Aamsanchar

स्थानीय तह पुनर्संरचनाको विरोध गर्दै एमालेसहितका छ दल आन्दोलित

Author Image
बुधवार, कार्तिक २४, २०७३

झापा ।

14996404_1196888350400448_791628605_n

झापामा स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले स्थानीय तह पुनर्संरचनामा एकलौटी निर्णय गरेको भन्दै नेकपा एमालेसहितका छ वटा राजनीतिक दल आन्दोलित भएका छन् ।

स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक समेत रहेका स्थानीय विकास अधिकारी खेमराज ओझाले आफूहरुलाई बैठकमै सहभागी नगराई एकलौटी रुपमा निर्णय गरेको भन्दै एमाले, नेकपा माले, नयाँ शक्ति लगायतका दल आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलित दलहरुले बुधवार पुनर्संरचनाको निर्णय सच्याउन माग गर्दै झापा सदरमुकाम चन्द्रगढीमा प्रदर्शन समेत गरेका छन् । कार्यक्रममा बोल्दै सांसद रविन कोइरालाले प्राविधिक सहयोग समितिका संयोजक ओझाले तत्काल निर्णय नसच्याए जिल्ला विकास समितिको काम कारवाही ठप्प पार्ने चेतावनी दिए ।

कात्तिक २२ गते बोलाइएको बैठकमा ओझाले कांग्रेस, माओवादी केन्द्र लगायतका राजनीतिक दल आइ नपुगेको भन्दै चार घण्टा कुराएर एमालेसहितका छ वटा दललाई फर्काइदिएका थिए । आफूहरु बाहिरिए लगत्तै ओझाले कांग्रेस र माओवादी केन्द्रका नेताहरु बोलाएर बैठक गरी सर्वसम्मत निर्णय भन्दै १५ तहको खाका सार्वजनिक गरेकोे उनीहरुको आरोप छ ।

यसअघि स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले एमाले, नेकपा माले, नयाँ शक्ति लगायतका दलको तीव्र असहमतिका बीच झापामा एक उपमहानगरसहित छ नगरपालिका र आठ गाउँ पालिका रहने गरी १५ वटा स्थानीय तह सिफारिस गरेको थियो । यसैबीच झापा क्षेत्र नम्बर ७ मा रहेका राजनीतिक दलहरुले दमकलाई उपमहानगरपालिका बनाउनु पर्ने माग गदै गठन गरेको आन्दोलन परिचालन समितिले आज आन्दोलनका कार्यक्रम सार्वजानिक गरेको छ ।

समितिले दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्षेत्र नम्वर ७ भित्र विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो । दमक नगरपालिका, लखनपुर, तोपगाछी, धरमपुर गाविसलाई दमकमा गाभेर दमक उपमहानगरपालिका नबनाएसम्म अति आवश्यकीय सरकारी साधान बाहेक भोलिदेखि सरकारी साधन चलाउन नदिने, अनिश्चितकालीन सरकारी कार्यालय बन्द गर्ने, सार्वजनिक स्थान र सरकारी कार्यालय अगाडि कालो झण्डा गाडेर आन्दोलन गर्ने निर्णय भएको समितिले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, सबै राजनीतिक दलका केन्दीय अध्यक्षहरुलाई ज्ञापन पत्र बुझाउने, क्षेत्र नम्वर ७ भित्रका गाविस र नगरपालिकाहरुमा सर्वपक्षीय र सर्वदलीय छलफल अन्तरक्रिया कार्यक्रम गर्ने पहिलो चरणको तालिका रहेको आन्दोलन परिचालन समितिका संयोजक गगन पुरीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर