो भने ज्वरो नै आउँछ ।
लोकु : अदालतले खोज्दा नभेटिनु । वाक्य : किन डराएको ? दुई–चार दिन लोकु हान्दे न । लोकु हानेपछि को–कोले खोज्दा रहेछन्, हामी पनि हेरौंला ।
लोकल : लोकमानले कल गर्दा हाजिर भैहाल्नेहरू । वाक्य : यो मान्छे लोकल हो है । यसको धेरै विश्वास गरिहाल्नु हुन्न ।साप्ताहिक

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 351

प्रतिक्रिया (०)

सम्बन्धित खबर