Aamsanchar

जामुनखाडीमा भारतबाटसमेत आउँछन् पर्यटक, करोड कमाइ

Author Image
मङ्गलवार, पौष १९, २०७३

jamun 2झापा  :

झापाको कनकाई नगरपालिका–१ मा रहेको जामुनखाडी सिमसार क्षेत्र पूर्वी क्षेत्रको आन्तरिक पर्यटनको मुख्य गन्तव्य बनेको छ। २०५२ सालमा स्थापना भएको ३४ हेक्टर क्षेत्रफलको जामुनबारी सामुदायिक वनअन्तर्गत ४ सय हेक्टर क्षेत्र ओगटेको यो सिमसारलाई पर्यटकीय गन्तव्य बनाउने सोच २०६५ सालमा ल्याइएको हो।

राजमार्गदेखि उत्तरमा रहेको यो जामुनबारी अहिले पूर्वकै आर्कषक पर्यटकीय गन्तव्य स्थल बनेको छ। लोपोन्मुख वन्यजन्तुहरू यहाँका प्रमुख आकर्षण हुन्।

jamun 02

१५ प्रजातिका वन्यजन्तुहरू संरक्षण गरेर राखिएको छ । ‘हामीले चिडियाखाना चलाएका होइनौं । असुरक्षित वन्यजन्तुको संरक्षण गरेका हौं’ वन उपभोक्ता समितिका अध्यक्ष पर्शुराम गिरी भन्छन्, ‘तर पर्यटकको आकर्षण वन्यजन्तुमा छ।’

यहाँ रहेका ४ वटा पोखरीमा सञ्चालित १५ वटा नाउमा पर्यटकले शयर गर्नसक्ने व्यवस्था मिलाइएको छ। पोखरीमा रहेको झोलुंगे पुलमा बसेर यहाँको दृश्यावलोकन गर्नुको छुट्टै आनन्द छ। बालबालिकाका लागि छुट्टै उद्यान समेत बनाइएको छ। शुरुमा वार्षिक ८ लाख रुपैयाँ आम्दानी गरेको यो सिमसारले अहिले एक करोड रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको छ।

jamun 3

गत अर्थिक वर्ष २०७२/७३ मा उपभोक्ता समितिले पर्यटकबाट एक करोड ४० लाख रुपैयाँ संकलन गरेको थियो। आगामी आर्थिक वर्षमा २ करोड ९५ लाख अम्दानी गर्ने लक्ष्य रहेको छ।  गत आर्थिक वर्षमा १ लाख ६६ हजार ९ सय ८५ पर्यटकले यो सिमसारको भ्रमण गरेका थिए। आउँदो वर्ष ३ लाख १० हजार पर्यटक आउने लक्ष्य रहेको अध्यक्ष गिरीले बताए। ४ जना कर्मचारी राखेर शुरु गरिएको यो पर्यटकीय स्थलमा अहिले १९ जनाले रोजगारी पाएका छन्।

jamun 4

यो वन उपभोक्ता समितिले विभिन्न क्षेत्रमा उकृष्ट बन्दै राष्ट्रिय स्तरको पुरस्कार समेत हात पारेकोे छ। सामुदायिक वन क्षेत्रमा योगदान पुर्‍याएको भन्दै गत वर्ष गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार दिइएको थियो। एक महिनाअघि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले समितिलाई प्राकृतिक संरक्षण पुरस्कार प्रदान गरेको थियो।

‘पर्यटकबाट संकलित रकम यहाँकै विकासका लागि खर्च गरेका छौं’, अध्यक्ष गिरी भन्छन्, ‘४० लाख खर्च गरेर गत वर्षमात्र थप एक पोखरी निर्माण गरेका छौं।’ पूर्वाञ्चलका १६ जिल्लाका साथै सीमावर्ती भारतको पश्चिम बंगाल, बिहार लगायतका ठाँउबाट पनि पर्यटक आउने गरेका छन्। अध्यक्ष गिरी नेपालमा नै पहिले आत्मनिर्भर भएर सञ्चालनमा आएको पर्यटकीय क्षेत्र भएको दाबी गर्छन्।

यहाँको आम्दानीले समितिआबद्ध आठ सय घरमा सोलार बत्ती जडान गएिको छ।  त्यसो त यस ठाउँमा बाहै महिना पर्यटकको घुइँचो लाग्छ। विशेषगरी पर्यटकहरू प्राकृतिक दृश्यावलोकनका लागि आउँछन्।

jamun 5

अहिले यहाँ वनभोजको सिजन चलेको छ। विद्यार्थीहरू चुरे पहाडको फेदीमा रहेको यहाँको भौगोलिक विविधता, वन्यजन्तुका बारेमा अध्ययन गर्न आउने गर्छन। झापाको दमकका हेमन्त न्यौपानेले यसलाई सम्भावना बोकेको क्षेत्रका रूपमा लिएका छन्। उनले भने,‘तीन वर्षपछि अहिले आउँदा धेरै परिवर्तन भएको देखेँ।’ सिमसार क्षेत्र नजिक रहेका व्यापारीहरूले सामानको मूल्य मनोमानी ढंगले असुलेकोचाँहि उनले गुनासो गरे। धरानबाट घुम्न आएका रमेश सेढाईंलाई यो सिमसार सोचे भन्दा धेरै राम्रो लाग्यो।

दमकबाट आएका बालकृष्ण श्रेष्ठले भने यो क्षेत्रमा सुधार गर्नुपर्ने कुरा धेरै देखे। भने, ‘वजभोज स्थल अलि अस्तव्यस्त देखियो। शौचालय र खानेपानीको पनि अभाव रहेछ।’ समितिका अध्यक्ष गिरी पर्यटकको सुझावलाई आत्मसात गर्दै सुधार गर्ने प्रतिबद्धता जनाउँछन्। [चिरञ्जीवी घिमिरे]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर