Aamsanchar

पिकनिकमा सरकारी गाडी, कार्वाही होला सीडीओसाब ?

Author Image
आइतवार, पौष २४, २०७३

sarkari-gadiधनुषकोटीधाम(कनकाई) । जाडो मौसम पिकनिकको सिजन । पर्यटन प्रबद्र्धन र मनोरञ्जनका लागि पिकनिक राम्रो माध्यम बन्दै आएको छ । धेरै राम्रा पक्ष हुँदाहुँदै पनि पिकनिकमा सरकारी सम्पत्तिको दुरुपयोग बढ्दै गएको छ ।
तस्वीरमा भएका तीन वटा गाडी सरकारी हुन् । सुरुङ्गाको धनुषकोटी धाममा नापी कार्यालय झापाले शनिवार गरेको पिकनिक खान सरकारी अधिकृत सवार गाडी हुन् ती । जनताले तिरेको करबाट तलब भत्ता खाने कर्मचारीले जनताको करबाटै पालिएको गाडी बिदाको दिन पनि यसरी दुरुपयोग गर्नुले सुशासनको खिल्ली उडाएको छ । सरकारी सम्पत्तिको दुरुपयोग रोक्न स्थानीय प्रशासनले कदम चाल्नुपर्ने नागरिकको आवाज छ । पिकनिक स्थलमा भेटिएको सरकारी नम्बर प्लेटको बा१झ ४०९४, बा२झ १७०८ र बा२झ २५८८ नम्बरका गाडी कुन कार्यालयका हुन् ? तीन मध्येको एउटा गाडीमा बिर्तामोडबाट पिकनिकका लागि रक्सी लोड गरेर लगिएको थियो । बिदाको दिन रक्सी पिएर मनोरञ्जन लिनु त नागरिक स्वतन्त्रता होला र सामान्य नै होला पनि तर सरकारी सम्पत्तिको दुरुपयोग हुँदा झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) के गर्दैछन् ? के अब यसको छानविन र कारवाहीका साथै यस्तो विकृति रोक्न झापाका सीडीओले कदम चाल्लान् ? जनता जान्न चाहन्छन् ।
प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले पिकनिकका लागि सरकारी गाडी लानु दुरुपयोग भएको बताए । पूर्वाञ्चलकर्मीको टेलिफोन सम्पर्कमा सीडीओ खत्रीले त्यस्तो पाइए स्पष्टीकरण सोधिने बताए ।
उक्त पिकनिक जिल्ला नापी कार्यालय भद्रपुर, सीमा सर्वे कार्यालय र नापी कार्यालय दमकको संयुक्त भएको नापी कार्यालय झापाका प्रमुख डिल्लीराज भण्डारीले बताए । दिनहुँ सरकारी गाडी वनभोज, बिहे जस्ता निजी काम तथा मनोरञ्जनका लागि दुरुपयोग हुँदै आएको पाइए पनि प्रशासनले अहिलेसम्म सरकारी गाडी दुरुपयोग गर्नेलाई कुनै सजाय गरेको पाइएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर