Aamsanchar

‘निर्माण व्यवसायलाई मर्यादित पेशाको पहिचान दिलाउँछु’ मिलन बस्नेत

Author Image
शुक्रवार, पौष १, २०७३

unnamed

मिलन बस्नेत

अध्यक्ष

निर्माण व्यवसायी संघ झापा

मिलन बस्नेत (४७) निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा भर्खरै निर्वाचित भएका छन् । निर्वाचित भएसँगै निर्माण व्यवसायीलाई मर्यादित पेशाको रुपमा स्थापित गर्ने र निर्माण व्यवसायीको अलग्गै पहिचान दिलाउने उनको दृढता छ । यही दृढतालाई पूरा गर्न व्यवसायीका हरेक कठिनाइसँग जुधेर व्यवसायीको हकहितमा आफू अहोरात्र खट्ने बताउँछन् । सार्वजनिक निर्माणको ठेक्कालाई व्यवस्थित गर्न र सबै व्यवसायीबीच सहकार्य, सहमति र एकताको भावना अनुसार अघि बढ्ने आफ्नो योजना रहेको उनले सुनाए ।
झापाको शनिअर्जुन–७ का स्थायी बासिन्दा मिलनले शनिश्चरे माविबाट २०४३ सालमा एसएलसी गरी काठमाडौंको आरआर क्याम्पसबाट आइएसम्मको अध्ययन गरेका छन् । पढ्दापढ्दै निर्माण व्यवसायीमै लागेर भविष्य बनाउने योजना बुनेका मिलन व्यवसायमा सफल देखिन्छन् । अहिले उनी मंगलश्री कन्ट्रक्सन र मंगलश्री क्रसर उद्योगका सञ्चालक हुन् । २०५० सालमा विन्दिया श्रेष्ठसँग बिहे गर्दा जीवनमै सबैभन्दा खुशी भएको उनले सुनाए । विन्दियासँग उनको ‘लभ म्यारिज’ थियो । मिलन–विन्दियाका छोरी सागरिका एमबीबीएस हुन् भने छोरा वरदान विज्ञान संकायमा कक्षा ११ मा अध्ययरत् छन् । मिलन माता कृष्णकुमारी र पिता टेकमानका एकमात्र छोरा हुन् । उनका दुई दिदी छन् ।
२०५६ सालमा उनी आफ्नै सोच र योजनाका साथ निर्माण व्यवसायमा होमिएका हुन् । व्यवसायमा सफलतासँगै उनले निर्माण व्यवसायी संघ झापाको विभिन्न कार्यकालमा प्राप्त पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् भने संघको क्षेत्रीय समितिमा समेत उनी पुगेका छन् । झापामा ए ग्रेडका दुई जना निर्माण व्यवसायी र संघमा आबद्ध २१६ जना व्यवसायी रहेको उनले बताए । निर्माण व्यवसायी क्षेत्रका समस्याको सन्दर्भमा कुरा गर्दा उनले धेरै समस्या रहेको सुनाए । मुख्य समस्या निर्माण व्यवसायीहरूका लागि ‘लो बिडिङ’ (न्यून दररेटमा टेण्डर) समस्याका रूपमा देखिएको छ । लागतभन्दा पनि कम दररेटमा टेण्डर हाल्दा व्यवसायी पलायन हुनेक्रम बढेको छ । यसले आयोजनाको कामसमेत प्रभावकारीरूपमा सम्पन्न हुन नसकेको अवस्था छ । ‘लो बिडिङ’का कारण वर्षेनि एक सयभन्दा बढी निर्माण व्यवसायी पलायन हुनेक्रम बढेको छ । ‘लो बिडिङले भ्रष्टाचारसमेत बढाएको छ । ‘एकातिर भ्रष्टाचारले प्रश्रय पाएको छ भने अर्कातिर निर्माण आयोजना गुणस्तरीय बन्न सकेका छैनन् । एक सय रुपैयाँ खर्च लाग्ने ठाउँमा ३० रुपैयाँमै काम बन्छ भन्नु हास्यास्पद छ । अनि कसरी आयोजना गुणस्तरीय बन्न सक्छन् ?’ कम दररेट कबुलले घुस खाने र कम गुणस्तरको काम हुने गरेको उल्लेख गर्दै उनले घुस खाने र खुवाउने दुबै अपराधी भएको बताए । ‘सबै इमान्दार भएर लागौं १० वर्षमा देश विकसित हुन्छ’ – उनले भने ।
कम दररेट कबुललाई व्यवस्थापन गरी समयमै गुणस्तरीय निर्माण गर्नेतर्फ व्यवसायी लाग्नुपर्नेमा उनको जोड छ । ‘निर्माण व्यवसायमा देखिएका समस्या समाधानको पहल गर्न म तयार छु’ – उनले भने । यसमा समन्वय, सहकार्य र सहयोगको खाँचो पनि उनले औल्याए । यसका लागि कम मूल्यमा टेण्डर स्वीकृत गर्ने प्रवृत्ति रोक्नुपर्ने उनले बताए । स्वदेशी व्यवसायीले गिटी, ढुंगा र बालुवा नपाउने तर भारत निकासी हुने व्यवस्था रहेकाले त्यसलाई तत्काल रोक्नुपर्ने अवस्था छ । नेपाल सरकार र नेपाल निर्माण व्यवसायी महासंघबीच २०६६ मंसीर ४ गते भएको ४५ बुँदे सहमति अलपत्र परेको छ ।
ती समस्यासँग जुद्धै जाने र पेशालाई व्यवस्थित गर्दै जाने आफ्नो योजना रहेको अध्यक्ष बस्नेतले बताए । समयमा रकम निकासा नहुने, योजना तोकिएकोभन्दा ढिलो सम्पन्न हुने, राज्यको तरल नीतिका कारण गिटी, बालुवामा लाग्ने प्रतिबन्धले विकास निर्माण नै अवरुद्ध हुने गरेकोसमेत उनी बताउँछन् । अघिल्लो वर्ष भारतको अघोषित नाकाबन्दीले निर्माण व्यवसायीले अरबौंको घाटा व्यहोर्नुका साथै मुलुकको विकास नै अवरुद्ध हुन पुगेको तीतो अनुभव उनले सुनाए ।
निर्माण व्यवसायीमा लागेर उत्कृष्ठ काम गरेवापत अर्जुनधारा जलेश्वरधाम लगायत विभिन्न क्षेत्रबाट उनी सम्मानितसमेत भएका छन् । आफ्ना कुरा प्रष्टरुपमा राख्ने बस्नेत धार्मिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील छन् । उनी श्रीकृष्ण प्रणामी मन्दिर शनिश्चरेको अध्यक्ष, कृष्ण प्रणामी सत्संग सेवा परिषद् झापाको उपाध्यक्षसमेत हुन् । बस्नेत क्रसर व्यवसायी संघ झापाको सदस्यसमेत रहेका छन् । सामाजिक, धार्मिक र मानवीय सेवामा समेत सक्रिय उनी त्यस क्षेत्रमा आगामी दिनमा अरु क्रियाशील हुने बताउँछन् । निर्माण व्यवसायी संघ झापाको नेतृत्व सम्हाल्न पुगेका बस्नेतको कार्यकाल सफल होस्, शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर