Aamsanchar

नेपाली कन्टेनर कोलकातामा अलपत्र

Author Image
आइतवार, कार्तिक २१, २०७३

झापा । 

151211165056_nepal_blockade_sonauli_border_truck_driver_640x360_getty_nocredit

नेपाली मालवाहक कन्टेनरहरुको मुख्य बाटो भारतको कोलकाता बन्दरगाहबाट झन्डै एक महिनादेखि सामान ढुवानी हुन नसकेपछि नेपाली व्यापारीहरुले व्यापार घाटा बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

सवारी आवागमन अवरुद्ध हुने भन्दै दिउँसो कोलकाता बन्दरगाहबाट ढुवानी नखोलिएपछि झण्डै २ हजारभन्दा बढीको संख्यामा नेपाली व्यापारीहरुको कन्टेनर अड्किएको बताइएको छ।

उद्योग वाणिज्य महासंघले चाहिँ अब भारतले खोलेको नयाँ बन्दरगाह विशाखापट्नमबाट सामान ल्याउन व्यापारीहरुलाई प्रोत्साहन गर्ने बताएको छ।

घाटा

दिउँसो कन्टेनर ढुवानी गर्दा कोलकाताको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने भन्दै बंगाल सरकारले दशैंदेखि अहिलेसम्म बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म कोलकाता बन्दरगाहाबाट सामान ढुवानी गर्न रोक लगाएपछि यो समस्या आएको नेपाली व्यवसायीहरुले बताएका छन्।

त्यसका कारण नेपाली व्यापारीहरुको मात्र २ हजार भन्दा बढी कन्टेनरहरु रोकिएको र त्यसले व्यापार घाटा मात्र हुने नभइ नेपाली बजारमा सामानको अभाव देखिन सक्ने वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीपकुमार केडियाले बताए।

उनले भने, “हामीले प्रतिदिन ७० अमेरिकी डलर कन्टेनरको विलम्ब शुल्कको रुपमा दिनुपर्छ। कमाउने त परै जाओस् यहाँ थप पैसा खल्तीबाट तिर्नुपर्छ।”

बारम्बार

कोलकाता बन्दरगाह निकै सानो भएको र शहर बीचमा रहेकोले यस्तो समस्या बारम्बार भोग्नु परेको व्यापारीहरु बताउँछन्।

त्यस्तै त्यहाँका कर्मचारीहरु र ढुवानी कम्पनीहरुको हडताल पनि भइरहने भएकोले अब वैकल्पिक बन्दरगाहको प्रयोग गर्नुपर्ने बेला भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए।

उनले भारत सरकारले नेपाललाई प्रयोग गर्न स्वीकृति दिएको विशाखापटनम बन्दरगाह प्रयोगमा ल्याउने पहल अन्तिम चरणमा पुगिसकेको बताएका छन्। विशाखापट्नम नेपाली सीमाबाट १५ सय किलोमिटर टाढा छ।

अध्यक्ष मुरारकाले भने, “विशाखापट्नमबाट यहाँसम्म सामान रेलबाट ल्याउनुपर्छ। करिब सबै कुरा मिलिसकेको छ। सरकारबाट सबैकुरा स्वीकृत भइसकेको छ। त्यहाँबाट रेल्वेसंग कुरा भइरहेको छ। एउटा सिपिङ कम्पनीले रेल्वेसंग सम्झौता गरिसकेको छ। अब एकदुई महिनामा चालु हुन्छ होला।”

हाल कोलकाता बन्दरगाहमा फसेको नेपाली सामान निकाल्न निकै समय लाग्ने भन्दै व्यापारीहरुले कोलकातामा रहेको महावाणिज्य दूतावासलाई अनुरोध गरेका छन्।बिबिसी नेपालीबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर