Aamsanchar

‘अरु एकपटक सेवा गर्ने मन छ’

Author Image
बिहिवार, चैत १०, २०७३

झापाको राजनीतिकवृत्तमा हर्कलाल गिरी कुनै चिनाइरहनु पर्ने नाम होइन । त्यसमाथि पनि बिर्तामोडमा उहाँको लोकप्रियता यसैबाट आँक्न सकिन्छ कि विगतमा उहाँ दुईपटक यहाँको नगरप्रुमख रहिसक्नु भएको छ । दुई कार्यकालमा उहाँले बिर्तामोडको विकास–निर्माणमा खेल्नुभएको भूमिकाले गर्दा उहाँकै नाममा जनताले एउटा बाटोको नाम नै हर्कलाल मार्ग राखिदिएका छन् । यस्तो उदाहरण सम्भवतः मुलकुभरि कहीँ पनि छैन । प्रस्तुत छ उहाँसँग समसामयिक विषयमा गरिएको संक्षिप्त वार्ता ः

राजनीतिमा कहिले र कसको प्रेरणाले आउनुभयो ?
– झापामा २०२४ सालमा भएको चर्चित एसपी शैलेन्द्र काण्डबाट राजनीतिमा सक्रिय भएर लागेको हुँ । जहाँसम्म प्रेरणाको कुरा छ त्यसमा जीतबहादुर पुरी, अम्बिका रिजाल, सीके प्रसाई, दिव्य भुर्तेलबाट प्रेरणा पाएको हुँ । उहाँहरुलाई म जहिले पनि आदर गर्दछु ।
कांग्रेसमा कुन पदमा हुनुहुन्छ ?
– कांग्रेसमा म केवल सक्रिय सदस्यमा रहेको छु । यतिमै म सन्तुष्ट पनि छु । पार्टीमा पनि पद ओगट्ने र स्थानीय निकायमा पनि पद ओगट्ने काम राम्रो होइन ।
त्यसो भए अबको स्थानीय निकायको चुनावमा उठ्ने विचार छ ?
– मेरो विचार त छँदैछ । यहाँका जनताको पनि विचार त्यही रहेछ भन्ने बुझेर अब एकपटक फेरि मेयरको पदमा रहेर जनताको सेवा गर्ने मन छ । मैले घरपरिवारको सेवा गरिसकें अब जन–सेवा मात्र गर्छु । त्यो पनि कुनै पक्ष–विपक्ष भएर होइन, निष्पक्ष भएर काम गर्नेछु । त्यसैले बिर्तामोडको चौकीदार भएर उभिने मेरो तीव्र इच्छा छ ।
यदि मेयर हुनुभयो भने बिर्तामोडलाई कस्तो बनाउने परिकल्पना छ ?
– बिर्तामोडलाई ५० वर्षपछिको सोच राखेर शहरभित्र छुने आवश्यक बाटो, ढल निकास, विद्युत्, दुरसञ्चार लगायत भौतिक संरचनाका लागि प्राविधिकहरुको रायसल्लाहमा र नगरबासीको सल्लाह–सुझाव लिएर काम गर्नेछु ।
बिर्तामोडलाई कस्तो बनाउने ? त्यसको खाका मसँग छ । बढीभन्दा बढी युवाशक्तिको परिचालन गरेर विकास निर्माण र रोजगारमूलक योजनाहरुलाई प्राथमिकता दिई निम्न आय भएका मजदुर–किसानका लागि पहिलो प्राथमिकता दिनेछु ।
पार्टीले तपाईंलाई टिकट दिन्छ त ?
– मलाई विश्वास छ । पार्टीले जनभावनाको कदर अवश्य गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर