Aamsanchar

पिसाबले पोल्ने ५ कारण

Author Image
शुक्रवार, फागुन २०, २०७३

डा. सुबोध रेग्मी, युरोलोजिस्ट, सिभिल अस्पताल

मानव शरीरका सम्पूर्ण विकारहरु बाहिर निकाल्ने जम्मा दुई उपाय छन् । एउटा पित्तबाट र अर्को मुत्रनलीबाट । मुत्रनलीबाट निस्किने पिसाबले हाम्रो शरीरका सबै प्रकारका नचाहिने तत्वलाई बाहिर निकाल्छ । तर, पिसाबमै खराबी आउँदा वा सहज ढङ्गले पिसाब नहुँदा हाम्रो शरीरको सम्पूर्ण प्रणाली (होमियोस्ट्यासिस) नै खराब हुन जान्छ ।

पिसाब गर्दा पोल्ने, पिसाब गाढा पहेँलो हुने, पिसाबमा रगत देखिने अथवा पिसाब फेर्न गाह्रो हुने समस्याबाट धेरै मानिस पीडित हुन्छन् । सामान्यतया एउटा स्वस्थ व्यक्तिले २४ घण्टामा डेढदेखि २ लिटरसम्म पिसाब फेर्नुपर्छ । त्यति मात्रामा पिसाब भएन भने पिसाबमा केही समस्या छ भन्ने बुझ्नुपर्छ। यस्ता समस्या एउटा बिनारोग र अर्को रोग लाग्दा देखिन्छ।

बिनारोग आउने समस्या

शरीरमा पानीको मात्रा कम भएमा बिनारोग पनि पिसाब फेर्दा पोल्ने, थोरै पिसाब हुने र गाढा पहेँलो पिसाब आउने हुन्छ । प्रायःजसो गर्मी याममा जाडो महिनाभन्दा कम पिसाब आउँछ । गर्मीमा पसिनाका कारण शरीरमा पानीको मात्रा घट्ने हँुदा पिसाबको मात्रा कम भएको हो । यसकारण गर्मी याममा आफूलाई सहज हुने गरी पर्याप्त मात्रामा पानी पिउँदा यस्ता समस्याबाट बच्न सकिन्छ । केहीमा पिसाब अडिने ठाउँको गडबडी (डिसफङ्सनल भोइडिङ) का कारण पनि पिसाबमा समस्या देखिन्छ । पिसाब फेर्ने समय नमिल्दा र पिसाब लागेको समयमा धेरै बेर रोकेर बस्दा यस्ता समस्या आउँछन् ।

रोगका कारण आउने समस्या

विभिन्न रोगका कारण पिसाबमा समस्या देखिन्छ । पर्याप्त मात्रामा पानी पिउँदा पनि पिसाबमा गडबडी देखियो भने शरीरमा केही समस्या छ भन्ने बुझ्नुपर्छ । विविध रोगका कारण पिसाबमा गढबडी देखिन्छ।

१. संक्रमण

प्रायःजसो पुरुषहरुमा प्रोस्ट्रेट ग्रन्थीमा इन्फेक्सन भएपछि पिसाबमा गडबडी हुने र पिसाब फेर्दा पोल्ने हुन्छ । पिसाब थैली र मुत्रनलीमा संक्रमण हुँदा पनि यस्तो समस्या भएको पाइन्छ । महिलाहरुमा भने मुत्रनलीको लम्बाइ पुरुषकोभन्दा सानो हुने हुँदा यौनांग र मलद्वारबाट पिसाब माथि सर्न सक्ने भएकाले संक्रमण हुने सम्भावना बढी हुन्छ । प्रोस्ट्रेट ग्रन्थी उमेर अनुसार बढ्दै जाने भए पनि सबै उमेर समूहकालाई ब्याक्टेरियल इन्फेक्सन हुने सम्भावना रहन्छ ।

२. ट्युमर

पिसाबथैलीमा हुने ट्युमरका कारण पनि छिन–छिनमा पिसाब लाग्ने, पोल्ने र पिसाब फेर्न गाह्रो हुने जस्ता समस्या देखिन्छन् । पिसाबमा रगत देखिया भने पिसाबथैलीमा ट्युमर हुन सक्छ भन्ने बुभ्mनुपर्छ । ट्युमरको कारण मात्र नभई स्टोनको कारणले पनि पिसाब फेर्दा रगत आउन सक्छ भने सोझै किड्नीबाट पनि रगत बगेको हुन सक्छ । यस्तो अवस्थामा जतिसक्दो चाँडो चिकित्सकको परामर्श लिनुपर्छ ।

३. यौनरोग

यौन रोगका कारण पनि पिसाबमा गडबडी आउँछ । यस्तै, टिबी रोग भएका बिरामीलाई पनि पिसाब फेर्दा पोल्ने हुन्छ ।

४. इन्ट्रेस्टिसियल सिस्टाइटिस

पिसाबथैलीको भित्री पत्रमा खराबी आएमा पनि पिसाबमा समस्या देखिन्छ । मेडिकल भाषामा यसलाई इन्ट्रेस्टिसियल सिस्टाइटिस भनिन्छ । कुनै पनि चेकजाँचबाट केही पत्ता लागेन तर समस्या उस्तै रह्यो भने इन्ट्रेस्टिसियल सिस्टाइटिस भएको अनुमान गर्न सकिन्छ ।

५. क्रोनिक प्रोस्टाटाइटिस

केही पुरुषहरुमा क्रोनिक प्रोस्टाटाइटिसका कारण पनि पिसाबमा समस्या देखिन्छ । प्रोस्ट्रेट ग्रन्थीमा लामो समयदेखिको संक्रमणलाई क्रोनिक प्रोस्टाटाइटिस भनिन्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 323

प्रतिक्रिया (०)

सम्बन्धित खबर