Aamsanchar

‘बीएण्डसीलाई केही दिनमै मेडिकल कलेजको मान्यता’

Author Image
बुधवार, माघ १२, २०७३

बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई:

झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलले मेडिकल कलेजको केहीदिनमा नै मान्यता प्राप्त गर्नेभएको छ । मेची अञ्चलमा पहिलोपटक मेडिकल कलेज स्थापनाको महत्वकांक्षी योजनाकासाथ झापामा सेवा शुरु भएको हस्पिटलले लामो संर्घषपछि मेडिकल कलेजको मान्यता पाउन लागेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । काठमाडौं विश्वविद्यालयबाट बीएण्डसी हस्पिटले मेडिकल कलेजको सम्बन्धन पाउन लागेको बुझिएको छ ।
निजी क्षेत्रको लगानीमा बिर्तामोडमा बीएण्डसी हस्पिटल र धाइजनमा बीएण्डसी मेडिकल कलेजको स्थापना भएको छ । डा. गोविन्द केसीले मेडिकल कलेजलाई सम्बन्धन नदिन माग गर्दै अनसन बसे । सरकारसँग १२ बँुदे सहमति भयो । तर, राजधानी बाहिर उनको माग र सहमति लागू नहुने कार्यकारी निर्देशक प्रसाईले बताए । जायज माग राखेर मेचीमा मेडिकल कलेजको लागि लामो संघर्ष गर्दा अवरोध गर्न खोजिएपछि सरकारलाई विपक्षी बनाएर प्रसाईले सर्वोच्च अदालतामा रिट दायर गरेका थिए ।

अदालतले पनि बीएण्डसीको सम्बन्धनमा बाटो खोलिदिएको छ । सर्वोच्च अदालतले माघ २ गते न्यायाधीश अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको आदेशमा भनिएको छ– निवेदकलाई कानूनी वा संवैधानिक हक प्राप्त हुने हो होइन भन्ने विषय यस निवेदनको अन्तिम किनारा हँुदाको अवस्थामा बोलिने विषय रहेको र अधिकार प्राप्त निकायहरुबाट सम्बन्धन र मान्यता दिने वा नदिने विषय हाल निर्णय प्रक्रियामा नै रहेको अवस्था हँुदा अग्रिमरुपमा अदालतले तत्कालै हस्तक्षेप गर्न नमिल्ने देखिएको छ ।
सर्वोच्च अदालतले सरकारलाई बीएण्डसी हस्पिटललाई सम्बन्धन नदिनुको कारण पेश गर्न भनेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले अदालतलाई दिएको जवाफमा भनिएको छ– चिकित्सा शिक्षालाई ब्यवस्थित गरी सर्वसाधारण जनताको पहुँच पु¥याउने सम्बन्धमा आवश्यक कानूनी प्रबन्ध गर्नका लागि सो सहमतिले मार्गदर्शनसम्म गरेको यसबाट प्रचलित कानूनको ब्यवस्थामा प्रतिकूल असर पु¥याएको अवस्था छैन । प्रधानमन्त्री दाहालको जवाफले गोविन्द केसीसँगको सम्झौताले असर नगर्ने स्पष्ट पारेका छन् ।
बीएण्डसी हस्पिटललाई मेडिकल कलेजको मान्यता दिन काठमाडौं विश्वविद्यालय तयार भएको र प्रक्रिया पनि शुरु भएको कार्यकारी निर्देशक प्रसाईले बताए । काठमाडौं विश्वविद्यालयमा कूलपति नियुक्ति भएपछि अब कामले तिब्रता भएको उनको भनाई छ । प्रसाईले मेडिकल कलेजको सम्बन्धनको प्राप्त गरेपछि मेची अञ्चलबासीको सपना साकार हुने बताए । बीएण्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिलाउन कै लागि स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज पनि आन्दोलित भएको थियो । समाजका उपाध्यक्ष चैतन्यप्रकाश मैनाली आमरण अनसनमै बसेका थिए । सबै पार्टीको प्रतिबद्धतापछि उनले अनशन तोडेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरी बताउँछन् ।
करिब पाँच अर्ब रुपैयाँको लगानीमा बिर्तामोडमा एक विगाह क्षेत्रफलमा छ सय शैय्याको हस्पिटल र धाइजनमा १६ विगाह १० कठ्ठा क्षेत्रफलमा मेडिकल कलेजको संरचना निर्माण भएको छ । ‘अरबौं रकम खर्चेको छु, बैंकले विश्वास गरेर लगानी गरेका छन्, त्यो जनताको पैसा हो । त्यहाँ मेरो स्वार्थ नभई मेचीबासीको हित जोडिएको छ’– उनले भने । सासु–ससुरा स्व.भगवान गिरी र चन्द्रमाया गिरीको नाममा मेडिकल कलेज निर्माण गरेको कार्यकारी निर्देशक प्रसाइले बताए । बीएण्डसी पूर्वाञ्चलमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानपछिको ठूलो मेडिकल कलेज हुनेछ । बीएण्डसी हस्पिटल दुई वर्षदेखि पूर्वका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिंदै आएको छ । यो मेडिकल कलेज सञ्चालनमा आएपछि मेडिकल शिक्षा अध्ययनका लागि विदेश जानु नपर्ने, सयौंले रोजगारी पाउने, वर्षेनी अर्बौ रुपैयाँ विदेशिनबाट रोकिने बताइन्छ ।
प्रसाईको सपना बीएण्डसी हस्पिटललाई मेडिकल कलेज मात्र नभई विश्वविद्यालयको रुपमा विकास गर्नेछ । ‘यदि विश्वविद्यालय बनाउन सके भने ५० हजारभन्दा बढीले रोजगारी पाउँछन् । यो राज्यका निम्ति नै राम्रो काम हो । मलाई राज्यले कुनै पनि स्थान दिएमा म जिम्मेवारपूर्वक हरेक काम सम्पन्न गर्छु । औपचारिक ज्ञानमात्र होइन आफ्नो जीवन सर्घषले सिकाएको ज्ञान सबैभन्दा ठूलो ज्ञान हो । म त्यसको उपयोग गर्छु’ – प्रसाईले भने ।

बीएण्डसीमा प्रचण्डको लगानी छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनी भन्छन्– ‘यो हस्पिटलमा प्रचण्ड मात्र होइन कुनै पनि माओवादी नेताहरुको लगानी छैन । तर, के हो भने बीएण्डसी हस्पिटलमा पुष्पकमल दाहाल प्रचण्डले साथ र सहयोग गरेका छन् यो मैले भुल्न हँुदैन । म प्रचण्डलाई आर्दश पुरुषको रुपमा लिन चाहन्छु ।’
झापाको शनिश्चरेमा जन्मिएका दुर्गा प्रसाईले कक्षा आठसम्मको मात्र औपचारिक अध्ययन गरे । सानैदेखि हक्की स्वभावका प्रसाईले बाल्यकाललाई सम्झँदै भनें– ‘सानोमा भैंसी चराउने गर्थें । गरीब थिएँ सबैले हेलाको दृष्टीकोणले हेर्ने गर्थे । तर, आज तिनीहरुकै अगाडि यत्रो हस्पिटल खोलेको छु । यो गर्वको कुरा हो । म सपना देख्नेमात्र मान्छे होइन सपनादेखेपछि पूरा गर्ने मान्छे हुँ । हिजो मेडिकल खोल्छुभन्दा दुर्गे बहुलायो भन्नेहरुको आज बोलि बन्द भएको छ । किताबी ज्ञानले मात्र केही नहुने भन्दै उनले परिश्रम र मेहनतले आफूलाई यो ठाउँमा पु¥याएको बताए ।’ उनले थपे– ‘हिजोका दिनहरुमा म भैंसी चराउने र दूध बेच्ने काम गर्थें कोकीस र चिया खाएर काम गरेको याद अहिले पनि झल्झली आउने गरेको छ । मलाई मन नपराउनेहरुले खेदो गरेकाले नै मैले प्रगति गर्ने मौका पाएँ म उनीहरुलाई धन्यवाद दिन चाहन्छु ।
माता कौशिला प्रसाई र पिता कृष्णप्रसाद प्रसाईको साइलो छोरा हुन् उनी । हिम्मत र मेहनत गर्न सकेमा सफलतामा पुग्न सकिन्छ भन्ने कुरा सत्य सावित भएको बताउँदै उनी भन्छन्– ‘मेहनतको फल पाए जस्तो लागेको छ । तर, समाजका केही ब्यक्तिलाई भने अचम्म लागेको छ होला । हिजोको भैंसी गोठालो आज हस्पिटल सञ्चालक हो भन्दा ।’
हस्पिटल ब्यवस्थित गर्न परिवारको महत्वपूर्ण सहयोग रहेको उनले बताए । अभिभावकको नाताले आफू रेखदेखकर्ता भएको बताउँदै प्रसाईले अस्पताललाई ब्यवस्थित ढंगले चलाउन अध्यक्ष इन्दिरा गिरी, डा.रामबाबु गिरी, श्रीमती उमा गिरी, छोरा प्रबन्ध निर्देशक डा. निराजन प्रसाई, छोरी आर्जु प्रसाई लगायत अहोरात्र खट्ने गरेको बताए । अस्पताल सञ्चालन गर्न चिकित्सक, कर्मचारी, सबै दल, पत्रकार, समाजका अगुवाहरुले पनि महत्वपूर्ण साथ दिएको बताउदै उनले भने– ‘यो कुरा मैले भुल्न हुन्न ।’
प्रस्तुति : नरेन्द्र ढकाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर