Aamsanchar

हामी सजाय भोग्न तयार छौँ : दीपक-दीपा

Author Image
आइतवार, माघ ९, २०७३

काठमाडौं,

आफैंमाथि छानबिन हुनुपर्ने माग गर्दै कलाकार दीपकराज गिरी र दीपाश्री निरौलासहित फिल्म ‘छक्का पञ्जा’ निर्माण समूहले गौशालाको महानगरीय प्रहरी वृत्तमा शनिबार निवेदन दर्ता गराएको छ। नवलपरासी स्थायी घर भई काठमाडौं सिनामंगलमा बस्दै आएका कृष्ण सुवेदीले ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न भएको आरोपमा प्रहरीबाट सफाइ पाइसकेपछि पनि गत पुस २८ गते ‘रहस्यमय सुसाइड नोट’ लेख्दै आत्महत्या गरे। त्यसपछि दीपक–दीपालाई आत्महत्यामा जिम्मेवार रहेको आरोप लगाउँदै सामाजिक सञ्जालदेखि कतिपय मिडियाले समाचार लेखे भने कारबाहीको माग गर्दै विद्यार्थी संगठनले समेत प्रदर्शन गरे।

सुवेदीले आत्महत्या गरेका बेला दीपक–दीपा भने सोही फिल्मको प्रदर्शनका लागि युरोप पुगेका थिए। बिहीबार स्वदेश फर्किएका उनीहरुले शनिबार आत्महत्याप्रति गहिरो शोक प्रकट गर्दै सत्यतथ्य छानबिनका लागि उजुरी दिएका हुन्।

शनिबार उजुरी दर्ता गराइरहँदा दीपकले पाइरेसीको समग्र प्रकरण र  सुवेदीको आत्महत्या सम्बन्धमा आफ्नो भनाइ राखे।

छानबिन गरिपाऊँ : दीपक

फिल्मले सय दिन मनाएपछि हामीले फिल्म उत्रन्छ भन्ने सोचेका थियौँ।  तर, फिल्म प्रदर्शनको सय दिन नाघ्दा पनि केही हलमा चलिरहेकै थियो। हलमा दर्शकको चाप यथावत देखेपछि फिल्मले एक सय ५० दिन मनाउने भो, यो पनि रेकर्ड नै हुनेभो भन्ने सोचिरहेका थियौँ। तर, फिल्म चलेको एक सय २१औं दिनमा बिहानै अमेरिकाबाट एक शुभचिन्तकको फोन आयो। उहाँले ‘छक्का पञ्जा’ त अनलाइनमा आइसक्यो। तपाईंलाई थाहा छ कि छैन’ भनेर सोध्नुभो। मैले, ‘होइन होला, वडा नम्बर ६ लाई केहीले छक्का पञ्जा भनेर राखेका छन्। तपाईंले त्यही हेर्नुभो होला’ भन्ने जवाफ दिएँ । तर उहाँले छक्का पञ्जा नै हो भनेर दाबी गरेपछि मैले शुभचिन्तकलाई बिदा गरेर हाइलाइट्स नेपालका ओम गुरुङलाई फोन गरेर जानकारी गराएँ। उहाँले म बुझ्छु भनेर भन्नुभो।

केहीबेरमै पाइरेसी भएको फिल्म हामीले हात पार्‍यौँ। कृष्ण सुवेदीले गुगल ड्राइभमा फिल्म सेयर गरेका थिए। हामीले प्रमाणसहित अपराध अनुसन्धान शाखामा कृष्ण सुवेदीको नाममा उजुरी हाल्यौँ। प्रहरीले भोलिपल्ट नै उनलाई समात्यो। प्रहरीसँगको केरकारमा उनले आफूले अन्जानमा फिल्म गुगल ड्राइभमा हालेको बताएका थिए। हामीले कृष्ण सुवेदीको गुगलको पासवर्ड लिएर हेर्दा उनले दुई जनालाई फाइल सेयर गरेको र एक सय २४ जनाले फिल्म हेरेको देखिएको थियो। प्रहरीले ‘फिल्म कसरी हात पर्‍यो’ भनेर सोध्दा उनले आफूलाई साथीले दिएको बताए। प्रहरीले कृष्णको अर्को साथीलाई समायो। उनलाई पनि प्रहरीले सोही प्रश्न दोहोर्‍यायो। उनले फेरि अर्को साथीको नाम लिए। प्रहरीले उनलाई पनि समायो। त्यो साथीलाई पनि प्रहरीले फिल्म कसरी पायौ भनेपछि उसले सजल भट्टराईको नाम लियो, जो सोही फिल्मका कलाकार आरपी भट्टराईका छोरा थिए।

सजलले आफूसँगै घरमा बस्ने साथीलाई फिल्म हेर्न दिएका रहेछन्। फिल्म ‘लिक’ हुनमा आफ्नै टिम सदस्यका छोराको हात रहेको देखेपछि हामीले अपराध अनुसन्धान शाखामै चारैजनालाई राखेर आइन्दा यस्ता काममा नलाग्न सम्झायौँ। प्रहरीले के गर्ने भनेर सोधेका थिए। फिल्म व्यापारिक प्रयोजनका लागि प्रयोग नगरेको हुनाले छाडिदिउँ भन्यौँ। प्रहरीले चार–पाँच दिनसम्म दिनभर शाखामा राख्दै बेलुकी फर्काइ दिने गरेको मैले जानकारी पाएको थिएँ। आइतबार प्रहरीले चारै जनालाई  मुद्दामा सफाइ दिएको थियो।  भोलिपल्ट हामी युरोप हिँड्ने तयारीमा थियौं। सोमबार हामी युरोप प्रस्थान गर्‍यौं। फिल्म भाइरल नभएकोमा केही सन्तोष नै मानेका थियौं।

तर, शुक्रबार भान्जा (सुमन गिरी)ले कृष्ण भाइको आत्महत्याको खबर सुनाए। साह्रै नमज्जा लाग्यो।  आफ्नै फिल्मका कारण एक युवाको मृत्यु भएको खबर सुनेपछि युरोपमा कार्यक्रम गरिरहन मन लागेन। कार्यक्रम छोट्याएर नेपाल फर्कने कुरा फेसबुकमै राख्यौं। तर, त्यसपछि आएका समाचारले दुःखी बनायो। केही अनलाइनमा दीपक–दीपाको दबाबका कारण युवकले आत्महत्या गरेको हेडलाइनसहित समाचार आए। सामाजिक सञ्जालमा पनि हामीलाई तथानाम गाली गर्दै स्टाटस पोस्ट हुन थाले। नखाएको विषको पीडा पलपल खप्दै बसिरह्यौं।

हामीलाई समाचार लेखेकोमा कुनै गुनासो छैन। तर, समाचारमा लगातार हामीलाई ‘भिलेन’को रुपमा प्रस्तुत गरियो। समाचारमा दुईतर्फी धारणा आएन। गुनासो यसमा हो। अनि घटनालाई राजनीतिक रङ दिन खोजेकामा पनि हामीलाई अनौठो लागेको छ। केही सञ्चारमाध्यममा नवलपरासीमा हामीलाई बन्देज लगाउने र हाम्रा सामाग्री प्रसारणमा रोक लगाउने खबरसम्म सुनिए। हामी कलाकार, साना साना घटनामा त आँसु आउँछन् भने यहाँ त एउटा होनाहार युवकको ज्यान गएको छ। हामी बाँचेर पनि मरिरहेको अनभूति गरिरहेका छौं।

यस्तोमा हामीले सत्यतथ्य छानबिन होस्। हामीले धम्क्याएका रहेछौं भने पनि प्रहरीले प्रमाण पुर्‍याओस्। हामीमाथि पनि प्रहरीले छानबिन गरोस् भनेर निवेदन दिएका छौं। पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ। अझै चार–पाँच दिन लाग्छ भनेको छ। पोस्टमार्टम रिपोर्ट आएपछि हामी दोषी देखियौं भने हामी सजाय भोग्न तयार छौं। तर, तथ्य पूरा बाहिर नआई कसैको पनि प्रतिष्ठामा प्रहार गर्नु राम्रो होइन। नागरिक दैनिकबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर