Aamsanchar

कर्मचारी सरुवा नियमित प्रक्रिया – प्राधिकरण

Author Image
बिहिवार, माघ १३, २०७३

काठमाडौँ ।

नेपाल विद्युत् प्राधिकरणले नियमानुसार नै कर्मचारीको सरुवा गरिएकाले इमान्दार कर्मचारीलाई कुनै पनि प्रकारको समस्या नहुने जनाएको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले आज साँझ एक विज्ञप्ति प्रकाशित गरी सबै कर्मचारी गैर जिम्मेवार नभएको र दोषी भेटिएका कर्मचारी मात्रै कारबाहीको भागिदार हुने भएकाले सरुवाबाट कोही कसैले पनि आत्तिन नहुने बताउनुभयो ।

प्राधिकरणको कर्मचारी सेवा सर्त विनियमावलीमा तोकिएको अवधि पूरा गरेका कर्मचारीको सरुवा हरेक वर्षको साउन र माघ महिनामा अधिकार प्राप्त अधिकारीद्वारा गर्न सकिने व्यवस्था भएकाले कर्मचारीको सरुवा स्वभाविक प्रक्रिया र मापदण्डअन्तर्गत गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

विज्ञप्तिमा भनिएको छ, “इमान्दारिताका साथ काम गर्ने कर्मचारीको मनोबल उच्च राख्दै संस्थाको गरिमा अभिवृद्धि गर्ने कार्यमा कर्मचारीको अधिकतम योगदान प्राप्त गर्न प्राधिकरण व्यवस्थापनले सदैव भेदभावरहित ढङ्गले दक्षता र क्षमताका आधारमा काम गर्ने वातावरण तयार गर्ने तथा भविष्यमा समेत समयसापेक्ष निर्णय गर्दै जानेछ ।”

कर्मचारीको सरुवा जस्तो नियमित प्रक्रियालाई लिएर कुनै पनि कर्मचारी त्रसित हुनुपर्ने अवस्था नरहेको हुँदा स्वभाविक र सामान्य रुपमा लिइदिन समेत प्राधिकरणले सबैमा आग्रह गरेको छ ।

विद्युत् चोरीमा संलग्न भएको भन्दै १६ कर्मचारी महानगरीय अपराध महाशाखाले नियन्त्रण लिएको थियो । दुई हजार ५०० कर्मचारीको सरुवा र विद्युत् चोरीमा संलग्नको पक्राउ सँगसँगै भएकाले सबै कर्मचारी विद्युत् चोर जस्तो भएको भन्दै केही कर्मचारीले आपत्ति जनाएपछि प्राधिकरणले आज एक विज्ञप्तिमार्फत सरुवा प्रक्रिया नियमित भएको जनाएको हो ।

यस्तै नेपाल विद्युत् प्राधिकरण नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (संयुक्त) का अध्यक्ष खगेन्द्र शाहीले पनि एक विज्ञप्ति प्रकाशित गरी इमान्दार कर्मचारी सरुवाको विषयलाई लिएर आतङ्कित नहुन आग्रह गर्नुभएको छ ।

उहाँले प्राधिकरणले आन्तरिक रुपमा गरेको सरुवालाई लिएर कोही कसैले पनि गलत ढङ्गले नलिन र त्यसलाई अन्यथा नठान्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर