Aamsanchar

कुखुरापालन व्यवसाय प्रवद्र्धनका लागि सेमिनार

Author Image
शनिवार, फागुन ७, २०७३

काठमाडौं ।

काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी केन्द्रमा भएको ‘कृषिसम्बन्धी पहिलो बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी’मा आज ‘पोल्ट्री स्वास्थ्य र व्यवस्थापन’ सम्बन्धि गोष्ठी सम्पन्न भएको छ ।

पोल्ट्री क्षेत्रमा प्रयोग भएका नविनतम् प्रविधिका बारेमा जानकारी दिई व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको कृषि प्रदर्शनी सहयोगी संस्था ‘फार्म नेपाल’का अध्यक्ष डा रेवन्तकुमार भट्टराईले जानकारी दिनुभयो ।

सोह्रभन्दा बढी राष्ट्र सहभागी भएको उक्त प्रदर्शनीअन्तर्गत फार्म नेपालको आयोजनामा भएको सेमिनारमा विदेशी विशेषज्ञसहित चारजनाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

पशुसेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मलले ‘नेपालमा पोल्ट्री क्षेत्रको समग्र अवस्था एवम् यस सम्बन्धि नीति, रणनीति र कानुन’ तथा भारतीय अनुसन्धानकर्ता डा दिनेश भोस्लेले ‘लेयर्स फार्मको अवसर र व्यवस्थापन’ बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, अर्का भारतीय अनुसन्धानकर्ता डा सुब्रमन्यम् भाटले ‘कुखुरामा लाग्ने रोगहरु र औषधि तथा डा हर्सल सेट्टीले ब्रोइलर ब्रिडर व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

आयोजक संस्था फार्म नेपालले कृषकलाई सङ्गठित बनाउँदै उनीहरुलाई कृषिसम्बन्धी जानकारी दिई समस्या समाधानमा पुलको काम गर्दै आएको छ । साथै, पोल्ट्री समाचार, परामर्श, तालिम गोष्ठी सेमिनार, व्यवसायको आधुनिकीकरण, किसान सहायता कक्ष, पोल्ट्री ल्याब र बजार व्यवस्थापनमा परामर्श तथा सहयोग गर्दै आएको छ ।

जारी प्रदर्शनी नेपालमै पहिलोपटक आयोजना गरिएको हो । प्रदर्शनीमा १५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रदर्शकका कक्ष रहेका छन् । यही फागुन ६ गतेदेखि सुरु भएको प्रदर्शनी फागुन ८ गतेसम्म चल्नेछ ।

प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरणहरु, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन उद्योग, पोल्ट्री उद्योग एवम् पशुपालन उद्योगसम्बन्धी सानादेखि ठूलो क्षमताको उपकरणको प्रदर्शनी गरिएको आयोजक मिडिया स्पेस सोलुसनका निर्देशक सर्जल भट्टराईले जानकारी दिनुभयो ।

फ्युचरेक्स इन्डिया, कृषि मेसिनरी व्यवसायी सङ्घ, कृषि इन्जिनियरिङ निर्देशनालय, पशुपक्षी विकास मन्त्रालय, कृषि उद्यम केन्द्र, व्यावसायिक कृषि तथा व्यापार आयोजना, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घको सहकार्यमा कार्यक्रम आयोजना भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर