Aamsanchar

कांग्रेसका कान्छा तर सक्रिय सभापति नवीन

Author Image
सोमवार, पौष ११, २०७३

nabin bimali g
नवीन बिमली(३४) नेपाली कांग्रेसका कान्छा क्षेत्रीय सभापति हुन् । उनी कांग्रेस झापा क्षेत्र नं. २को सभापति छन् । सिके प्रसाईं (भरतबाबु)को विचार र प्रजातन्त्रप्रतिको दृढ विश्वासका कारण आफू राजनीतिमा प्रेरित भएको उनी बताउँछन् । ‘भरत बाबुको घर महेन्द्ररत्न स्कूल दक्षिणपट्टि पथ्र्यो, यो प्रजातन्त्रवादीको घर हो भनेर सबैले भन्ने गर्थे’– सभापति विमली भन्छन्– ‘उनी बारे धेरै सुनेपछि उनको पुस्तक समेत पढें र राजनीतिमा लाग्न प्रेरित भएँ ।’
झापा गरामनी–९का मेदनीप्रसाद–कौशल्यादेवी विमलीका ज्येष्ठ सुपुत्र हुन् उनी । चार सन्तान मध्ये उनका भाइ र दुई बहिनी छन् । विद्यार्थी उमेरबाटै राजनीतिमा लागेको र राजनीतिशास्त्र पढ्ने इच्छा हुँदाहुँदै पनि उनले बाणिज्य संकायमा स्नातकोत्तर गरेका छन् । विराट निमावि हुँदै हालको महेन्द्ररत्न उमाविबाट उनले एसएलसी गरे । महेन्द्र रत्नमा २०५३ सालमा नेविसंघको सदस्यता लिएर राजनीतिमा होमिएका नवीन मेची बहुमुखी क्याम्पस नेविसंघ इकाईको सभापति, नेविसंघबाटै स्ववियुमा सह–सचिव, सचिवसम्म भए । स्नातकोत्तर उनले काठमाडौंको शंकरदेवबाट गरे । त्यहाँ नेविसंघ इकाई समितिको सल्लाकार थिए उनी । नेविसंघको राजनीतिमा झापाको क्षेत्रीय सभापति, जिल्ला सचिव हुँदै जिल्ला सभापतिको रुपमा कुशल नेतृत्व समेत उनले पूरा गरेका छन् । २०६२÷०६३ सालको दोस्रो जनआन्दोलनमा सक्रिय रुपमा संघर्षमा होमिदै गर्दा दर्जनौंपटक गिरफ्तारी र धेरैपटक घाइते पनि भएका थिए । पार्टी क्षेत्र नं. २को क्षेत्रीय सचिव समेत भइसकेका नवीन पार्टीको १३औं महाधिवेशनसँगै क्षेत्रीय अधिवेशनबाट ४ बर्षे कार्यकालका लागि सभापतिमा चुनिएका हुन् । कान्छा सभापति नवीनले सचिव पनि उत्तिकै सक्रिय र जेसीज अभियानबाट खारिएका व्यक्तित्व रमेश पोखरेललाई पाएका छन् ।
कांग्रेसको क्षेत्र नं. २मा तिनै युवा नेताका कारण पार्टीको गतिविधि निकै सक्रिय देखिन्छ । क्षेत्र नं. २का सबै भातृसंगठनको क्षेत्र, नगर र गाउँ तहसम्मको अधिवेशन, पार्टीका ती तहसहित सबै संगठनको नियमित बैठक बस्दै आएको उनले सुनाए । राजनीतिमार्फत समाजसेवा गर्ने जीवनको लक्ष्य राखेका नवीन आफ्नो समय राजनीति र सेवामै खर्च गरिरहेको भेटिन्छन् । सकारात्मक सोचका साथ सहयोगीसँगै सेवाका लागि उत्तिकै सक्रिय पनि छन् उनी । २०४८ सालपछि झापा क्षेत्र नं. २मा नेपाली कांग्रेसको उम्मेदवारले वितेको दोस्रो संविधानसभामा पार्टीका उम्मेदवार सुधिरकुमार शिवाकोटीले पहिलोपटक जित हासिल गरेका हुन् । शिवाकोटीको जितमा नवीनसहितका युवा नेताको महत्वपूर्ण भूमिका थियो ।
पार्टीको उक्त साखलाई कायम राख्दै स्थानीय तहदेखि राष्ट्रिय निर्वाचनमा समेत झापा क्षेत्र नं. २मा कांग्रेसको बर्चस्व कायम गर्ने र पहिलो पार्टी बनाउने लक्ष्यका सिंगो क्षेत्रीय समिति अग्रसर भएको नवीनको खुलासा छ । ‘अहिले चाहिँ हामी वडादेखि गाउँ नगरका पार्टी समिति तथा सबै भातृ संगठनलाई क्रियाशील बनाउँदै कुनै पनि बेला घोषित हुन सक्ने स्थानीय तहको निर्वाचनका लागि पार्टीलाई तयारी अवस्थामा प्रस्तुत गर्ने कार्यमा व्यस्त छौं’– नवीनले अहिलेको काम समेत सुुनाए । कांग्रेसका कान्छा क्षेत्रीय सभापति नवीवनसँग राजनीतिका विविध सेरोफोरोमा रहेर गरिएको संक्षिप्त कुराकानी प्रस्तुत छ ः
मुलुकको वर्तमान परिस्थिति र राजनीतिलाई कसरी मूल्यांकन गर्नुहुन्छ एक युवा नेताको दृष्टिले ?
– आजका दिनमा नेपालमा उभिएर एउटा राजनीतिकर्मी मात्र होइन एउटा स्वच्छ देशप्रेम भएको व्यक्तिले आफ्नो दिमागबाट केही सोचिरहेको छ भने देशमा जसरी पनि शान्ति सुव्यवस्था कायम होस् । देश अग्रगतिको बाटोमा जाओस्, यसका लागि राजनीतिक दलहरु मिलेर निकास दिउन् भन्ने सोच्छ । राजनीतिक निकास भएन भने देश सँधै अनिर्णयको बन्दी बनिरहन सक्छ । आजका दिनमा सबैलाई सर्व स्वीकार्य संविधान बनाउँदा बनाउँदै केही महत्वपूर्ण कुराहरु संविधानमा छुटे भन्ने जुन आवाज जनस्तरबाट उठेको छ, त्यसले नेपाललाई सताइरहेको छ । यसलाई नजर अन्दाज गरेर उग्र राष्ट्रवादको आँखाले मात्र हेर्ने हो भने समस्या समाधान हुँदैन, समस्या समाधानमा सबैको पहलकद्मी नहुने हो भने देश बर्बादीमा जान सक्छ । यो देशमा बस्ने सबै नागरिक जातजाति, भाषा धर्म, संस्कृति, लिङ्ग, भूगोल सबैको अधिकार समान छ भन्ने सत्यलाई बुझेर आवश्यकीय ठाउँमा संविधान संशोधनमार्फत सबै पक्ष जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, भूगोललाई अधिकतम्भन्दा अधिकतम् अपनत्व स्वीकार हुने गरी संविधान संशोधनमार्फत निकास निकालेर यथाशीघ्र देशलाई निर्वाचनमा लानुपर्छ । हामीले ०७४ माघभित्र निर्वाचन गर्नैपर्छ । यसो गर्न सकिएन भने आजको हाम्रो पुस्तालाई मात्र होइन अझ धेरै पछिका पुस्ताले पनि दुःख झेलिरहनु पर्ने परिस्थितिको सृजना नहोला भन्न सकिन्न । अतः मुलुकमा राजनीतिक परिवर्तन भइसक्यो । नेकाले २००७ सालदेखि उठाएको अन्य दले पनि पछि उठाएका त्यसैका लागि अनेकन संघर्ष र बलिदान पनि भएका छन् । जनता प्रतिनिधिले आफूले छानेका प्रतिनिधिमार्फत आफ्नो संविधान आफै लेख्न पाउने अधिकार प्राप्त गरेर संविधान सभाबाट लोकतान्त्रिक संविधान नेपाली जनताले प्राप्त गरिसकेका छन् । देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको छ । अब सबै दलले नेपाल र नेपाली जनतालाई शिरमा राखेर सकारात्मक सोचका साथ देशलाई विकासको गतिमा बढानुपर्छ । आजको दिनमा यसो गर्नका लागि फेरि पनि सबै दल एक ठाउँमा उभिनै पर्छ ।
राजनीतिक स्थायित्व र दीगो विकासका लागि के गर्नुपर्छ ?
– पहिलो राजनीतिक स्थायित्व गर्नका लागि संविधान कार्यान्वयन नै पहिलो पाटो हो । यसको सफल कार्यान्वयनका लागि सबै दल एक ठाउँमा आफ्ना स्वार्थहरुलाई अलि पर सारेर देश र जनतालाई शिरमा राख्दै उभिनै पर्छ । यसो गर्न सकियो भने देशलाई शान्ति सम्बृद्धिको स्थितिमा पु¥याउन सहज हुन्छ । हामीले सबै खाले कार्यलाई राजनीतिका आँखाले मात्र हेर्नु हुँदैन । विकास निर्माणदेखि सबै ठाउँमा राजनीतिक चश्मा प्रयोग नगरी सकारात्मक दृष्टिकोणसहित समाज परिवर्तन गर्दै विकासमा लागे दीगो विकास सम्भव छ ।
दलका नेता र राजनीतिक दल कस्तो हुनुपर्छ ?
– अबको युगमा राजनीतिमार्फत समाजसेवा गर्नका लागि पारदर्शी, देश र जनतालाई केन्द्रविन्दुमा राखेर निर्णय गर्न सक्ने, क्षणिक स्वार्थलाई मात्र होइन, दीर्घकालीन सोच राखेर अगाडिको सयौं बर्षको भविष्यलाई देख्न सक्ने विश्वेश्वरप्रसाद कोइराला जस्तो दुरदर्शी नेताको आजका दिनमा आवश्यकता छ ।
कान्छो क्षेत्रीय सभापति भएर नेतृत्व गरिरह“दा कस्तो महशुस भइरहेको छ ?
– मलाई कान्छो सभापति भन्दै गर्दा मेरा लागि यो त शौभाग्य नै हो । विद्यार्थी जीवनमा २०५३ सालदेखि नेविसंघ सदस्य भएर पार्टीको विभिन्न पदीय जिम्मेवारी सम्हाल्दै आउँदा राजनीतिमा मैले लगाएको समय पनि दुई दशक आसपास पुगेको लाग्छ । त्यसैले उमेरका कारण म कान्छो हौंला तर अनुभव र पदीय जिम्मेवारी वहनका हिसाबले म अरुभन्दा कम छैन । मेरा कार्यहरुप्रति पार्टीका अग्रज महानुभावहरुदेखि सबै साथीभाइहरुसम्मले जुन विश्वास गर्नुभयो, त्यही विश्वासका आधारमा मैले काम गर्ने मौका पाएको छु । यसले मेरो जिम्मेवारी बढेको नै छ, सँगसँगै त्योभन्दा ठूलो कुरा नेपाली कांग्रेसमा युवाहरुको भूमिका प्रायः कम हुन्छ । पार्टीमा पहिलो, दोस्रो पुस्ता नै हावी भइरहन्छ भन्ने तीतो यथार्थलाई यसपटकको महाधिवेशनले पार्टीमा हामी जस्ता युवाहरुको उपस्थितिले गलत सावित समेत गरेको छ । कांग्रेसमा युवाहरुले अधिकांश ठाउँमा यसपटक जिम्मेवारी पाएका छन् । झापामै क्षेत्रीय सभापतिहरु, गाउँ नगरका सभापतिहरु, जिल्ला समिति र केन्द्रीय समिति मै पनि युवाहरुको उपस्थिति, योग्यता र क्षमताले भ्याएसम्म बाक्लो छ । त्यसकारण पनि कांग्रेस पार्टीभित्र बसेर काम गर्नका लागि युवाहरुलाई सहज छ । सबै साथीहरुको सक्रियतापूर्वक सहयोग छ ।
क्षेत्रीय समितिका आगामी योजना के–के छन् ?
– हामीले पहिले त आफ्नो पार्टी संगठनलाई सुदृढ र संगठित गर्दै गाउँ र बडा तहसम्म संगठनलाई चलायमान बनाउने, भातृ संगठनहरुलाई क्रियाशील बनाउने, गाउँघरका साना ठूला समस्याहरुमा सक्रियतापूर्वक उभिने, बिर्तामोड नगर जो यस क्षेत्रमा पर्छ, यसलाई व्यवस्थित बनाउन, सफा र सुन्दर बनाउन सम्बन्धित निकायलाई झक्झक्याउने यस क्षेत्रका जनतालाई त्यसतर्फ लाग्नका लागि प्रेरित गर्ने क्षेत्रीय समितिको योजना रहेको छ । त्यस्तै यहाँ रहेका सिमसार क्षेत्रहरु, पोखरी तथा तालतलैयाहरु जस्ता ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पहल गर्नुपर्ने, कृषि सडकहरु, बाटाघाटा, पुलपुलेसा जो यस क्षेत्रमा धेरै समयकालदेखि जीर्ण छन् । त्यसलाई पुनर्निर्माण र मर्मत सम्भार गर्ने क्षेत्रीय समितिको योजना रहेको छ । यस क्षेत्रमा कांग्रेसकोतर्फबाट सांसद सुधिर शिवाकोटीले विजयी गरे पश्चात जुन उत्साह र उमंगका साथ विकासलाई गति दिएको छ त्यसलाई निरन्तरता दिने, यस क्षेत्रमा भसिक्ये १ नं. प्रदेशकै मेडिकल कलेज बनाउन प्रयत्न गर्ने, यस क्षेत्रमा विकासका गतिलाई अझ तीब्रता दिने, जनस्तरसम्म पुगेर जनताको मन जित्दै जनताको भरोसा गर्न लायक एक मात्र पार्टी बनाउन प्रयत्न गर्ने नै हाम्रो लक्ष्य र योजना हो ।
पारिवारिक वातावरण कतिको राजनीतिका लागि सहज छ ?
– म एउटा निम्न वर्गीय किसानको छोरा हुँ । मलाई एउटा किसानले प्रयोग गर्ने हलो, जुवा, कोदालो, डोको, नाम्लोसँग आज पनि प्रेम छ । म भाग्यमा भन्दा कर्ममा विश्वास गर्छु । म अहिले पनि गाउँमा कृषिकार्यमा रमाउँछु । मलाई राजनीतिमा अगाडि बढाउने कुरामा अहिले पनि मेरा बुबा मार्गनिर्देशकको रुपमा रहनुहुन्छ । म संयुक्त परिवारमा रमाउन चाहन्छु । मेरो घरायसी वातावरण पनि सोही बमोजिमको छ । मेरी आमा, श्रीमती शर्मिला सेलवाल बिमली, भाइ कपिल, बुहारी प्रमिला, छोरी पूर्णिमा, छोरा प्रसादबाबु, भतिज सपनबाबु लगायत दिदीबहिनी सबै मैले राजनीतिकमार्फत समाजसेवा गरेको उपलब्धिका हिस्सेदारहरु हुन् । मलाई यो माया यो छहारी नै जीवनकालसम्म राजनीतिमा रहिरहने प्रेरणा स्रोत पनि हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर