Aamsanchar

झापामा ३०% क्षयरोगी ‘गायव’

Author Image
शनिवार, चैत १२, २०७३

नरेन्द्र ढकाल /पार्थ मण्डल
झापा ।

झापामा ३० प्रतिशत क्षयरोगी जिल्ला जनस्वास्थ्य कार्यालयको सम्पर्क बाहिर भएको पाइएको छ ।
जिल्लामा रहेका क्षयरोगी मध्ये ७० प्रतिशत सरकारी अस्पतालको पहुँचमा आए पनि अझै ३० प्रतिशत सम्पर्क वाहिर भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत दामोदर दाहालले बताए । बिरामीहरु सरकारी अस्पताल बाहेक केही निजी अस्पताल गए पनि अन्य कहाँ छन् भनेर खोजी शुरु गरेका छौं– उनले भने ।
गत आर्थिक वर्ष २०७२÷७३मा झापामा ३८० महिला र ७०६ पुरुष क्षयरोगबाट संक्रमित भएको उनले बताए । त्यस्तै चालू आर्थिक वर्ष २०७३÷७४ को प्रथम चौमासिक सम्मा १२७ महिला र २४५ पुरुषलाई यो रोग लागेको पत्ता लागेको कार्यक्रम अधिकृत दाहालले जानकारी दिए । उनले क्षयरोग अर्थात् टीभी रोग लागेको थाहा पाएपछि नियमित औषधि सेवन गर्नुपर्ने भन्दै नियमित औषधि सेवन गरे रोग निको हुने बताए ।
वर्षेनि २५ को मृत्यु
क्षयरोगका कारण झापामा बर्षेनि २० देखि २५ जनाको मुत्यु हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै झापा क्षयरोगका लागि उच्च जोखिममा रहेको बताइन्छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाले शुक्रवार क्षयरोग दिवसको अवसरमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा कार्यालयका क्षयकुष्ठ अधिकृत प्रमोद दाहालले प्रदेश नम्बर १मै झापा क्षयरोगको जोखिममा रहेको बताए ।
क्षयरोगबाट गत आर्थिक बर्ष ०७२।७३मा ५ महिला र १७ पुरुष गरी २२ जनाको ज्यान गएको छ भने चालू आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा एक महिलासहित ६ जनाको ज्यान गइसकेको अधिकृत दाहालले बताए । गत आवमा ३ सय ८० महिलासहित एक हजार ८६ जना क्षयरोग भएका बिरामी उपचार गराउन दर्ता प्रक्रियामा आएका थिए । चालू आवको कात्तिक मसान्त सम्म १ सय २७ जना महिलासहित ३ सय ७२ जना बिरामी उपचार गराउन दर्ता प्रक्रियामा आइसकेका छन् । क्षयरोग एक प्रकारका सरुवा रोग भएकोले झापा जिल्लामा बढी जनघनत्व भएका क्षेत्र बढी जोखिममा रहेको कार्यालयको तथ्यांकले देखाएको छ । जनस्वास्थ्य कार्यालयमा आवद्ध स्वास्थ्य संस्थामा दर्ता भए अनुसार दमकमा ५०, अनारमनीमा २७, सुरुङ्गामा २५, भद्रपुरमा र धुलाबारीमा १९÷१९, शनिश्चरेमा १७, काँकरभिट्टामा १५ जना क्षयरोगका बिरामी रहेका छन् ।
नेपालको कूल जनसंख्यामध्ये ४५ प्रतिशत मानिस क्षयरोगबाट संक्रिमत हुने गरेको छ । हाल नेपालमा ८० हजार क्षयरोगका बिरामी रहेकोमा हरेक बर्ष ५देखि ७ हजारले ज्यान गुमाउँदै आएका छन् ।
सरुवा रोग
क्षयरोग सरुवा रोग भएकाले एक व्यक्तिलाई लागेपछि घर परिवारका सबै सदस्यले ध्यान दिनु पर्ने दाहालको भनाइ छ । उनले भने– श्वासप्रश्वासको माध्यमबाट समेत यो रोग सर्ने भएकाले सबै सचेत हुनुपर्छ ।
गाउमा भन्दा शहरमा बढी रोगी
झापाका गाउँमा भन्दा शहरमा क्षयरोगी धेरै रहेको कार्यक्रम अधिकृत दाहालले जानकारी दिए । उनका अनुसार ५१ वटा स्वास्थ्य संस्थाको रिपोर्ट हेर्ने हो भने दमक, विर्तामोड, सुरुङ्गा, धुलाबारी, शनिश्चरे, काँकरभिट्टा, बाहुनडाँगी लगायतका स्थानमा यो रोगका विरामी धेरै रहेको पाइएको छ । जहाँ मानिसको भीडभाड हुन्छ त्यहाँ यो रोगको संक्रमण धेरै हुन्छ– दाहालले भने ।
झापामा रोगी खोज्दै जनस्वास्थ्य
झापामा अझै सम्पर्कमा नआएका ३० प्रतिशत विरामीको खोजी शुरु गरिएको उनको भनाइ छ । दाहालका अनुसार यो वर्षबाट रोग लागेका व्यक्तिको परिवारका सदस्यको खकार जाँच्ने काम शुरु भएको छ भने त्यस क्षेत्रमा गएर जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन भइरहेको छ ।
क्षयरोगविरुद्धको दिवस मनाइयो
विश्व क्षयरोगविरुद्धको दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी शुक्रबार मनाइएको छ । हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ । क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो ।
श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुने चिकित्सकहरुले बताएका छन् । एक जना क्षयरोगीले समयमा औषधि नगर्दा एक वर्षमा अरु १०देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन् । सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, राति पसिना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिन या केही महिनासम्म देखिन्छ ।
यस्तो बेला तत्काल परीक्षण गराएर औषधि शुरु गरिहाले रोगबाट जोगिन सकिने चिकित्सकको सुझाव छ । क्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाह हुने बित्तिकै नियमित औषधि सेवन गरे यसबाट जोगिन सकिने जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुधन कोइरालाले बताए । औषधि नियमित खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधिको नियमिततामा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।
यो क्षयरोग जुनसुकै उमेर समूहका ब्यक्तिलाई लाग्ने भएकाले सबैले सचेतना अपनाउनुपर्ने जनस्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी देवराज कार्कीले जानकारी दिए । यसैबीच चिकित्सकहरुले भीडभाडमा हिँड्दा माक्स लगाएर मात्र हिँड्न सुझाव दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर