Aamsanchar

मापदण्ड बिपरीत नाला निर्माण

Author Image
शनिवार, असार ३१, २०७४

भद्रपुर।

झापाको भद्रपुर नगरपालिकाले जारी गरेको मापदण्ड विपरीत सडक डिभिजन कार्यालय दमकले नगर क्षेत्रमा गुणस्तरहीन पक्की नाला निर्माण गरिरहेका छन् ।
भद्रपुर–६स्थित नेपाल टेलिकम कार्यालय अगाडि निर्माण भइरहेको पक्की नाला सडक डिभिजनले असारे बजेट सक्न मात्र खोजेको स्थानीयको आरोप छ । नजिकै रहेको झिलमिले खोलासँग जोड्ने उद्देश्यले निर्माण भइरहेको पक्की नाला मापदण्ड बमोजिम नबनेको स्थानीयको भनाइ छ । निर्माण भइरहेको नालामा गिटी, बालुका र सिमेन्टको मात्रा कम प्रयोग गर्नुका साथै तोकिएको इस्टीमेट अनुसार नबाइएको स्थानीय राजेश गुप्ताले आरोप लगाए ।

निर्माण भएको नालाको ढलान पनि एक किसिमको नबनाई सानो ठूलो बनाइएको छ । स्थानीयको पर्खाल भत्किने भएकोले नाला बाङ्गगो समेत बनाइएको छ । निर्माण भइरहेको नालाको गुणस्तर चेकजाँचको लागि कुनै कर्मचारी समेत खटाइएको छैन् र यस बारेमा नगरपालिकामा जानकारी गराउँदा पनि कुनै सुनवाई नभएको स्थानीय गुप्ताले बताए । निर्माण कम्पनीले रातारात नाला खनेर बजेट सक्न गुणस्तरहीन नाला निर्माणको काम गर्न थालेपछि स्थानीय विरोधमा उत्रिएका छन् ।
यता सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर माधव पौडेलका अनुसार निर्माण भइरहेको नालाको कूल लागत ३ लाख ५३ हजार ३ सय ८ रुपैयाँमा रहेको छ । यस नालाको ठेक्का जेएनजे कन्ट्रक्सन दमकले असार मसान्तमा सक्ने गरी सम्झौता गरेको इञ्जिनियर पौडेलले बताए । ११३ मिटर लम्बाइ नालामा २२ दशमलव ७ घनमिटर हुनुपर्ने उनको भनाइ छ । डिभिजन कार्यालयसँग कुनै ठोस मापदण्ड नरहेकोले स्थानीयको सहकार्यमा नाला निर्माण भइरहेकोले यस बारेमा आफूलाई कुनै जानकारी नभएको उनले बताए ।
यस बारेमा बुझेर मात्र केही भन्न मिल्ने उनको भनाइ छ । उनले भने– झापा जिल्लामा ४ लाखदेखि ८ लाख सम्मका साना योजनाका काम १ सय २० वटा रहेका छन् । सडक बोर्डले रातो किताबमा काम गर्नु भनी कार्यालयलाई तोकेर पठाएपछि फिल्डमा समस्या आउन थालेको उनले बताए । यसले सडकका कर्मचारीलाई समेत समस्या आउने गरेको उनको तर्क छ । त्यस्तै नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राईले सडकबाट बनाउँदै आएको नाला मापदण्ड अनुसार नबनेको जनगुनासो आउन थालेको बताए ।
नगरमा निर्माण हुने कामको बारेमा सडकले नगरपालिकालाई जानकारी समेत नगराएको उनको भनाइ छ । यस बारेमा नगर प्रमुखसँग सहकार्य गरेर निर्माण कार्यको निरीक्षण गरिने उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर