Aamsanchar

कक्षा १२ को परीक्षा वैशाख १० देखि

Author Image
मङ्गलवार, वैशाख ५, २०७४

काठमाडौं ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ को परीक्षा) यही वैशाख १० देखि २२ गतेसम्म सन्चालन हुने भएको छ ।

शिक्षा नियमावली आठौं संशोधनपछि कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी भनिएको छ । यसअघि कक्षा १० को अन्तिम परीक्षालाई एसएलसी भनिन्थ्यो ।राष्ट्रिय परीक्षा बोर्ड गठनपछि पहिलोपटक सन्चालन हुन लागेको परीक्षाको सबै तयारी पूरा भएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।

परीक्षामा सम्बन्धन प्राप्त क्याम्पस तथा दश जोड दुई विद्यालयका तीन लाख ५३ हजार १२ परीक्षार्थी सहभागी हुनेछन् ।तीमध्ये छात्र एक लाख ७६ हजार ६ सय १२ र छात्रा एक लाख ७६ हजार चार सय छन् । देशभर ९ सय ९० परीक्षा केन्द्र निर्धारण गरिएको छ । यसमा सबैभन्दा बढी काठमाडौंमा एक सय १० र सबैभन्दा कम मनाङ/मुस्ताङमा एक/एक केन्द्र निर्धारण गरिएको छ ।

परीक्षा सन्चालनमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कार्यालय सहयोगी तथा सुरक्षाकर्मी गरी ३५ हजार परिचालन हुने जनाइएको छ ।बोर्डले ९० दिनभित्र परीक्षाको नतिजा प्रकाशन गर्ने जानकारी दिएको छ ।गत वर्ष सन्चालित दश जोड दुईको परीक्षाफलमध्ये व्यवस्थापन विषयको एक सय सात दिन र विज्ञान विषयको ८७ दिनमा नतिजा सार्वजनिक भएको थियो ।

परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित बनाउन शिक्षा मन्त्रालयका सचिव एवं बोर्डका उपाध्यक्ष शान्तबहादुर श्रेष्ठका अध्यक्षतामा सोमबार नै बैठकसमेत सम्पन्न भएको थियो ।

बैठकले परीक्षा अवधिभर बन्द, हड्ताल नगरी भयरहित वातावरणमा परीक्षा सन्चालनमा सहयोग पुर्‍याउन राजनैतिक दल, तिनका भ्रातृसंगठन, अभिभावक, शिक्षक एवं सरोकार भएका सबैमा आग्रह गरेको छ ।सचिव श्रेष्ठले परीक्षालाई सफल बनाउन सरकारी संयन्त्र पूर्णरुपमा परिचालन गरिने जानकारी दिए ।

यसपटकको परीक्षामा प्रजिअका अध्यक्षतामा प्रत्येक जिल्लामा गठित परीक्षा समन्वय समितिलाई पूर्ण जवाफदेही र अधिकारसम्पन्न बनाइएको तथा परीक्षामा अमर्यादित काम–कारबाही गर्ने व्यक्तिलाई ६ महिना कैद र रु एक लाखसम्मको जरिवानाको व्यवस्था गरिएको उनले जानकारी दिए । रासस

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर