Aamsanchar

सोमबार चुनावको मिति घोषणा हुने निश्चित, मधेसी मोर्चाले सरकारबाट समर्थन फिर्ता लिने

Author Image
आइतवार, फागुन ८, २०७३

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले सरकारले भोलि नै निर्वाचनको मिति घोषणा गर्ने स्पष्ट पारेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको काँग्रेस–माओवादी केन्द्रको बैठकले भोलि बस्ने मन्त्रिपरिषदको बैठकले नै निर्वाचनको मिति घोषणा गर्ने जनाएका हुन् । उनले भने, ‘चुनावको लागि सबै प्रक्रिया पूरा भैसक्यो, यसको लागि निर्वाचन आयोग र सूरक्षा निकायका प्रमुखहरुसँग कुरा गरेर जेठको पहिलो हप्ता गर्नेगरि भोलि निर्वाचनको मिति घोषणा गरिनेछ ।’ उनले मुलुक अब चुनावमा गएको समेत उद्धघोष गरे । खनालले थपे, ‘चुनावबाटै निकास निस्किन्छ ।’

खनालले सबै दलहरुलाई विश्वासमा लिएर नै सरकारले चुनावको मिति घोषणा गर्न लागेको जनाए । उनले भने, ‘निर्वाचनको मिति घोषणा गर्नेबारेमा हामीले मधेशी मोर्चासँग पनि छलफल गरेका छौं, उहाँहरुले पहिला संविधान संशोधन भन्नुभएको छ, संशोधन नभईकन चुनावमा नजाने भनेर उहाँहरुले भन्नुभएको छ, उहाँहरुसँग पनि आज कुरा हुन्छ ।’ उनले स्थानीय तह पूनर्संरचनामा मधेशी मोर्चाले आपत्ति जनाएकोले उनीहरुले भनेबमोजिम जनसंख्याको आधारमा पूर्नसंरचना गर्ने समेत जनाए ।

खनालले मधेशी मोर्चालाई पनि चुनावमा लिएर जाने वातावरण बनाउनको लागि प्रधानमन्त्री अहोरात्र खटिरहेको समेत जनाए । उनले भने, ‘अब चुनावलाई रोक्नुहुँदैन्, संविधान कार्यान्वयनको लागि पनि समयमै तीन तहको निर्वाचन गर्नुपर्ने भएकोले सबै दलहरु गम्भिर भएर प्रस्तुत हुनुपर्छ ।’ उनले जेठको पहिलो हप्ताभित्रै चुनाव हुनेगरि सरकाले भोलि निर्वाचनको मिति घोषणा गर्न लागेको समेत जिकिर गरे ।

खनालले भोलि पनि निर्वाचनको मिति घोषणा नगरिए सरकारलाई प्राविधिक रुपमा कठिनाई हुने बताउँदै थपे, ‘भोलि निर्वाचनको मिति घोषणा गरेपनि मोर्चाको माँगलाई सम्बोधन गर्नको लागि सदनमा संविधान संशोधन प्रस्तावलाई छलफल गरेर टुँगो लगाईन्छ ।’ खनालले संविधान संशोधन प्रस्ताव केही परिमार्जनसहित प्रक्रियामा अघि बढाउनेबारे छलफल भैरहेको समेत जनाए ।

‘चुनावको मिति घोषणा गरे आधा घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता’

मधेशी मोर्चाका नेता राजकिशोर यादवले सरकारले चुनावको मिति घोषणा गरेको आधा घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन् ।

यादवले भने, ‘यदि संविधान संशोधन नभईकन मिति घोषणा भए, मोर्चाले त्यसको आधा घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनको कार्यक्रम घोषणा गर्छ, अब हुने आन्दोलनले जनविद्रोहको स्वरुप लिन्छ,’ उनले अघि थपे, ‘तर अझैपनि हामी यो सरकारले त्यसो गर्दैन भन्नेमा आशावादी छौं, गर्यो भने सरकारले सबैभन्दा ठूलो संकट व्यहोर्छ ।’

उनले सरकारले निर्वाचनको मिति घोषणा गरेपनि निर्वाचन कुनै हालतमा हुन नसक्ने ठोकुवा गरे । यादवले थपे, ‘स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन पनि विवावस्पद छ, त्यसलाई सच्याउनको लागि सरकारले गठन गरेको समितिको प्रतिवेदनपनि सावर्जनिक भएको छैन, अनि के को चुनाव गर्ने ?’ उनले केन्द्रले नै स्थानीय तहको निर्वाचन गरेर संघीयता नै फाल्न खोजेको आरोप लगाए ।

यादवले थपे, ‘हामी चुनावको विरोधी होईनौं, तर पहिला समस्याको समाधान गरेरमात्रै सार्थक निर्वाचन गर्नुपर्छ ।’

‘सरकारले निर्वाचनको मिति घोषणा गरे एमालेले स्वागत गर्ने’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरे आफ्नो पार्टीले स्वागत गर्ने स्पष्ट पारे । आचार्यले भने, ‘सरकारले चुनावको मिति घोषणा गर्छ भने एमालेले त्यसको समर्थन गर्छ ।’ उनले अहिले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव मधेशी जनताको हितमा नभएको जिकिर गरे ।

‘चुनावका लागि सबै दलहरुले सहयोग गर्नुपर्छ’

खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले सरकार चुनावको मिति घोषणा गर्ने तयारीमा जुटिसकेकोले त्यसलाई सबै दलहरुले सहयोग गर्नुपर्ने धारणा राखे । उनले भने,‘भोली सरकारले चुनावको मिति घोषणा गर्छ, त्यसमा अब सबैले समर्थन गर्नुपर्छ ।’
उनले भने, ‘अब पनि चुनाव नगर्ने हो र आलटाल गरिरहने हो भने अहिलेसम्म प्राप्त गरेका सबै उपलब्धिहरु गुम्ने खतरा छ, यसलाई सबैले ध्यान दिनुपर्छ ।’ उनले राप्रपाले राजासहितको प्रजातन्त्र भन्न थालेको उल्लेख गर्दै यस्तो अवस्थामा सबै सचेत भएर निर्वाचनमा होमिनुको विकल्प नभएको जिकिर गरे ।

‘चुनाव घोषणा गरे नेपालमा भीडन्तको राजनीति सुरु हुन्छ’

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सरकारले चुनावको मिति घोषणा गरे नेपालमा भीडन्तको राजनीति सुरु हुने चेतावनी दिए । झाले भने,‘चुनावको मिति घोषणा गर्न सरकारले पाउँछ, तर राति गरेपनि हुन्छ, दिउँसो गरेपनि हुन्छ, तर भोलि चुनावको मिति घोषणा हुन्छ भने त्यो नहुने निर्वाचन हो ।’

उनले जबरजस्ती चुनावको मिति घोषणा गर्नु भनेको सरकारले भीडन्तको राजनीति निम्त्याउनु भएको टिप्पणी गरे । झाले भने, ‘जबरजस्ती चुनाव गरिए मधेशी जनतालाई सहिद बनाउने चुनाव हुनेछ, हजारौं मान्छेहरुलाई सहिद बनाउने बाहेक यो निर्वाचनले केही निकास दिँदैन्, हामी बरु सहिद बन्न तयार छौं तर मधेशमा चुनाव हुन दिँदैनौं ।’

उनले मधेशको समस्या समाधान नगरी चुनावको मिति घोषणा गरिए काठमाडौं–मधेशको धागो कमजोर हुने बताए । झाले भने, ‘अब पनि धोकाधडीको राजनीति लागु नगरौं, जबरजस्ती चुनाव घोषणा गरिए भीडन्तबाहेक केही हुँदैन् ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर