Aamsanchar

रहेनन् देश बनाउने गायक

Author Image
शनिवार, कार्तिक २०, २०७३

Mahasa-Palpali-581c73c34ab3c5.46057964

‘हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँला
एक कोटी जन मिलेर सुसार गर्दै जाउँला’
नेपाललाई संसारकै राम्रो बनाउने वाचा गरिएको यो गीतका गीतकार एवम् गायक महेश पाल्पाली अब रहेनन् । ८४ वर्षको उमेरमा कार्तिक १७ गते बुटवलमा उनको निधन भयो । शुक्रबार बुटवलकै मगरघाटमा उनको दाहसंस्कार गरिएको परिवारसम्बद्ध स्रोतले जनाएको छ ।

२०२२ सालमा रेडियो नेपालमा यादव खरेल लिखित ‘माया फिर्ता लाँदैछु, आउँदिन म जाँदैछु, बैगुनीलाई सम्झना..’ बोलको गीत रेकर्ड गराएर औपचारिक रुपमा सांगितीक क्षेत्रमा प्रवेश गरेका थिए पाल्पाली ।

१९८९ साल पुस ९ गते घनश्यामविक्रम शाह र ऋद्धिकुमारी देवी शाहको कोखबाट जन्मेका दौलत विक्रम शाहले आफैले महेश पाल्पाली नाम जुराएका थिए । डि.बी महेश पाल्पाली नामले परिचित उनले ‘जल्यो जल्यो मेरो तन जल्यो..’ लगायतका करिब तीन सय गीत रेडियो नेपालमा गाएपनि कमै मात्र रेकर्ड भए ।

बुद्धिबहादुर थकालीहरुले तीसको दशकमा गण्डक क्षेत्रमा सञ्चालन गरेको राजनीतिक सांस्कृतिक अभियान ‘रेलिमाई’बाट पाल्पालीले सांगितीक यात्रा शुरु गरेको बताउँछन् प्रगतिशील लेखक संघ रुपन्देहीका अध्यक्ष देवेन्द्र घिमिरे । घिमिरेका अनुसार राजनीतिक कारणले रेलिमाई समूहका अन्य सदस्य गिरफ्तार र भूमिगत भएपछि एक्ला भएका पाल्पाली रेडियो नेपालको पाल्पा स्टेशनमा गाउन पुगे । त्यही कालमा नै २०३० सालमा उनको गीत ‘हे आमा नेपाल तिमीलाई।।।’ रेकर्ड भयो ।

पञ्चायतकालमा रेडियो नेपालजस्ता सरकारी सञ्चार गृहबाट केही भरथेग पाए पनि बहुदलको आगमनपश्चात उनी मूलधारबाट ओझेलमा परेको बताउँछन् बुटवलका साहित्यकार दलबहादुर गुरुङ । पाल्पालीले सधैं जनपक्षधर र सामाजिक जागरणका गीत गाएको दावी गर्छन् कवि गिरी श्रीसमगर । पाल्पालीको निर्देशनमै महिला बेचबिखनविरुद्ध ०४१र०४२ सालमा महिला बेचबिखनविरुद्ध ठाउँठाउँमा सडक नाटक मञ्चन गरिएको सम्झन्छन् कवि श्रीस । ‘अतीतको सम्झना’, ‘सुरक्षा’, ‘नारीको व्यथा’, ‘कुखुरी काँ’, ‘युगबोध’ लगायतका उनका सडक नाटक चर्चित थिए ।

बहुदलपश्चात् बहिस्करणमा परेका पाल्पाली बुटवलमा श्रीमती र छोरासँगै जीवन बिताइरहेका थिए। आफ्ना अनन्य मित्र बाबुराम मल्ल सेवकको निधनपश्चात् उनी सांस्कृतिक गतिविधीमा कमै सहभागी हुन्थे ।अन्नपूर्ण

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर