Aamsanchar

कुवेतमा ज्यान गुमाएकाको परिवारलाई एक करोड क्षतिपूर्ति

Author Image
शुक्रवार, माघ ७, २०७३

खोटाङ।

कुवेतमा ज्यान गुमाएका मात्तिम–७ का चन्द्रबोल राईको परिवारलाई करिब रु एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई रु ९८ लाख दश हजार २२० क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो । राईले काम गर्ने कम्पनीबाट जिल्ला प्रशासन कार्यालयमा आएको रकम मृतककी आमा सुभद्रालाई उपलब्ध गराइएको प्रजिअ चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

मृतकका परिवारले पाएको उक्त रकम जिल्लामा अहिलेसम्मकै सबैभन्दा धेरै रहेको जिप्रकाले जनाएको छ । कुवेतमा दुई वर्ष बसेर घर फर्केपछि पुनः कुवेत पुगेका चन्द्रबोलको तीन महिनापछि विसं २०७१ साउन १३ गते गाडी दुर्घटनामा मृत्यु भएको उनका भाइ सन्तोषले बताउनुभयो ।

छुट्टीमा घर आएका समयमा विवाह गरेर कुवेत गएका राईको तीन महिनापछि नै मृत्यु भएपछि उनकी श्रीमती दोस्रो विवाह गरेर अन्यत्र गएकी छन् । श्रीमान्को मृत्यु भएपछि कम्पनीले दिने क्षतिपूर्तिबापतको रकमका लागि कागजी प्रक्रिया मिलाइदिएर उनी अर्कैसँग विवाह गरेर गएको स्थानीयवासीले बताएका छन् ।

राईकी श्रीमती अर्कैसँग विवाह गरेर गएपछि हकवालाका रुपमा उनकी आमा सुभद्रालाई चेकमार्फत क्षतिपूर्ति रकम उपलब्ध गराइएको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर