Aamsanchar

फागुन ८ गतेभित्र स्थानीय चुनावको मिति तोक्ने

Author Image
शनिवार, माघ २९, २०७३

झापा । 

आउँदो फागुन ८ गतेभित्र स्थानीय चुनावको मिति तोक्ने गरी दलहरुबीच छलफल भइरहेको सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताएका छन्।

सोही सिलसिलामा प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच शुक्रबार अपरान्ह भेटवार्ता भएको छ।

त्यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि चुनावको विषयमा छलफल भएको श्रेष्ठले बताए।

मिति घोषणा गरी निर्वाचनको तयारीसँगै असन्तुष्ट पक्षलाई पनि सहमतिमा ल्याउन प्रयास गर्ने दिशामा कुराकानी भएको एमालेका उपाध्यक्ष भीम रावलले बताए।

निष्कर्ष

स्थानीय निर्वाचनमा ढिलाई गरिए बाँकी चुनावहरु पनि प्रभावित हुन सक्ने भएकोले मिति तोक्न थप ढिलो गर्न नहुने निष्कर्षसहित शीर्ष तहको दलीय छलफललाई तीव्रता दिइएको नेताहरुले बताएका छन्।

स्थानीय चुनावको तयारीका लागि सरकारले निर्वाचन आयोगलाई पत्राचार गरेको एक सातापछि प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको नेतृत्वसँग चुनावसहितका विषयमा एक घण्टा लामो छलफल गरेका हुन्।

माओवादी केन्द्रका शीर्षस्थ नेताले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि शुक्रबार बिहान छलफल गरेका थिए।

यसअघि बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वसँग छलफल भएको थियो।

ती सबै छलफलको निष्कर्ष सुनाउँदै माओवादी केन्द्रका नेता श्रेष्ठले भने, “निष्कर्ष के हो भने फागुन ८ गतेभित्र स्थानीय चुनावको मिति घोषणा गर्ने र जेठ १ गतेतिर हुने गरी स्थानीय चुनाव सम्पन्न गर्ने भन्ने हाम्रो कुरा हो। सरकारले त्यसरी सोचिरहेको छ।”

निर्वाचन आयोगले दुई चरणमा गरी आगामी जेठमा स्थानीय तहको चुनाव गराउन सरकारलाई औपचारिक प्रस्ताव गरिसकेको छ।

प्रक्रिया

असन्तुष्ट तराई केन्द्रित दलहरुलाई सहमतिमा ल्याउने उद्देश्यका साथ हाललाई सरकारले चुनावको मिति घोषणा नगरी तयारी थाल्न आयोगलाई आग्रह गरेको धेरैको बुझाई छ।बिबिसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर