Aamsanchar

बिर्ता सिटीमा निःशुल्क हेमोडायलासिस सेवा

Author Image
मङ्गलवार, असार ६, २०७४

बिर्तामोड।

सरकारले निःशुल्क उपलब्ध गराउने भनेको मृगौला रोगीका लागि निःशुल्क हेमोडायलासिस सेवा अब झापाको बिर्तामोडमा रहेको पूर्ण–टुङ्ग बिर्ता सिटी हस्पिटलले सेवा प्रारम्भ गरेको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय र पूर्ण–टङ्ग विर्ता सिटी हस्पिटलबीच सम्झौता भएसँगै सो सेवा सोमवारबाट निःशुल्क उपलब्ध गराउन शुरु गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अनिलकुमार वस्नेतले बताए । २०७१ सालबाट अस्पतालले पूर्वमा पहिलोपटक निजी क्षेत्रबाट मृगौला रोगीका लागि हेमोडायलासिस सेवा प्रदान गर्दै आएको थियो । तीन वटा मेसिन राखेर अस्पतालले दैनिक १०–१२ जना मृगौला रोगीको हेमोडायलासिस गर्दै आएको र हाल ४५ जनाले हप्तामा दुईदेखि तीन पटकसम्म यो सेवा लिइरहेको डा. बस्नेतले जानकारी दिए ।
झापामा दिन प्रतिदिन मृगौला रोगीको संख्या थपिँदै गएको र २० देखि ३० वर्ष उमेर समूहका ५ –६ जनाले नियमित मृगौलाको हेमोडायलासिस गर्दै आएको उनको भनाइ छ ।
मधुमेह र रक्तचापका रोगीमा मृगौला छिट्टै बिग्रने समस्या देखिएको छ– डा. बस्नेतले भने–‘नेपालको कूल जनसंख्याको ९ प्रतिशत मानिसमा यो समस्या छ, विशेषगरी खानपानमा ध्यान नदिँदा मृगौला चाँडै ड्यामेज हुन्छ ।’ अस्पतालमा बिरामीको चाप बढेको र सेवालाई थप प्रभावकारी बनाउन केही दिनभित्रै अस्पतालले अर्काे पनि मेसिन सञ्चालनमा ल्याउन लागेको डा. बस्नेतले जानकारी दिए ।
झापामा यस अघि मृगौला रोगीका लागि निःशुल्क हेमोडायलासिस सेवा भद्रपुरमा रहेको ओमसाई पाथीभरा अस्पतालले उपलब्ध गराउँदै आएको छ ।
झापामा आर्थिक वर्ष २०७३÷०७४मा ५८ जना मृगौला रोगी थपिएका छन् । जसमा १९ महिला र ३९ पुरुष छन् । उनीहरूले साताको दुई पटकसम्म नियमित हेमोडायलासिस गराउँदै आएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६६÷०६७मा ३४ जना ,२०६७÷०६८ मा ४८, २०६८÷०६९ मा ३६, २०६९÷०७० मा ४०, २०७०÷७१ मा ५२, २०७१÷७२ मा ६५ र २०७३÷०७४मा ६५ जना मृगौला रोगी थपिएका छन् ।
एकपटक मात्र हेमोडायलासिस गराउँदा सेवा शुल्क रु. दुई हजार पाँचसय, औषधि, रगत र बोतल किन्दा झण्डै रु. पाँच हजार रुपैयाँ खर्च हुने गरेको मेनपा निवासी मृगौला रोगी अमृतलाल श्रेष्ठले बताए । उनी अहिले बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी अस्पतालबाट नियमित सेवा लिँदै आइरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर