Aamsanchar

‘झापाको विकासमा सक्रिय छौं’

Author Image
बुधवार, फागुन २५, २०७३

रुपराज मैनाली ः सचिव, झापाली समाज अष्ट्रेलिया

अहिले झापा के सिलसिलामा आइपुग्नु भयो ?
– जन्मभूमिको यात्रा नभएको करिब अढाई बर्ष जति भएको थियो । आफन्तसँग भेटघाट साथै केही दिनअघि सिड्नीको मरुब्राबीचमा दुर्घटना भई असामयिक निधन भएका झापाका बिर्तामोड निवासी सुदीप उप्रेती भाइको परिवार समक्ष समवेदना प्रकट गर्न झापाली समाज अष्ट्रेलियाको तर्फबाट उपस्थिति जनाउन झापा आइपुगेको हुँ ।
बिर्तामोडमा सुदिप उप्रेती सामुहिक दुर्घटनामा पर्दा उनको उद्धार, शव नेपाल पठाउने प्रक्रिया र सहयोग जुटाउन समाजले कसरी अभियान सञ्चालन ग¥यो ?
– सुदीप भाइको दुर्घटना भएको केही दिनपछि अष्ट्रेलियन प्रहरीले पानी मुनी रहेको अवस्थामा शव फेला पारेपछि भाइको परिवारका तर्फबाट शवलाई नेपाल पठाउने प्रक्रियामा झापाली समाज अष्ट्रेलियालाई अनुरोध गरे बमोजिम समाजका सहसचिव अशोक उप्रेतीको नेतृत्वमा आर्थिक संकलन अभियान शुरु गरेको तीन दिनभित्रै आवश्यक रकम जुटी सकेपछि शव नेपाल पठाइएको हो ।
झापाली समाज अष्ट्रेलियाको गतिविधि के छ ?
– कर्मभूमिमा रहेर पनि जन्मस्थानको लागि विभिन्न किसिमका कल्याणकारी कार्यहरू गर्दै आइरहेको छ समाजले । अष्ट्रेलियामा रहेका झापालीहरू र अरु समुदायका साथीहरूबीच आपसी भाइचारा अभिबृद्धि गर्दै आएको छ ।
भावी योजना के छ ?
– झापा जिल्लाका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर बृद्धिका निमित्त सहयोग साथै विभिन्न परोपकारी कार्यहरू विगतमा गर्दै आइरहेको र आउँदा दिनमा यस्ता कार्यक्रमलाई अझ ब्यापकताका साथ बढाउँदै लिएर जाने समाजको मुख्य भावी योजना रहेको छ । सदस्यता बृद्धिलाई निकट भबिष्यमा बृहत् रूपले अघि बढाउनको निमित्त उपाध्यक्ष एवम् एन एस डब्लु संयोजक दिपक चुडालको नेतृत्वमा समिति गठन गरिएको छ ।
अन्तर्राष्ट्रिय झापाली समाज पनि गठन भएको छ । यसले कसरी र के काम गर्दैछ ?
– संसारभरि छरिएर रहेका झापालीहरूलाई समन्वय गरी झापाको सर्वोपरी विकासका निमित्त मिलेर योगदान गर्ने अन्तर्राष्ट्रिय झापाली समाजको मूल उद्देश्य रहेको छ । हाललाई तदर्थ समिति गठन भइ भवानी ओलीलाई सर्वसम्मत संयोजक चयन गरिएको छ । यो समितिको आगामी बैठकले समितिलाई पूर्णता दिनुको साथै आउँदो दशैपछि लगत्तै अधिवेशन सम्पन्न गर्ने योजना रहेको छ ।
झापाको विकासको लागि दुबै समाजको सोच के छ ?
– एकआपसमा समन्वय गरी झापाको सर्वोपरी विकासका निमित्त सक्दो योगदान गर्ने साथै अन्तराष्ट्रिय झापाली समाजलाई अझ ब्यापकरूपले बिस्तार गर्नको निमित्त सहकार्य गर्ने मुख्य सोच हो ।
अष्ट्रेलियामा बस्ने नेपाली त्यसमा पनि झापालीको अवस्था के छ ?
– शुरूमा केही कठिनाइ भएता पनि नेपालीहरू मिहेनती भएका कारण पढाई लगायत रोजगारीमा पनि सफल भएका छन् । यही कारणले पनि होला अष्ट्रेलियन सरकारले भिषा प्रदान गर्नेमा नेपालीलाई उच्च स्थानमा राखेको छ ।
झापाली समाज अष्ट्रेलियाका संस्थापक अध्यक्षदेखि हालका अध्यक्षसम्मको भूमिकालाई कसरी मूल्यांकन गर्नुभएको छ ?
– स्थापना कालदेखि नै म झापाली समाज अष्ट्रेलियामा आबद्ध भएका कारण समाजलाई यो स्थानमा पु¥याउन संस्थापक अध्यक्ष लगायत त्यसलाई निरन्तरता दिन वर्तमान अध्यक्ष लगायत संस्थामा आबद्ध साथीहरूको अति महत्वपूर्ण योगदान रहेको महशुस गरेको छु । समाजलाई एकताबद्ध बनाइ अगाडि बढाउने कुरामा समाजमा आबद्ध साथीहरूको साथ र सहयोग उदाहरणीय रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)