Aamsanchar

पत्रकारिताः अवस्था र उपलब्धि

Author Image
बुधवार, फागुन २५, २०७३


[एकराज गिरी]

उपाध्यक्ष , नेपाल पत्रकार महासंघ, झापा

 

पृष्ठभूमिः नेपालमा पत्रकारिता
‘म अझै विश्वस्त छु कि यदि तपाइँको चाहना संसार परिवर्तन गर्नेछ भने सबैभन्दा छिटो हतियार पत्रकारिता हो’ – विश्वविख्यात बेलायती नाटककार टोम स्टोपार्डको उक्त भनाइले संसार बदल्ने हतियारको रुपमा पत्रकारिता र त्यसको कुशल सिपाहीको रुपमा हामी पत्रकारलाई अथ्र्याएको छ । विचार र अभिव्यक्तिको स्वतन्त्रता सम्वन्धी जनताको अधिकारलाई सुनिश्चित गर्ने उत्तम विकल्प नै पत्रकारिता हो । नेपालको संविधान २०७२ ले प्रस्तावनामै ‘पूर्ण प्रेस स्वतन्त्रता’ को प्रत्याभूति गरेको छ । संविधानको भाग ३ धारा १७(२)‘क’ तथा धारा १९ (१),(२) र (३) ले विचार र अभिव्यक्तिको स्वतन्त्रताका साथै सञ्चारको हकलाई ग्यारेन्टी गरेको छ । प्राणलाई सँधै संकटमा पारेर, धेरै दुष्ट र स्वार्थी मान्छेहरुको निशाना बनेर सदा अन्धकारकाविरुद्ध चेतनाको ज्योति फैलाउन व्यस्त रहेको एक स्वयम्सेवकको नाम हो पत्रकार । कसैको स्वार्थमा नबिक्ने, कसैका धम्कीमा नतर्सने, कसैका सहानुभूति र संवेदनाहरुले भावुक नहुने एक निष्पक्षद्रष्टा र निर्भिक कलमको संयोजन हो पत्रकारिता ।
पत्रकारिता कूनै अर्थमूलक सूचना वा जानकारी स्रोतबाट लिइ सञ्चारमाध्यम मार्फत सर्वसाधारण समक्ष पु¥याउने कार्य हो । पत्रकारिता र आम सञ्चार नजीकका विषयहरू हुन् । यस्तो कार्यमा संलग्न व्यक्तिलाई पत्रकार भनिन्छ। प्रजातन्त्रका चारवटा स्तम्भमध्ये पत्रकारिता चौथो अङ्ग मानिएको छ–न्यायपालिका, कार्यपालिका, विधानपालिका र पत्रिकारिता।
संसार जसलाई आज हामी घरको कोठामा बसेर देख्दछौं, संसारका ती सबै रोमाञ्चकारी घटनाहरुको प्रत्यक्ष प्रशारण दृश्य र श्रव्य रुपमा जुन हामी पाउँछौं, देख्दछौं ती सबैका पछि एक निर्भिक, सृजनशील, कल्पनाशील र त्यागी पत्रकारको कलम र फोटोग्राफीको योगदान छ ।
विश्व पत्रकारिताको इतिहासमा नेपाललाई हेर्दा निकै नै पछिमात्र यसको विकास भएको देखिन्छ । नेपाली पत्रकारिता साहित्यिक पत्रकारिताबाट सुरु भएको मान्न सकिन्छ ।


नेपालमा पत्रकारिताको ऐतिहासिक विकाम क्रम खोतल्ने हो भने १६५ बर्ष अगाडि पुग्नुपर्ने हुन्छ । वि.स. १९०८ सालमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्कदा एउटा प्रेस नेपाल भित्र्याएका थिए । हाते मेसिनको टाउकोमा पखेटा फिंजाएको गिद्दको आकृति भएकाले त्यसलाई ‘गिद्दे प्रेस’ भन्ने गरिन्थ्यो । थालाथलीस्थित जंगबहादुर निवासमा रहेको यसै प्रेसलाई पछि ‘टाइप छापाखाना’ भनेको पाइन्छ । यो नै नेपालको पहिलो प्रेस भएको पाइन्छ । जहानियाँ राणा शासनमा पनि प्रेस अर्थात् पत्रकारिताप्रतिको आवश्यकता र महत्व भएको जंगबहादुरको उक्त कार्यले पुष्टि गर्छ ।
नेपाली पत्रकारिताको शुरुवात भने वि.स. १९४३ देखि मोतिराम भट्टले शुरु गरेका हुन् । नेपाली भाषामा पहिलो पत्रिका ‘गोर्खा–भारत जीवन’ मोतिरामको अगुवाईमा भारतको बनारसबाट प्रकाशित भयो । मोतिरामकै सक्रिय योगदानका कारण वि.स. १९५५मा नेपालकै पहिलो पत्रिकाको रुपमा ‘सुधासागर’को प्रकाशन शुरु भयो । सुधासागरपछि नेपाली भाषामा नेपालमै प्रकाशित भएको दोस्रो पत्रिका ‘गोर्खापत्र’ हो । नेपालकै जेठो समाचारमूलक अखबार गोर्खापत्र वि.स. १९५८ बैशाख २४ गते सोमवारदेखि साप्ताहिक रुपमा प्रकाशित हुन थाल्यो । यसको पहिलो तालुकवाल (व्यवस्थापक) पं. नरदेव पाण्डे हुनुहुन्थ्यो र दोस्रो जय पृथ्वीबहादुर सिंह । वि.स. १९६९देखि विद्युतबाट सञ्चालित छापाखानामा छापिएर गोरखापत्र प्रकाशित हुन थाल्यो । ‘गोर्खापत्र’ वि.स. १९८३देखि ‘गोरखापत्र’ भयो । वि.स. १९९१ देखि पत्रिकामा ‘सम्पादक’को नाम लेख्न थालियो । पहिलोपटक प्रधानसम्पादकको रुपमा बालकृष्ण समको नाम भेटिन्छ । वि.स. २०२०मा ‘गोरखापत्र छापाखाना’को नाम ‘श्री५को सरकारको छापाखाना’ राखियो । वि.स. २०३९देखि गोरखापत्र वेभ अफसेट मेसिनबाट छापिन शुरु भयो ।यसरी केलाएर हेर्दा पत्रकारिताले हाम्रो देशमा प्रवेश गरेको पनि ११८ बर्ष पुगिसकेको छ । समाचारपत्रका रुपमा प्रारम्भ भई ११५ बर्षदेखि लगातार चलिरहेको गोरखापत्र नेपाली पत्रकारिता क्षेत्रको एक गौरबको रुपमा रहेको छ ।
वि.स. १९९१ सालदेखि ‘शारदा’ साहित्यिक मासिक प्रकाशित भयो । यसको प्रकाशन सुब्बा ऋद्धिबहादुर मल्लले गरेका थिए । राणा सरकारकाबाट सहयोग प्राप्त भए पनि मोतिराम भट्ट, भानुभक्त आचार्य, शम्भुप्रसाद जस्ता व्यक्तित्वको राम्रो पहिचान यसै पत्रिकाबाट भएको थियो । वि.स. २००७ अघि आर्थिक तथा अन्य कारणबाट यी पत्रिकाहरु प्रकाशनको केही समयपछि बन्द हुने गर्थे । मोहन शम्शेरको प्रधानमन्त्रित्वकालमा पहिलोपटक वि.स. २००५मा ‘छापाखाना र प्रकाशन सम्बन्धी ऐन’ जारी भयो । यसले प्रजातान्त्रिककालको कल्पना गर्दै अगाडि बढेको पत्रकारिता क्षेत्रमा बाधाअढ्चन सिर्जना ग¥यो ।
राणा शासनको अन्त्यपछि २००७ सालको प्रजातान्त्रिक संविधानले मौलिक अधिकारका रुपमा वाक् तथा प्रकाशन स्वतन्त्रतालाई मान्यता दिएपछि पत्रपत्रिकाहरुको प्रकाशनले पुनः जीवन पायो । देशका विभिन्न ठाउँहरुबाट विभिन्न भाषामा पत्रपत्रिकाहरुमा प्रकाशित भए । २००७–२०१७ सम्मका पत्रपत्रिकाहरुमा समाचार, समीक्षा, पार्टीगत, मुखपत्र, शिक्षा, लोक जागृति र साहित्यसँग सम्बन्धित मुख्य थिए ।
वि.स. २०१७देखि २०३६ सम्म पत्रकारिताको इतिहास स्वतन्त्र पत्रकारिताका दृष्टिकोणले कमजोर रह्यो । जननिर्वाचित सरकारलाई भंग गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरिएको यस अवधिमा पत्रकारिता धेरै संकुचित हुन पुग्यो । वि.स. २०१९ मा जारी भएका छापाखाना र प्रकाशन सम्वन्धी ऐन र छापाखाना र प्रकाशन रजिस्टे«शन ऐनको उद्देश्य प्रकाशन स्वतन्त्रतालाई नियन्त्रण गर्नु थियो  । पत्रिका प्रकाशनमा धेरै प्रतिबन्ध भएको यस अवस्थामा पनि पत्रकारिता सम्बन्धी केही संघ–संगठनहरुले विकासका पूर्वाधार निर्माण गरेका थिए । राष्ट्रिय समाचार समिति, प्रेस काउसिन्ल, प्रेस क्लब, प्रेस पारिश्रमिक संघ, श्रमजीवी पत्रकार सभा, गोरखापत्र कर्पोरेसन आदि संस्थाहरुको स्थापनाले पत्रकारिताको विकासमा महत्वपूर्ण टेवा पुग्यो । पञ्चायतकाल जस्तो जटिल एवम्् प्रतिबन्धित अवस्थामा समेत धेरै पत्रपत्रिकाहरु प्रकाशित भएका पाइन्छन् । वि.स. २०३४–३५ सम्ममा ९४ अखबारहरु प्रकाशित भएका थिए । यस अवधिमा पत्रकारहरुको गिरफ्तारी र कारवाहीका श्रृंखलाहरु असंख्य छन् ।
वि.स. २०३६ जेठ १ गते जनमत संग्रहको घोषणा भएपछि वाक् तथा प्रकाशन स्वतन्त्रतामा केही कुखुलो वातावरण सिर्जना भयो । वि.स. २०३६–२०४६को अवधिमा लक्ष्यमुखी पत्रकारिता ९ःष्ककष्यल व्यगचलबष्किm० को विकास भयो । बहुदलीय र निर्दलीय व्यवस्थाबीच प्रतिस्पर्धात्मक पत्रपत्रिकाहरु देखा परे । जनमत संग्रहपछि बहुदलवादीको पराजय भए पनि बहुदलवादीसमेतको दबाब ‘वाक् तथा प्रकाशन स्वतन्त्रता ऐन, २०३७’ जारी गरियो । वैचारिक क्षेत्रमा कुखुलोपन आएपछि पत्रकारिताले पुनः फस्टाउने मौका पायो । आ.ब. २०३९÷४०मा १०९ पत्रिकाहरु दर्ता भएका थिए । २०४६ सालको आन्दोलनमा पत्रपत्रिकाको भूमिका महत्वपूर्ण रह्यो । त्यस बेलासम्म दैनिक ४२, साप्ताहिक २५०, पाक्षिक ३४१ पत्रपत्रिका दर्ता भएका थिए । २०४६ पछि बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि पत्रकारिताले औद्योगिक रुप लिइसकेको छ । निजी क्षेत्रबाट सञ्चालित कान्तिपुर, नागरिक, द काठमान्डू पोस्ट, नेपाल समाचारपत्र, अन्नपूर्ण पोस्ट, द हिमालयन टाइम्स, राजधानी दैनिक, नयाँ पत्रिका, कारोबार, अभियान लगायतका दैनिक पत्रिका एवम् साप्ताहिक र पाक्षिक पत्रिकाहरु व्यवसायिक रुपले नै अगाडि बढेका छन् ।


वि.स. २०५४ मा रेडियो सगरमाथाले प्रशारण अनमुति पाएर दक्षिण एशियामै निजी क्षेत्रबाट सञ्चालित प्रथम रेडियो हुने शौभाग्य पायो । च्यानल नेपाल नेपालको पहिलो निजी क्षेत्रबाट सञ्चालित टेलिभिजन बन्न पुग्यो । हिमाल पाक्षिक, नेपाल र समय साप्ताहिकले नयाँ स्वादको पत्रकारिता शुरु गरे । इमेज टेलिभिजन, कान्तिपुर टेलिभिजन र नेपाल टेलिभिजन मेट्रोले पनि यसै अवधिमा जन्मने र हुर्कने मौका पाए । यसैबीच भारतबाट प्रशारण हुने नेपाल वन पहिलो नेपालीभाषाी विदेशी टेलिभिजनका रुपमा स्थापित भयो । यसै समयमा नेपालन्यूज, कान्तिपुर अनलाइन लगायत (अचेल ‘इकान्तिपुर’ नाममा सञ्चालित) इन्टरनेट माध्यमबाट नेपाली समाचारलाई संसारभर पु¥याउन शुरु गरियो । द्वन्द्वले मुलुक आक्रान्त भएका बखत पनि नेपाली पत्रकारिताको भूमिका प्रभावकारी भयो । २०६१ साल माघ १९ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन शुरु भए पछि नेपाली पत्रकारितामा व्यापक अंकुश लगाइयो । पत्रकारिता क्षेत्रलाई नै तहसनहस बनाउने गरी सञ्चार अध्यादेश जारी गर्नेदेखि सरकारी पक्षबाटै सञ्चारमाध्यममा हस्तक्षेप र कब्जा गर्नेसम्मका दुष्प्रयास भए । २०६३ बैशाख ११ गते लोकतन्त्र वहाली भएपछि नेपाली पत्रकारिता जगतले पुनःजीवन पाएको छ । सूचनाको हक, २०६४ र श्रमजीवी पत्रकार ऐन (पहिलो संशोधन) २०६४ जारी भएका छन् । ०७२ चैत मसान्तसम्ममा सरकारी र निजी क्षेत्रका गरी देशभर ७१९७ पत्रपत्रिका दर्ता भएका छन् । चालू आर्थिक बर्षको प्रथम चौमासिकसम्ममा ९८ टेलिभिजन, २४८ अनलाइन र ७३१ रेडियो (सरकारी, निजी तथा सामुदायिक समेत) ले प्रशारण अनुमति प्राप्त गरिसकेका छन् । पत्रकारिता शिक्षाको अध्ययन–अध्यापनमा समेत उत्साह थपिएको छ । नेपाली पत्रकारितामा ठूला लगानीहरु भित्रदै छन्, जसले पत्रकारिता क्षेत्रमा थुप्रै अवसर तथा चुनौतिहरु सिर्जना गरेको छ । अर्कातिर लोकतन्त्र प्राप्तिपछिका बर्षहरु सञ्चार स्वतन्त्रताका लागि बैधानिक रुपमा उदार देखिए पनि व्यवहारमा नेपाली पत्रकारिता थुप्रै चुनौतिहरुबाट गुज्रिरहेको छ । पत्रकारिता गरेकै कारण पत्रकारहरुमाथि मार्नेधम्की, अपहरण, आक्रमण र हत्याका घटनाहरु भएका छन् । पत्रकारितामा राजनीतिक, जातीय, क्षेत्रीय र अन्य प्रकारका पूर्वाग्रहहरु पाइएका छन् । तर विडम्बना ११८ वर्ष भन्दा लामो पत्रकारिताको इतिहासमा अहिलेसम्म नेपाली पत्रकारिता व्यवसायमुखीभन्दा अवसरमुखी भइरहेको छ । नेपाली पत्रकारितालाई समुन्नत र व्यवसायिक बनाउन दक्ष जनशक्ति र सुरक्षित लगानीको वातावरण तयार गर्न आवश्यक छ ।

झापामा पत्रकारिता
समयक्रम सँगसँगै पत्रकारिताले राजधानीबाट बाहिरी जिल्लाहरुमा प्रवेश गर्दै गयो । देशले मागेका आन्दोलनहरु र विकासका गतिहरु सँगसँगै पत्रकारिताले आफ्नो क्षेत्रलाई व्यापक गर्दै गयो । पूर्वमा सीमान्त जिल्लाका रुपमा रहेको झापा देशकै एक सचेत सक्रिय जिल्लाका रुपमा चिनिन्छ । भारतको पश्चिम बंगालसँग सीमा जोडिएको यो जिल्ला भारतबाट धेरै नै प्रभावित छ । भारतको दार्जीलिङका नेपालीहरुको भाषा साहित्य सम्बन्धी सक्रियताले पनि यो जिल्लालाई निकै प्रभावित गरेको छ ।
नेपाली पत्रकारिताको इतिहास खोज्ने हो भने झापाले महत्वपूर्ण हैसियत राखेको छ । निरंकुश पञ्चायत कालदेखि नै झापाको पत्रकारिता एकताबद्ध भएर अघि बढेको कुरा हामी माझ छिपेको छैन । अझ यसलाई उत्साहजनक ढंगले अघि बढ्न र गुणात्मक फड्को मार्न यहाँका प्रबुद्ध पाठक, बुद्धिजीवीहरुको विशेष देन रहेको छ ।
यो क्रमलाई नियालेर हेर्ने हो भने झापाका पत्रकारहरुले पत्रिका सञ्चालन गर्दा देखि नै संगठनात्मक सूत्रमा बाँध्ने जमर्को नगरेका होइनन् । समय, काल र परिस्थितिसँगै यहाँका पत्रकारहरु एउटा छातामुनि गोलबद्ध हुँदै गए र नेपाल पत्रकार संघ झापा शाखा गठन हुन पुग्यो । विस्तारै समयको माग अनुसार नेपाल पत्रकार संघ– महासंघमा परिणत भई पत्रकारहरुको मूल संगठनको रुपमा स्थापित भएको छ ।
नेपाल पत्रकार संघ झापा शाखा गठन भएपछि खासगरी यसले पत्रकारिता र पत्रकारहरुको विकास सँगसँगै अगाडि बढायो । स्थापनाकालको पत्रकार संघले संगठनको ढाँचा तयार ग¥यो, त्यसपछि कुशल संगठन र कार्यालय सञ्चालन गर्दै यसले पत्रकारिता कस्तो हुनुपर्छ र पत्रकार कसरी चल्नुपर्छ भन्ने कुरामा थुप्रै अन्तरसंघर्षहरु गरेको थियो ।
नेपाली पत्रकारिता प्रजातान्त्रिक आन्दोलनका हरेक संघर्षसँग जोडिएको छ । प्रजातन्त्र र मानव अधिकारका पक्षमा सदा संघर्ष गरिआएको नेपाली पत्रकारिताको महासमरमा झापाली पत्रकारिताको स्थान अझ महत्वपूर्ण रहेको छ । पत्रकारिता क्षेत्र सदा चुनौतिपूर्ण रही आएको छ । आजको यो खुल्ला परिस्थितिमा यसले संस्थागत र व्यवसायिक हुन झन् बढी संघर्ष गर्नुपर्ने अवस्था रहेको छ ।
राष्ट्रलाई नै प्रभावित गर्ने राजनीतिक घटनाक्रमहरु यस जिल्लाले जन्माई आएको छ । जहिले पनि समाचारपत्रका प्रथम पृष्ठमा पढिरहनुपर्ने यो जिल्लाले देशलाई नै ऊर्जा प्रदान गर्दै आएको छ । राष्ट्रले मागेका र राजनीतिक आन्दोलनहरु, संघर्षशील प्रतिभा तथा राष्ट्रिय नेतृत्वका व्यक्तिहरु जन्माई झापाले देशलाई सदा गति प्रदान गरिआएको छ ।
यो जिल्लाले जसरी अरु क्षेत्रमा आफ्नो प्रभाव देखाएको छ, त्यसैगरी पत्रकारिताको क्षेत्रमा पनि विशिष्ठ योगदान पु¥याइआएको छ । ६३ बर्ष लामो पत्रकारिताको इतिहास बोकेको यस जिल्लाले पत्रकारिताका प्रसंगमा कैयौं उतार चढावहरु बेहोरेको छ । २०१० साल मंसीर १२ गतेदेखि प्रकाशित हुन थालेको ‘केटो’ मासिक पत्रिका झापाली पत्रकारिताको इतिहासमा जेठो सावित हुन पुग्दा सोही पत्रिकाका सम्पादक श्यामकृष्ण उपाध्याय पनि सहजै झापाका जेठा सम्पादकका रुपमा इतिहाससिद्द हुनुहुन्छ ।
झापाली पत्रकारितालाई रोपेर, गोडेर, उठाएर ल्याउने अग्रज पत्रकारहरु महानन्द सापकोटा, श्यामकृष्ण उपाध्याय, एएल शर्मा, भवानी घिमिरे, स्वयभूंलाल श्रेष्ठ, बसन्तकुमार खड्का, डिल्लीराम निर्भिक, चूडामणि रेग्मी, नकूल काजी, द्रोणाचार्य छेत्री, गोविन्दचन्द्र छेत्री, डा. हृषिकेश उपाध्याय, मदन ढकाल लगायत हुनुहुन्छ ।
पत्रकारको व्यसायिक हक हित तथा सुरक्षाको लागि सशक्त वकालत गर्न छाता संस्थाको रुपमा नेपाल पत्रकार महासंघ रहेको छ । मुलुक संक्रमणकालबाट गुज्रिरहँदा आम नागरिकको आशा अनि भरोसाको केन्द्रको रुपमा सदैव पत्रकार महासंघ रहिआएको छ । पत्रकारिताका हिसाबले अत्यन्त प्रतिकूल अवस्थाको सामना गर्दै निरन्तर नागरिक अधिकारको पक्षमा विगतमा यसले निर्बाह गरेको भूमिकाका कारण पनि महासंघप्रति आम नागरिकको त्यस्तो अपेक्षा रहनु स्वाभाविक हो । यो विश्वासमा खरो उत्रनु महासंघ र यसका सदस्य पत्रकारहरुको एक किसिमको निरन्तरको परीक्षा पनि हो । परीक्षामा पास हुन सके मात्रै पत्रकारका नाताले हामी स्वयंले दाबी गर्दै आएको हामीले नै निर्बाह गर्नुपर्ने सामाजिक उत्तरदायित्व पूरा हुन्छ । नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरूको पेशागत संगठन हो । यसले अन्तर्रा्ष्ट्रिय पत्रकार महासंघको सदस्यता प्राप्त गरेको छ। नेपाल पत्रकार महासंघको स्थापना २०१२ चैत १६ गते (सन् १९५६ मार्च २९) भएको हो । यसका संस्थापक सभापति पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो । नेपाल पत्रकार संघ स्थापनाको ३४ वर्षपछि झापामा पत्रकार संगठित भएको इतिहास भेटिन्छ ।
झापाली पत्रकारहरुलाई एकताको सूत्रमा बाँध्न र स्वतन्त्र निष्पक्ष र यथार्थमूलक समाचार सम्प्रेषण गराउन नेपाल पत्रकार संघ (वियोगी)को महत्वपूर्ण योगदान छ । पञ्चायती कालमा प्रतिबन्धित राजनीतिक पार्टीहरुका निम्ति मात्र नभई प्रजातन्त्रका पक्षमा काम गर्न सबैका निम्ति अप्ठ्यारो थियो । पत्रकारहरु बारम्बार थुनामा पर्ने, पत्रिकाको दर्ता खारेज हुने, जरिवाना तिर्ने जस्ता कुराहरु सामान्य मानिन्थ्यो। तर, पत्रकारिता क्षेत्र भने कहिल्यै कुण्ठित भएन । आत्मबल युक्त जमातहरुमा यो केन्द्रित रहेकाले पनि पत्रकारिता क्षेत्र सदा सक्रिय रहन सकेको थियो ।
बर्तमान विश्वमा आमसञ्चारको महत्व बढ्दै गएको परिप्रेक्ष्यमा जनताको सुसूचित हुने अधिकारसहित अभिव्यक्ति र स्वतन्त्रतालाई सुदृढ र निर्वाध उपभोगको प्रत्याभूतिका लागि पत्रकारहरु क्रियाशील रहदै नेपाली समाजलाई प्रबुद्द पार्ने दायित्वमा सतत् प्रयत्नशील छन् ।
२०४६ साल पुस ८ र ९ गते झापा चन्द्रगढीको कलवलगुडीमा नेपाल पत्रकार संघ (वियोगी)को मोफसलमा पहिलो वैठक बस्यो । सो वैठकले पारित गरेको निर्णयलाई झापा घोषणापत्र मानिएको छ । उक्त बैठकले नेपाल पत्रकार संघको झापा शाखाको गठन गर्यो । शाखामा निम्न पदाधिकारीहरु हुनुहुन्थ्यो – सभापति – डिल्लीराम निर्भिक, सचिव– तारा बराल, सदस्यहरु –मदन ढकाल,भरत भुर्तेल,मोहन ढुंगाना,गोपीकृष्ण खनाल, केशव आचार्य, गोविन्द गुलाफ । (स्रोतःनेपाल पत्रकार महासंघ झापाले प्रकाशन गरेको चौथो अङ्ग स्मारिका २०५६)
नेपाली प्रेसको अवस्थाः चुनौति र अवसर
वितेको ३ बर्ष नेपाली पत्रकारिताको निम्ति केही निराशा, समस्या तथा चुनौति र केही उत्साहप्रद अवस्था रह्यो । भूकम्प लगायतका प्राकृतिक विपत्ति, तराई–मधेशमा जारी आन्दोलन र नाकाबन्दीको मार पत्रकार तथा आम सञ्चारमाध्यमहरुमा नराम्रोसँग प¥यो । २०७२ बैशाख १२ र २९ गतेको भूकम्पका कारण देशभर १८१३ जना पत्रकार र सञ्चारगृह प्रभावित भए । भूकम्पमा परी तीन जना र शंकास्पद दुर्घटनामा एक गरी चार जना सञ्चारकर्मीले ज्यान गुमाए ।
संविधान जारी हुने क्रम र तत्पश्चात प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना तीब्र बृद्धि हुनु थप चिन्ताको विषय बन्यो । सन् २०१५मा देशभर प्रेस स्वतन्त्रता उल्लंघनका १३६ घटना भए । जसमध्ये ११४ वटा घटना तराई–मधेश आन्दोलनका क्रममा मात्र भएका छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिकोणले सन् २०१६मा विगतका बर्षको तुलनामा केही हद सुधार भएको पाइएको छ । सन् २०१५मा तराई मधेश आन्दोलन तथा विभिन्न संघ–संगठनको आन्दोलनका कराण मिडियामाथि आक्रमणका घटना अधिक देखिएकोमा विगतको बर्षभन्दा सन् २०१६ प्रेस स्वतन्त्रता हननका घटनामा कमी देखिएको छ । सन् २०१६मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका ५६ वटा घटना महासंघको मिडिया मोनिटरिङ इकाईमा दर्ता भएका छन् । जसमध्ये १० जना पत्रकारहरु पत्रकारिताको क्षेत्रमा क्रियाशील रहँदा विभिन्न समयमा पक्राउ परेका छन् भने १० जना पत्रकार आफ्नो कार्यक्षेत्रमा क्रियाशील रहँदा विभिन्न व्यक्ति तथा समुदायबाट आक्रमणमा परेका छन् ।
त्यस्तै सन् २०१६मा १५ जना पत्रकारलाई दुव्र्यवहार र चार सञ्चार संस्थामा आक्रमण भएको छ । दुई जना पत्रकारका सञ्चार सामग्री तोडफोड भएको छ भने दुई वटा सञ्चार गृहलाई राजनीतिक दलले नियन्त्रणमा लिई आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् । त्यस्तै ५ जना पत्रकारलाई धम्की आएको थियो भने पत्रकारिताको विषयलाई लिएर प्रहरीले ५ जना पत्रकारलाई नियन्त्रणमा लिएको महासंघको अभिलेखमा छ । उक्त घटनाहरु सन् २०१६का केही मुख्य प्रेस स्वतन्त्रता हननका घटना हुन् । उक्त घटना श्रृंखलाले नेपाली प्रेस जगत असुरक्षित रहेको देखाउँछ । विभिन्न राजनीतिक पार्टी तथा संघ–संस्थाले गरेको विरोधको समयमा प्रहरी प्रशासनबाट भएको आक्रमण तथा अन्य व्यक्तिबाट भएको आक्रमणले सरकारबाटै नेपाली प्रेस असुरक्षित र अपहेलित भएको देखाउँछ । विगत ३ बर्षको अवधिमा झापामा प्रेस स्वतन्त्रता उल्लंघनका ९ वटा घटना भएका छन् ।
स्वतन्त्र प्रेसमाथि विभिन्न अंकुश लगाउने असफल प्रयासका बाबजुद २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भयो । यो ऐतिहासिक उपलब्धि हो । नयाँ संविधानले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, धर्म निरपेक्षता, सामाजिक न्याय जस्ता परिवर्तनका मूलभूत एजेण्डाहरु संस्थागत गरेको छ । संविधानका केही प्रावधानले भावी दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने सम्भावनाप्रति सजग रहँदै र त्यसमा संशोधनको पहल तथा दबाब जारी राख्दै महासंघले संविधानको स्वागत गरेको छ । महासंघ केन्द्रको आह्वानमा झापा शाखासहित देशभरबाट सिर्जना गरिएको दबाब र न्यायपूर्ण लडाइको बलमा नेपालको संविधानको प्रस्तावनामै ‘पूर्ण प्रेस स्वतन्त्रता’ उल्लेख गराउन सक्नु गुम्न लागेको उपलब्धि फर्काउनु र प्राप्त उपलब्धि संस्थागत गर्नु हो ।
तराई–मेधश आन्दोलन र नाकाबन्दी अनि आपूर्तिमा असहजताले आम नागरिकको जीवनसँगै पत्रकारको जनजीवन अस्तव्यस्त तथा मुलुकको अर्थतन्त्रसँगै नेपाली सञ्चारक्षेत्र धरासायी बन्न पुग्यो । कच्चा पदार्थ, सञ्चालन सामग्रीको अभाव, विज्ञापनको न्यूनता, उत्पादित सामग्रीको वितरणमा असहजताले तराई–मधेशका मिडियाको प्रकाशन प्रशारणमा गम्भीर असर प¥यो । यो समयमा क्षति व्यहोरेका मिडियाका लागि उचित राहत कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ।
आन्दोलनका बेला तथा अन्य सन्दर्भमा पनि पत्रकारमाथिको आक्रमण यथावत छ । मुलुकमा दण्डहीनताको अवस्था कायमै रहेको छ । स्वनियन्त्रण (सेल्फ सेन्सरसीप) जारी छ । श्रमजीवी पत्रकार ऐनको उल्लंघन भइरहेको मात्र होइन यसको कार्यान्वयन चुनौतिपूर्ण बनिरहेको छ । पत्रकार दुर्घटना बीमामा महासंघका सबै सदस्यको सहभागिता सुनिश्चित गर्नु यिनै विविध कारणले अवरोध सिर्जना भएको छ । यससँगै निर्भिक र स्वतन्त्र व्यवसायिक पत्रकारिता, संगठन शुद्धीकरण लगायतका विषयलाई हामीले महासंघको मुख्य चुनौति र आगामी दिनमा सामना र पूरा गर्नुपर्ने दायित्वका रुपमा लिएका छौं ।
मुलुकको यो जटिल परिस्थितिमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र एकताप्रति मिडिया जगत अझ बढी संवेदनशील हुनुपर्छ । जस्तोसुकै संकटको घडीमा पनि रत्तिभरी विचलित नभई पत्रकार आचारसंहिताको जिम्मेवारीपूर्वक पालना गर्न र स्वतन्त्र पत्रकारिताको व्यवसायिक धर्म निर्वाह सम्पूर्ण पत्रकार र सञ्चारमाध्यमको मुख्य दायित्व हो । यो दायित्वबाट झापाका पत्रकार र सञ्चारमाध्यम चुक्नु हुने छैन भन्ने हाम्रो विश्वास छ ।
प्रेस स्वतन्त्रता हननका घटना भन्दा बाहेक नेपाली पत्रकारिताको जगतमा केही खुशीका काम समेत भएका छन् । नेपाल पत्रकार महासंघको लामो समयको दबाबपछि नेपाल सरकारसँगको सहकार्यमा पत्रकार दुर्घटना बीमा शुरु भएको छ । जसअन्तर्गत पहिलो तथा दोस्रो चरणमा देशभरबाट १४७१ जना पत्रकारले सुविधा लिएका छन् भने तेस्रो चरणको पत्रकार दुर्घटना बीमाको कार्य अगाडि बढाइएको छ । पत्रकारहरुको उपचारका लागि सरकारी अस्पतालमा ५० प्रतिशत सौहुलियतको घोषणा भएको छ । यद्यपि त्यसको कार्यान्वयन हुन भने बाँकी छ । यही अवधिमा नयाँ आमसञ्चार नीति पनि जारी भएको छ । नेपाल पत्रकार महासंघको विधान संशोधनका साथै पत्रकार आचारसंहिता २०७३ पनि जारी भएको छ । नेपाली प्रेस जगतमा केही नीतिगत सुधार र प्रेस स्वतन्त्रताका दृष्टिले केही नयाँ कामहरु हुनु सकारात्मक पक्ष हो । पत्रकार र सञ्चारमाध्यमको भौतिक सुरक्षा, पत्रकारको पेशागत सुरक्षा, दण्डहीनताको अन्त्य र सेल्फसेन्सरसीपको अन्त्यका निम्ति सम्बन्धित निकायले गम्भीरतापूर्वक कार्य गर्नु जरुरी छ ।

झापाको अवस्थाः अवसर र उपलब्धि
झापामा केन्द्रित रहेर भन्नुपर्दा २०७० साल फागुन २५ गते बिर्तामोडमा भएको महासंघको ११औं अधिवेशनले अहिलेको नेतृत्वलाई निर्वाचित ग¥यो । २०७० चैत ५ गते पद हस्तान्तरणसँगै ठूलो ऋणभार र चुनौतिपूर्ण अवस्थाकाबीच नेतृत्व लिए पनि ती चुनौतिलाई सहज रुपमा सामना गर्दै पत्रकारको क्षमता अभिबृद्धि, पेशागत सुरक्षा तथा महासंघको संस्थागत विकासका क्षेत्रमा हामी क्रियाशील छौं ।
२०७० चैत ५ पछिको यो अवधिमा झापामा ९ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएका छन् । भूकम्पका कारण ८ वटा पत्रकार र सञ्चारगृह प्रभावितका घटना भए । भारतसँग सीमावर्ती तराई–मधेशको जिल्ला भएकाले आन्दोलन र नाकाबन्दीबाट प्रत्यक्ष प्रभावित रहे यहाँका सञ्चारकर्मी र सञ्चारमाध्यम ।
झापामा तीन सामुदायिकसहित १६ वटा एफएम रेडियो रहेका छन् । ९ वटा दैनिक पत्रिका नियमित प्रकाशन भइरहेकोमा केही समयदेखि झापा पोष्ट दैनिक बन्द छ भने ८ वटा नियमित छन् । साप्ताहिक पत्रिकाको संख्या १९ वटा रहेको छ । मासिक म्यागेजिन ४ वटा प्रकाशन भइरहेका छन् भने सूचना प्रविधिको बढ्दो विकाससँगै १६ वटा अनलाइन सञ्चालनमा छन् । २ वटा टेलिभिजन सञ्चालनमा छन् ।
महासंघ सम्पूर्ण पत्रकारहरुको छाता संगठन हो । महासंघ बाहेक झापामा भिन्न विचार, आस्था राख्ने, लिंग, समुदायका तथा क्षेत्रीय रुपमा र विटमा आधारित पत्रकारका २९ वटा संघ–संगठन क्रियाशील छन् । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, मिडिया नेपाल, संघीय प्रेस फोरम नेपाल गरी पाँच संगठन राजनीतिक विचार र आस्थाका आधारमा संगठित र क्रियाशील छन् । नारी सञ्चार गृह र क्रियाशील महिला पत्रकार समूह गरी दुई संगठन महिला पत्रकारका छन् । त्यस्तै आदिवासी जनजाति समुदायका पत्रकारको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, आदिवासी पत्रकारको छुट्टै संगठन आदिवासी पत्रकार संघ पनि झापामा क्रियाशील छ । त्यस्तै भिन्न समुदाय तथा जातीय रुपमा लिम्बू पत्रकार संघ, दलित पत्रकार संजाल, किरात राई पत्रकार संघ, नेवाः पत्रकार राष्ट्रिय देय दवुः, भूजेल पत्रकार मञ्च, धिमाल पत्रकार संघ पनि संगठित भई झापामा क्रियाशील छन् । क्षेत्रीय रुपमा प्रेस क्लबहरु क्रियाशील छन् । प्रेस क्लब भद्रपुर, शनिअर्जुन, मेचीनगर, सुरुङ्गा(कनकाई), शिवसताक्षी (सताक्षी), कनकाई र बिर्तामोड छन् भने भद्रपुरमा खोज पत्रकारिता मञ्च, काँकरभिट्टामा मेची बोर्डर जर्नालिष्ट एशोसिएसन, दमकमा दमक पत्रकार मञ्च रहेका छन् । विटमा आधारित पत्रकारका संगठन पनि झापामा छन् । हाल खेलकुद पत्रकार मञ्च र आर्थिक पत्रकार समाज क्रियाशील छ । त्यस्तै सञ्चारकर्मी सञ्चारगृहमा कार्यरत कर्मचारीको छुट्टै युनियन मिडिया कर्मचारी युनियन ‘युनिमी’ पनि झापामा क्रियाशील छ । साप्ताहिक, पाक्षिक पत्रिकाको सञ्जाल– नेपाली छापाखाना सञ्जाल (साप्ताहिक–पाक्षिक) पनि रहेको छ । केही बाहेक ती सबै संगठन सक्रिय छन् । उक्त संगठनबाट पनि पत्रकारको क्षमता अभिबृद्धि लगायतका सकारात्मक काम भइरहेका छन् ।
१२औं अधिवेशनमा नवीकरण भएका र नयाँ सदस्यता प्राप्तसहित २६८ जना पत्रकार महासंघको सदस्य रहेका छन् । योसहित ३००को हाराहारीमा पत्रकारको संख्या छ झापामा । राजधानी बाहिर बढी पत्रकार संख्या रहेको जिल्ला सम्भवतः झापा नै हो । महासंघको कार्य समिति १७ सदस्यीय र केन्द्रीय सभासद्को संख्या ३५ रहेको छ ।
निर्वाचित भएदेखि आजसम्मको ३ बर्षको अवधिमा महासंघ शाखाले ३३ वटा बैठक सम्पन्न गरेको छ । जस मध्ये २०७१ कात्तिक २८ गते शुक्रवार केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टको उपस्थितिमा १०औं बैठक गरियो भने चार वटा बैठक केन्द्रीय सभासद् र पत्रकारका विभिन्न संगठन प्रमुखको उपस्थितिमा गरिएको छ । श्रमजीवी पत्रकारको क्षमता अभिबृद्धि, पेशागत सुरक्षा र महासंघको भौतिक विकासका लागि महासंघ शाखाले बैठकबाट १५३ वटा निर्णय गरी कार्यान्वयन गरेको छ । कतिपय निर्णय कार्यान्वयनको चरणमा रहेका छन् । विभिन्न ६ निकायमा महासंघको संस्थागत प्रतिनिधित्व छ । यही वर्ष महासंघ झापाका संस्थापक सभापति डिल्लीराम निर्भिक र पूर्व केन्द्रीय सदस्य मदन ढकाललाई गुमाउदाको दुःखपूर्ण क्षण पनि हामीले व्यहोर्न पर्यो । उहाहरुसहित १८ जना पत्रकार परिवारमा परेको शोकमा महासंघको टोली समवेदना तथा श्रदाञ्जलि व्यक्त गर्न सम्वन्धित परिवारको निवासमै पुग्यो । महासंघ शाखाको बर्तमान नेतृत्वले श्रमजीवी पत्रकारको हकहित, सुरक्षा तथा सञ्चारगृहको समेत प्रबद्र्धन र क्षमता अभिबृद्धिका लागि ३६ वटा कार्यशाला, प्रशिक्षण तथा अन्तरक्रिया र अभियान सञ्चालन गरेको छ । जिल्ला विकास समिति, नगरपालिका, गाविस तथा अन्य निकायसँगको सहकार्यमा महासंघले पत्रकार र सञ्चारमाध्यम लक्षित गतिविधि सञ्चालन गर्नुका साथै महासंघ झापा शाखा जिल्लामा विविध सामाजिक र मानवीय सेवाका क्षेत्रमा नागरिक अगुवा संस्थाका रुपमा स्थापित र क्रियाशील रहिरहेको छ ।
महासंघको भौतिक सम्पत्तिको रुपमा भद्रपुरमा एक तले घर निर्माण गरी भाडामा लगाइएको छ । जुन महासंघको दीगो आयस्रोतको रुपमा रही आएको छ । महासंघको संस्थागत विकास र दीगो स्रोतका लागि उक्त संरचना निर्माणमा तत्कालीन समयमा पूर्व अध्यक्षहरु रामनाथ बाँस्कोटा, माधव विद्रोही र कृष्ण हुमागाईले निर्वाह गरेको भूमिका स्मरणीय छ । महासंघको कार्यालय बिर्तामोडस्थित बसपार्कमा रहेको एकतले भवनमा सञ्चालित छ । जहाँबाट कर्मचारीको रुपमा एक जना कार्यालय सचिवको व्यवस्था गरी महासंघका दैनिक कामकाज सम्पादन हुँदै आएका छन् । उक्त भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा तत्कालीन अध्यक्ष कृष्ण हुमागाई, भवन निर्माण प्रारम्भ गराउनुहुने तत्कालीन अध्यक्ष मोहन काजी, भवनलाई पूर्णता प्रदान गर्नुहुने निवर्तमान अध्यक्ष गणेश पोखरेल, निर्माण संयोजक तीर्थ सिग्देल तथा सदस्य एकराज गिरी,केशव भट्टराई, अनिल ढुंगाना, पार्थ मण्डल र दाताले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको छं । प्रेस काउन्सिल नेपाल तथा सांसद प्रेमबहादुर गिरीको सहयोगमा महासंघको कार्यालयमा आवश्यक उपकरण खरिद गरी मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ ।
(पत्रकार महासंघ झापाको १२ औं जिल्ला अधिवेशनमा सचिव गिरीले प्रस्तुत प्रतिवेदनको अग्रभागको सम्पादित अंश । गिरी सोही अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका छन्।)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 171

प्रतिक्रिया (०)