Aamsanchar

एस.एल. शर्मा अर्थात् राष्ट्रवादका नमुना:वाङमय र जडीबूटीका ज्ञाता

Author Image
बुधवार, पौष २०, २०७३

Narendra raj prasaiनरेन्द्रराज प्रसाई
•••

एस.एल. शर्मा बोलिका नरम, विचारका स्वच्छ अनि सिद्धान्तका लखपति थिए । उनको सिद्धान्त राष्ट्रवादमा आबद्ध थियो तर उनी वसुधैव कुटुम्बकमका हिमायती थिए । इमान र जवान उनको जीवनको मुख्य विशेषता थियो । तर उनी कसैसँग झुक्तैन थिए र अरुलाई आफूसँग पनि झुकाउने इच्छा राख्तैन थिए । उनी तराई मुलका थिए तर बाँचुन्जेल उनले प्रायः दौरासुरुवाल, कोट र टोपी नै लाए ।

sl sharma

शर्मा छ फूट दुई इन्च उचाईका थिए । उनी आफ्नो शारीरिक उचाईको विचार राख्थे, मान्छेको आदर पनि त्यस्तै गर्थे र सकेको सेवा पनि त्यतिकै गर्थे । उनको व्यक्तित्वलाई एकमुष्ट भन्नु पर्दा उनी सादा जीवन र उच्च विचारका कुवेर थिए । उनी उखान नहाली कुरा गर्दैन थिए । उनी बोल्दा विभिन्न तुक हालेर तर्कका साथ बोल्थे । त्यसैले खासगरेर पूर्वाञ्चलीय भगौलिक श्रृङ्खलामा उनी निक्कै प्रचलित थिए ।

शर्मा चिया र चुरोटमा नै बाँचे । उनी दिनको पचास कपसम्म चिया खान्थे र एक बट्टा चुरोट खाएपछि उनको दिन फ्याँकिन्थ्यो । पाहुनापासालाई पनि उनी चिया र विडीबाट सत्कार गर्थे ।

शर्मा गतिलो साहित्यकार थिए । उनी संस्कृतिको लेखाजोखा पनि राख्थे । त्यतिमात्र होइन संस्कृति विषयक उनी एउटा राम्रो ज्ञाता थिए ।

शर्मा राजनीतिज्ञ पनि थिए । उनी टङ्कप्रसाद आचार्यलाई आदर गर्थे र आचार्यले पनि उनलाई मान्थे । तर राजनीतिमा शर्मा असफल भए । किनभने उनी कुप्रेर धुपौरेलाई धुप हाल्दैन थिए तर सत्य बोल्थे । एक पटक उनले राजा वीरेन्द्रका प्रमुख सचिव रञ्जनराज खनाललाई भनेका थिए, ‘ओठेभक्तहरुका कारण राजसंस्थामा अनास्था वढ्ने काम भैरहेको छ ।’ त्यसपछि शर्मा राजदरबारको दृष्टिबाट भूइँमा खसे । त्यसबेला उनी नेपाल मजदूर सङ्गठनका केन्द्रीय उपसभापति थिए । त्यसबेला वर्गीय सङ्गठन भनेको पञ्चायतको मेरुदण्ड मानिन्थ्यो ।

शर्माको जन्म १९८३ सालको अक्षय तृतीयमा वीरगञ्जमा भएको थियो । उनका बुवा मेजर रामचन्द्र शर्मा पुरोहति र आमा रुक्मिणी उनी शिशु अवस्थामा हुँदै स्वर्गीय भए । त्यसैले शर्माको बाल्यजीवन कठाङ्ग्रिएर नै वितेको थियो ।

शर्माको बिहे १६ वर्षा उमेरमा १३ वर्षीय पार्वतीदेवीसँग भयो । यी दम्पतिबाट तीन छोरा र पाँच छोरी जन्मे । उनका जेठा छोरा राजेन्द्र शलभ पनि साहित्यकार र सञ्चारकर्मी भए । यस विधामा शलभ समकालीन पुस्ताको नेतृत्वपङ्तीमा नै पनि उभिए ।

२००७ सालपछि शर्माले झापाको भद्रपुरमा एउटा किराना पसल खोले । त्यस पसलको नाउँ “शर्मा मोहिनी स्टोर” थियो । त्यस पसलबाट परिवार धान्न नसकेपछि उनले “साथी बिंडी फ्याक्ट्री” पनि खोले । केही वर्ष चलेर त्यो पनि बन्द भयो । अनि उनले आफ्नै घरमा “शर्मा प्रिन्टिङ प्रेस”को सञ्चालन गरे ।

मेची नदीको किनारमा नै टाँस्सिएको भद्रपुर बजारमा शर्माले घर बनाए । शर्मा निवास भनेपछि त्यो घर प्रख्यात थियो । त्यही घरमा साहित्यकार, पत्रकार र राजनीतिज्ञको भीड लाग्थ्यो । वास्तवमा त्यही भद्रपुर बजार बसाउन पनि शर्माको समेत भूमिका गाँसिएको थियो ।

शर्माको राजनीतिका जीवन २००३ सालमा कोलकाता, भवानीपुरको कलेजको सम्मेलनबाट शुरु भयो । त्यसपछि अर्थात् २००६ सालमा आफ्नो घर गएताका राणा सरकारले उनलाई सर्वस्व हरणसहित ज्यूँदै समाउने आदेश दिएपछि उनी आफ्नो नाउँ बदलेर झापा पसे ।

राणाको विरोधमा लाग्नेक्रममा शर्माको झापा आन्दोलनका कमाण्डर भैरवप्रसाद आचार्यसँग भेट भयो । त्यही परिवेशमा झापा कब्जा गर्ने काममा उनको पनि अतुलनीय भूमिका जोडियो । अनि २००७ साल माघ १४ गते स्थापित नेपाल प्रजातान्त्रिक सामयिक सरकारका प्रमुख तथा फौजी गभर्नर भैरवप्रसाद आचार्यको सरकारमा शर्मा व्यवस्थापक थिए । त्यसबेला उनका अर्का सहयोगी दान खालिङ पनि थिए ।

शर्माको पहुँच पञ्चायत व्यवस्थाको जरामा थियो र उनको त्यो जरा झापामा नै केन्द्रित थियो । उनी झापाका कुनै स्कुलका सचिव, कुनै स्कुलका अध्यक्ष र क्याम्पस, अस्पताल र पुस्तकालयमा सक्रिय भैरहे । वडा सदस्यदेखि प्रधानपञ्चहुँदै जिल्ला पञ्चायत सदस्यसम्म कार्यरत शर्मा काम गरेर थाक्तैन थिए । उनी राजनैतिक सङ्गठनमा सक्रिय भैरहेका बखत २०२५ सालमा मेची अञ्चलाधीशको सिफारिसमा प्रधानमन्त्री सूर्यबहादुर थापाद्वारा उनको नागरिकता हरण गरियो । त्यसपछि उनलाई एक वर्ष काठमाडौंमा नजरबन्द गरियो । यो कुरा राजा महेन्द्रका कानमा जस्ताकोतस्तै पुग्यो । अनि कीर्तिनिधि विष्ट प्रधानमन्त्री हुनेवित्तिकै उनलाई काठमाडौंबाट ससम्मान भद्रपुर पठाउने व्यवस्था गरियो र उनको गुमेको नागरिकताको प्रमाणपत्र पनि इज्जवतका साथ फिर्ता गरियो ।

शर्माको राजनीतिक जीवनमा धेरै उतार चढाउ आए । तर उनी विचलित नभई देशभक्ति अभियानमा लागिरहे । २०४६ साले बहुदलीय प्रणली भित्रिएपछि उनी कम्युनिष्टको सिद्धान्तमा एकोहोरिए । जस अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी (वर्मा) समूहमा आबद्ध भए । त्यहाँ बसेर फेरि उनले दुईतीन वर्ष मुलुकको राजनैतिक अवस्था हेरे । त्यस घडी उनले चारैतिर अराजकता नै अराजकता देखे । नेताहरुले आफ्नो डम्फू बजाएको उनलाई ठ्याम्मै मन परेन । त्यसैले झापामा उनले एउटा घोषणा गरे ‘अब म कुनै पनि राजनीतिक दलमा सामेल रहने छैन । म स्वतन्त्र जीवन विताउने छु ।’ त्योभन्दाअघिदेखि नै उनी ‘राजनीति भनेको गनाउने नाली हो’ चाहिं भन्थे ।

शर्माको लेखन बनारसी यात्रादेखि नै आरम्भ भएको थियो । तर उनको पहिलो पुस्तक २०१० सालमा प्रकाशित भएको थियो । उनले हिन्दी र नेपाली गरेर सातवटा पुस्तक प्रकाशित गरे भने यिनका विविध विषयमा आधारित पाँचसय जति फुटकर लेख रचना प्रकाशनमा आए । उनले तीन दर्जन जति पत्रपत्रिकामा आफ्ना लेखरचना प्रकाशित गरे । खास गरेर झापाको जनजाति सतार, बातर, धिमाल, मेचे र राजवंशीहरुको परिचय गराउने गुरुत्तर भूमिका शर्माको नै थियो । उनैले ती जातिको जीवनस्तर उकास्न पनि आफ्नो बुता लगाएका थिए । साथै नेपालका पचहत्तरै जिल्लाको सांस्कृतिक कुरा शर्मा प्रायः फररर भन्न सक्थे ।

शर्माले २००४ सालमै पत्रकारिता शुरु गरेका थिए । बनारसको विद्यार्थी जीवनकालमा उनलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले काखी चेपे । त्यसैले शर्मा युगवाणीमा घुसे । त्यही सीप ल्याएर उनले झापामा पत्रकारिताको बिउ रोपे । उनैले डिल्लीराम निर्भीकदेखि नकुलकाजीसम्मलाई पत्रकारितामा प्रवेश गराउने बाटो बनाए । अन्ततः झापामा वैज्ञानिक पत्रकारिताको जग उनैबाट सुरु भयो । त्यति बेला शर्माकै चिठी बोकेर स्थानीय पत्रकारहरु भारतमा पुगेर त्यसबारे थप ज्ञान लिन्थे । त्यतिबेला भारतको पटनाबाट प्रकाशित हुने ‘नेपाल सन्देश’ शर्माकै भावनात्मक छानो थियो । शर्माकै कारण पटनाको नेपाल सन्देश र बनारसबाट प्रकाशित हुने ‘दैनिक आज’ले नेपालका पूर्वाञ्चलीय पत्रकारहरुलाई तालीम पनि दिने गर्थ्यो ।

शर्मा आयुर्वेदका चिकित्सक पनि थिए । त्यसबेला पूर्वाञ्चलमा उनको उपचार प्रणालीले मान्छेहरुलाई शुभलाभ हुन्थ्यो । उनले घरमै जडीबूटी रोप्थे र जनतालाई निश्शुल्कै औषधि गरिदिन्थे ।

शर्माले राजदरबारदेखि सिंहदरबारसम्मका एउटै सम्मान र पदक पाएनन् । तर जनस्तरबाट उनले नेपाल प्रजातन्त्र सेनानी लगायतका साहित्य, सांस्कृतिक, विकास र राजनीति गरेर डेर्ड दर्जन पुरस्कार, सम्मान र अभिनन्दन पाए ।

एसएल शर्मा नेपाली परिवेशको चिन्तनमा समर्पित भैरहेका बेला २०६० साल साउन ६ गते झापामा स्वर्गीय भए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)