Aamsanchar

नाकाबन्दी र भूकम्पपछि ‘लुट २’ को लागि कथा भेटाए: निश्चल बस्नेत

Author Image
बिहिवार, माघ २७, २०७३

 

निश्चल बस्नेत नेपाली चलचित्रमा चर्चित नाम हाे। उनको पुर्ख्यौलि घर विर्तामोडको झापा हाे। निश्चलले ‘लुट’ बाट युवा निर्देशकका रुपमा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । उनको पहिलो चलचित्रले उनलाई एक चर्चित युवा निर्देशकको रुपमा स्थापित गरिदियो । कम बोल्ने स्वभावका निश्चलले बनाएका चलचित्र युवा पुस्ताका मनमा बसेका छन्। चलचित्र निर्देशनसँगै उनले अभिनय पनि गरेका छन् । उनले निर्देशन गरेको ‘लुट’ को चार बर्षपछि सिक्वेल ‘लुट २’ फगुनमा रिलिज हुदैछ । निश्चल बस्नेतसँग करेन्टनेपालन्यूज डटकमका लागि बर्षा शाहले गरेको कुराकानी:

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

अहिलेको समय ‘लुट २’ कै कार्यक्रममा व्यस्त छु । रिलिजको समय नजिकिदैँछ। सँगै ‘२ रुपैयाँ’ को पनि काम भइरहेकोछ ।

चार बर्षपछि ‘लुट’ को सिक्वेल ‘लुट २’ आयोे । ‘लुट २’ आउँन यति लामो समय किन लाग्यो ?

हो चार बर्षपछि ‘लुट’ को सिक्वेल ‘लुट २’ यहि फागुन १३ मा हलहरुमा रिलिज हुदै छ । यति लामो समय लाग्नुमा कथा नभेटेर हो । नाकाबन्दी भूकम्पपछि मैले ‘लुट २’ को लागि कथा भेटाए । मैले जहिले पनि समाचारबाट नै कथा तान्ने गर्छु र यसपालि पनि समाचारबाट लिएर नै कथा बन्यो । अलिकति गाह्रो कहाँ हुन्छ भने समाचार भनेको साचो हुन्छ । र हामीले त्यो साचो घटनाहरुलाई चलचित्रमा हुबहू देखाउन अलि गाह्रो हुन्छ । ‘लुट २’ पनि साचो घटनाको कथा हो । ‘लुट’ पनि एउटा साचो घटनालाई नै मैले चलचित्रको कथा बनाएको थिए । जुन कुरा मैले कसैलाई भनेको थिएन ।

तपार्ई घमण्डी हुनुहुन्छ भन्छन् नि ?

मैले मेरै बारेमा त कसरी भनु ! मलाई त त्यस्तो लाग्दैन । होला मलाई राम्रोसँग नचिन्नेहरुलाई त्यस्तो लाग्छ होला । चिन्नेहरुले सायद भन्नु हुन्न होला । म कम बोल्छु त्यो भएर पनि होला ।

पहिलो चलचित्र ‘लुट’ ले नै तपाईलाई नाम, दाम सहित स्थापित गर्यो, के ‘लुट २’ ले तपाईले पाएको नाम, दामलाई त्यहि स्थानमा वा अझ माथि पुर्‍याउन सक्छ ?

म लगायत धेरै कलाकारलाई ‘लुट’ ले स्थापित गराएकै हो । नेपाली चलचित्रको दर्शक पनि बढाएकै हो । ‘लुट’ले गर्दा मबाट दर्शक लगायत धेरैलाई हाई लेबलको आशा छ । जुन कुरा मलाई थाहा छ । तर मैले यति मात्र भन्न सक्छु । आशा गरे जस्तो हुननसक्ला तर हेरेपछि झुर फिल्म रै छ, भनेर चाहि भन्नु हुन्न कि भन्ने आशा छ । ‘लुट’ बाट मैले पाएको नाम झार्दैन भन्ने मलाई लाग्छ ।

‘लुट २’ मा ‘लुट’ कै कलाकारहरुलाई दोहराउनु भएको छ नि ?

सिक्वेल भने पछि नै पहिला जहाँ कथा सकिन्छ त्यहिबाट जोडिने हो । र कथा पनि त्यहिबाट जोडिएको छ । त्यसैले कलाकार पनि उहि छन् ।

अविवाहित हुदाँ ‘लुट’ निर्देशन गर्नु भयो । ‘लुट २’को लागि कथा विवाहपछि भेटाउनु भयो । तपाईको जीवनमा स्वस्तिमा जी लक्की भएर आउनु भयो की ?

यस्तो लक्की भन्ने कुरा म थाहा पाउदिन् र मैले कहिले त्यस्ता कुरालाई मान्दिन पनि । मलाई जीवनमा इमान्दारी, मेहनत गरेपछि एक दिन सफल भइन्छ भन्ने लाग्छ । तर ऊ (स्वस्तिमा) मेरो जीवनमा आएपछि म खुशी छु । हामी बिच उमेरको फरक छ । मैले उसबाट पनि धेरै कुरा बुझने मौका पाउँछु । उसले आफ्नै उमेरको तरिकाको कुरा गर्छे । मैले अलि परिपक्क कुरा गर्छु । आफ्ना कुराहरु ऊ सँग सेयर गर्ने गर्छु । उसले पनि गर्छे । अहिलेको युवाहरुले कस्तो सोच्छन् भन्ने कुरा पनि ऊ (स्वस्तिमा)बाट पनि मैले लिएको हुन्छु ।

 

‘लुट’ रिलिज हुदाँको समय र अहिले ‘लुट २’ रिलिज हुदाँको समयमा कुनमा बढी डर लागेको छ ?

वास्तविक कुरा भन्ने हो भने मलाई ‘लुट’ रिलिज हुदाँ डर थिएन। किनकी अन्तिम समय सम्म म काम मै व्यस्त थिए । रिलिज हुने दिन आयो रिलिज भयो । आफैलाई ए रिलिज भयो जस्तो लाग्यो । दर्शकले पनि मन पराइदिनु भयो । तर अहिले ‘लुट २’ को रिलिज समय नजिकिदै छ । एक महिना अगाडि चलचित्र तयार पारे अब सोच्ने समय पनि पाए । त्यसैले होला अहिले बरु एक किसिमको डर जस्तो लागेको छ ।

‘लुट’मा भन्दा ‘लुट २’ मा कलाकारलाई राम्रो पारिश्रमिक दिनु भयो रे ?

आर्थीक कुरा म भन्दा पनि माधब वाग्ले दाईलाई अझ राम्रोसँग थाहा छ । हो ‘लुट’ मा बजेट नै थिएन। ‘लुट २’ मा ‘लुट’मा भन्दा अलि राम्रो बजेट थियो । डेढ करोडको बजेटमा हामीले चलचित्र निर्माण गरेका छौं । कलाकारले मागेको पारिश्रमिकमा केहि तलमाथि त गरेका छौं । तर कलाकारलाई यसपाली राम्रो पारिश्रमिक दिएका छौं । कलाकारलाइ राम्रो पारिश्रमिक दिन पाउँदा म पनि खशी छु । कलाकारलाई राम्रो पारिश्रमिकसँगै चलचित्रलाई पनि केहि झकिझकाउँ भनाएका छौं ।

‘लुट २’ रिलिज भएर दर्शकले हेरेपछि आशा गरे जस्तो चलचित्र भएन र तपाईलाई दर्शकहरुले गाली गरेमा सहन सक्नु हुन्छ ?

आफुले मेहनत गरेको कुरामा नराम्रो टिकाटिप्पणी भयो भने सुन्दा नरमाइलो त लाग्छ । अरुकाे भ्रममा कुरा काट्नेहरु मलाई मन पर्दैनन्। तर चलचित्र हेरेर टिकाटिप्पणी गरिदिने हरेकको हरेक किसिमको प्रतिक्रिया मैले लिने छु । ‘लुट २’ मनपराउने र मन नपराउने ५०- ५० प्रतिशत दर्शक हुन्छन् जस्तो मलाई लाग्छ ।

आगमि दिनमा ‘लुट ३’ आउन सक्ने कतिको सम्भाबना छ ?

‘लुट ३’ आउँछ कि नाई भन्ने कुरा ‘लुट २’ हेरेपछि नै थाहा हुन्छ । ‘लुट २’ को कथाले नै ‘लुट ३’ आउने कि नाई भन्नेकुरा प्रष्ट पार्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 308

प्रतिक्रिया (०)

सम्बन्धित खबर