स्मृतिमा एसएल शर्माः जसले झापामा पत्रकारिताको बीऊ रोपे

एकराज गिरी
उपाध्यक्ष
नेपाल पत्रकार महासंघ झापा

बुधबार चैत १६ गते हामी नेपाल पत्रकार महासंघको ६२औं स्थापना दिवस मनाउँदैछौं । कृष्णप्रसाद भट्टराई संस्थापक सभापति भई २०१२ साल चैत १६ गते अर्थात् सन् १९५६ मार्च २९ मा नेपाल पत्रकार महासंघको स्थापना भएको हो । झापामा भने यसको ३४ वर्षपछि २०४६ साल पुस ९ गते महासंघको शाखा गठन भएको हो । झापा शाखाको संस्थापक सभापति डिल्लीराम निर्भिक थिए । स्थापना दिवसलाई झापा शाखाले विशिष्ठ ढंगले मनाउँदै आएको छ– प्रेस स्वतन्त्रता सेनानी एसएल शर्माको स्मृतिमा स्थापित ‘एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार’ र उनकी श्रीमती पार्वतीदेवी शर्माको स्मृतिमा स्थापित ‘पार्वती पत्रकारिता प्रोत्साहन पुरस्कार’ समेत वितरण गरेर । प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारको पक्षमा सशक्त वकालत र अग्रणी अभियान सञ्चालन गर्दै आएको नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा यस कार्यक्रमलाई जोड्नुले महासंघ र आम पत्रकारको गरिमा बढेको छ । पत्रकार आचारसंहिताको कार्यान्वयन तथा नेपाली पत्रकारिताको मर्यादा र प्रतिष्ठालाई उच्च बनाउँदै समाज रुपान्तरणका लागि महासंघले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । यो अभियानमा महासंघ झापा शाखा अग्रणी नै छ ।


१९८३ साल असारमा वीरगञ्जमा जन्मिएर प्रेस स्वतन्त्रताका लागि अतुलनीय योगदान पु¥याएका शर्माको निधन २०६० साल साउन ६ गते भएको थियो । बुबा मेजर रामचन्द्र शर्मा पुरोहित र आमा रुक्मिणी उनी शिशु अवस्थामा हुँदै स्वर्गीय भए । त्यसैले शर्माको बाल्यजीवन कठाङ्ग्रिएर नै बितेको थियो । शर्माको विवाह १९९९ सालमा १६ वर्षको उमेरमा १३ वर्षीया पार्वतीदेवीसँग भयो । यी दम्पत्तिबाट तीन छोरा र पाँच छोरी जन्मे । उनका जेठा छोरा राजेन्द्र शलभ पनि साहित्यकार र सञ्चारकर्मी भए । कान्छा भाष्कर पनि सञ्चारकर्मी । एसएल शर्माको योगदान र स्मृति ताजा राख्न श्रीमती पार्वती, छोरा राजेन्द्र शलभ, दिवाकर, भाष्कर, छोरी विमला, विनोद, निर्मला, शान्ति, सुनिता तथा शर्मा परिवारको अगुवाइमा ‘एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार’ को स्थापना २०६२ सालमा भएको हो । १९८७ सालमा जन्मिएर प्रेस स्वतन्त्रताका लागि अतुलनीय योगदान पु¥याउने एसएलकी सहयात्री पार्वतीदेवीको निधन २०६५ सालमा भएको थियो । एसएलको पत्रकारिता जीवनमा पार्वतीदेवीले योगदान पु¥याए झैं अरु पत्रकारलाई पत्रकारिता गर्न सहयोग पु¥याउने श्रीमतीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘पार्वती पत्रकारिता प्रोत्साहन पुरस्कार’को स्थापना २०६६ सालमा भएको थियो । पुरस्कारको राशी क्रमशः २१ हजार र ११ हजार तथा सम्मानपत्र रहेको छ ।
शुरुमा काठमाडौं र त्यसपछिका वर्षहरुमा झापामै यो पुरस्कार वितरण हँुदै आएको छ । २०६६ सालसम्म अरु नै समयमा पुरस्कार वितरण भए पनि २०६७ देखि उक्त पुरस्कार हरेक वर्ष महासंघ स्थापना दिवसका अवसरमा प्रदान गरिँदै आएको छ । २०६७ यता हरेक वर्ष एसएल शर्माको देहावसान भएको दिन साउन ६ गते सो वर्षका लागि पुरस्कारको निर्णय भई चैत १६ महासंघ स्थापना दिवसमा वितरण गर्ने कार्यतालिका अनुसार काम हुँदै आएको छ । बिर्र्तामोडमा विशेष समारोहका बीच यसवर्षको ‘एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार’ २०४२ सालबाट पत्रकारितामा क्रियाशील भद्रपुर निवासी राजबाबु शंकरलाई प्रदान गरिँदैछ । त्यस्तै ‘पार्वती पत्रकारिता प्रोत्साहन पुरस्कार’ यस वर्ष २०५० सालबाट पत्रकारितामा क्रियाशील अर्जुनधारा निवासी पत्रकार रमेश समदर्शी राईकी श्रीमती अमिता राईलाई प्रदान गरिँदैछ ।
‘एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार’बाट यसअघि कृष्ण धरावासी, लीला उदासी, चन्द्र भण्डारी, गोविन्दचन्द क्षेत्री, चिन्तामणि दाहाल, कृष्ण हुमागाँई, गोपाल गिरी, गोपाल गड्तौला, भीम नेम्वाङ, मोहनकाजी, लक्ष्मण ढकाल र नकुल काजी पुरस्कृत भइसकेका छन् ।
त्यस्तै ‘पार्वती पत्रकारिता प्रोत्साहन पुरस्कार’ बाट पत्रकार लीला बरालकी श्रीमती कुन्ता बराल, पत्रकार मदन ढकालकी श्रीमती सावित्रा ढकाल, पत्रकार माधव विद्रोहीकी श्रीमती सञ्जु भण्डारी, पत्रकार अमृतलाल श्रेष्ठकी श्रीमती नीलु श्रेष्ठ र पत्रकार दिपीन राईकी श्रीमती लीला राई, पत्रकार लेखनाथ परदेशी शिवाकोटीकी श्रीमती कृष्णकला पाठक शिवाकोटी र पत्रकार गञ्जबहादुर दाहालकी श्रीमती कल्याणी दाहाल पुरस्कृत भइसकेका छन् ।
यो अवसरमा उनको परिचय र योगदानको चर्चा गर्नु सान्दर्भिक हुन्छ । मुलुकमै प्रेस स्वतन्त्रताका लागि अग्रणी भूमिका खेलेका एसएल शर्मा महासंघ झापा शाखाका संस्थापक सल्लाहकार पनि हुन् । उनी २००९ सालमा नेपाल पत्रकार संघको केन्द्रीय सदस्य थिए । २०१२÷०१३ सालमा युपिआईको काठमाडौं प्रतिनिधि र हिन्दुस्तान समाचार समितिको प्रतिनिधि थिए । २०५६ सालमा नेपाल पत्रकार महासंघको केन्द्रीय परामर्शदाता समेत भए । शर्मा परिवारले एसएलको स्मृतिमा पुस्तक नै प्रकाशन गरेको छ । मैले पत्रकारिता शुरु गरेको छ वर्ष लाग्दै गर्दा उनको देहावसान भयो । उनीसँग लामो भेटघाट नभए पनि पुस्तक अन्य सामग्री अध्ययन, परिवारजन निकटस्थहरुसँगको भलाकुसारीबाट उनीबारे धेरै कुरा उजागर गर्न सकिन्छ । २०५८ सालमा सन्तोष अग्रवाल मार्फत् उनको अनुसन्धान नामक पुस्तक मेरो हात परेपछि नजिकबाट मैंले उनलाई चिन्ने मौका पाएँ । एसएल शर्माका जीवनका अनेक पाटाहरू थिए । तीमध्ये समाजसेवा, साहित्य, पत्रकारिता, राजनीति प्रमुख हुन् । साहित्यमा उनको आफ्नैपन थियो । अनुसन्धानात्मक खोजपूर्ण लेखहरू तयार गर्न उत्सुक रहने शर्माले नेपाली साहित्यको यस क्षेत्रमा महत्वपूर्ण योगदान दिएको पाइन्छ । झापाका धेरै पत्रकारका प्रेरक र श्रोतका रूपमा थिए एस.एल. शर्मा । उनी कमाउनपट्टी लागेनन् । सादा जीवन र उच्च विचारका धनी शर्मा आफ्नो सरलताका कारण सबै परिचितहरूका प्रिय थिए । साहित्य, पत्रकारिता, समाजसेवा, राजनीतिजस्ता क्षेत्रमा शर्माले धेरै काम गरे, जसको प्रतिफल आगामी पुस्ताले, समाजले पाइरहनेछ । आज पनि उनलाई पत्रकार साहित्यकारहरु अभिभावक तथा प्रेरक व्यक्तित्वका रुपमा हेर्छन् । वरिष्ठ अधिवक्ता लीला उदासी भन्छन्– ‘झापाका मान्छेको मन–मस्तिष्कमा शर्मा सजिएर बसेका छन्, हट्न सक्दैनन् । एस. एल. शर्मा चिरकालपर्यन्त झापालीको स्मृतिबाट हट्दैनन् ।’
नइ प्रकाशनले उनीबारे लेखेको छ– शर्मा बोलिका नरम, विचारका स्वच्छ अनि सिद्धान्तका लखपति थिए । उनको सिद्धान्त राष्ट्रवादमा आबद्ध थियो तर उनी वसुधैव कुटुम्बकम्का हिमायती थिए । इमानजवान उनको जीवनको मुख्य विशेषता थियो । तर उनी कसैसँग झुक्दैन थिए र अरुलाई आफूसँग पनि झुकाउने इच्छा राख्दैन थिए । उनी तराई मुलका थिए तर बाँचुञ्जेल उनले प्रायः दौरासुरुवाल, कोट र टोपी नै लगाए । शर्मा छ फुट दुई इञ्च उचाईका थिए । उनी आफ्नो शारीरिक उचाईको विचार राख्थे, मान्छेको आदर पनि त्यस्तै गर्थे र सकेको सेवा पनि त्यतिकै गर्थे ।
२००७ सालपछि शर्माले झापाको भद्रपुरमा एउटा किराना पसल खोले । त्यस पसलको नाउँ शर्मा मोहिनी स्टोर थियो । त्यस पसलबाट परिवार धान्न नसकेपछि उनले साथी बिंडी फ्याक्ट्री पनि खोले । केही वर्ष चलेर त्यो पनि बन्द भयो । अनि उनले आफ्नै घरमा शर्मा प्रिन्टिङ प्रेसको सञ्चालन गरे । मेची नदीको किनारमा नै टाँसिएको भद्रपुर बजारमा शर्माले घर बनाए । शर्मा निवास भनेपछि त्यो घर प्रख्यात थियो । त्यही घरमा साहित्यकार, पत्रकार र राजनीतिज्ञको भीड लाग्थ्यो ।
शर्माले २००४ सालमै पत्रकारिता शुरु गरेका थिए । बनारसको विद्यार्थी जीवनकालमा उनलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले काखी च्यापे । त्यसैले शर्मा युगवाणीमा घुसे । त्यही सीप ल्याएर उनले झापामा पत्रकारिताको बीऊ रोपे । सँगै थिए श्यामकृष्ण उपाध्याय । उनैले डिल्लीराम निर्भीकदेखि नकुलकाजी हुँदै मदन ढकालसम्मलाई पत्रकारितामा प्रवेश गराउने बाटो बनाए । अन्ततः झापामा वैज्ञानिक पत्रकारिताको जग उनैबाट शुरु भयो । शर्माको लेखन बनारसीयात्रादेखि नै आरम्भ भएको थियो । तर, उनको पहिलो पुस्तक २०१० सालमा प्रकाशित भएको थियो । उनले हिन्दी र नेपाली गरेर सातवटा पुस्तक प्रकाशित गरे भने यिनका विविध विषयमा आधारित पाँचसय जति फुटकर लेख–रचना प्रकाशनमा आए । उनले तीनदर्जन जति पत्रपत्रिकामा आफ्ना लेख–रचना प्रकाशित गरे । खास गरेर झापाको जनजाति सतार, बातर, धिमाल, मेचे र राजवंशीहरुको परिचय गराउने गुरुत्तर भूमिका शर्माको नै थियो । उनैले ती जातिको जीवनस्तर उकास्न पनि आफ्नो बुता लगाएका थिए । साथै नेपालका पचहत्तरै जिल्लाको सांस्कृतिक कुरा शर्मा प्रायः फररर भन्न सक्थे ।
शर्माको राजनीतिका जीवन २००३ सालमा कोलकाता, भवानीपुरको कलेजको सम्मेलनबाट शुरु भयो । त्यसपछि अर्थात् २००६ सालमा आफ्नो घर गएताका राणा सरकारले उनलाई सर्वस्व हरणसहित ज्यूँदै समाउने आदेश दिएपछि उनी आफ्नो नाउँ बदलेर झापा पसे ।
राणाको विरोधमा लाग्नेक्रममा शर्माको झापा आन्दोलनका कमाण्डर भैरवप्रसाद आचार्यसँग भेट भयो । त्यही परिवेशमा झापा कब्जा गर्ने काममा उनको पनि अतुलनीय भूमिका जोडियो । अनि २००७ साल माघ १४ गते स्थापित नेपाल प्रजातान्त्रिक सामयिक सरकारका प्रमुख तथा फौजी गभर्नर भैरवप्रसाद आचार्यको सरकारमा शर्मा व्यवस्थापक थिए । त्यसबेला उनका अर्का सहयोगी दान खालिङ पनि थिए ।
एउटा घटना स्मरणीय छ– उनी राजनीतिक संगठनमा सक्रिय भइरहेका बखत २०२५ सालमा मेची अञ्चलाधीशको सिफारिसमा प्रधानमन्त्री सूर्यबहादुर थापाद्वारा उनको नागरिकता हरण गरियो । त्यसपछि उनलाई एक वर्ष काठमाडौंमा नजरबन्द गरियो । यो कुरा राजा महेन्द्रका कानमा जस्ताको त्यस्तै पुग्यो । अनि कीर्तिनिधि बिष्ट प्रधानमन्त्री हुनेबित्तिकै उनलाई काठमाडौंबाट स–सम्मान भद्रपुर पठाउने व्यवस्था गरियो र उनको गुमेको नागरिकताको प्रमाणपत्र पनि इज्जतका साथ फिर्ता गरियो । शर्माको राजनीतिक जीवनमा धेरै उतारचडाव आए । तर उनी विचलित नभई देशभक्ति अभियानमा लागिरहे । सादा जीवन उच्च विचार, स्वाभिमानमा हमेशा अडिग, राष्ट्र, राष्ट्रियता र देशभक्ति शर्माबाट सिक्नुपर्ने गुण हुन् । अरु थुप्रै विशेषता र प्रेरक तथा अनुकरणीय विषय छन् । शर्माले देखाएको बाटो अवलम्वन गर्नसक्नु महासंघ स्थापना दिवसको सार्थकता पनि हो । जीवनकालमा शर्माले अवलम्वन गरेको बाटोमा हिंड्नु अहिलेको आवश्यकता हो । यो नै शर्मा दम्पत्तिप्रतिको सम्मान अनि सञ्चारकर्ममा लागेकाहरुको कर्तव्य पनि ।

[email protected]

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com