Aamsanchar

सशस्त्र प्रहरीको भवन उद्घाटन

Author Image
शनिवार, असार ३१, २०७४

भद्रपुर।

झापाको भद्रपुर–१स्थित पृथ्वीनगरमा नवनिर्मित सशस्त्र प्रहरी बल एलआरपी वोर्डर पोष्ट भवनको शुक्रवार एक समारोहकाबीच उद्घाटन गरिएको छ ।
सुरक्षाको दृष्टिकोणले अति संवेदनशील क्षेत्र मानिएका सो क्षेत्रका स्थानीयबासीको माग बमोजिम जनसहयोगमा करिव १५ लाखको लागतमा निर्मित भवनको उद्घाटन पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी) जानकीराज भट्टराईले गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै डिआइजी भट्टराईले नेपालका सीमा क्षेत्रमा सशस्त्र प्रहरी तैनाथ गर्नुपर्ने आवश्यक रहेको बताउँदै यसरी नै जनसहयोग प्राप्त भए स्थानीयको आवश्यकता अनुसार पोष्ट स्थापनाका लागि पहल गरिने बताए ।
स्थानीय जनताको सुरक्षाका लागि बोर्डर आउट पोष्ट स्थापना गर्न अहिले निर्वाचित जनप्रतिनिधिको पनि सहयोग आवश्यक देखिएको उनको भनाइ थियो । सर्वदलीय सशस्त्र प्रहरी बल स्थापना सरोकार समिति, भवन निर्माण र आर्थिक स्रोत व्यवस्थापन समितिको आयोजनामा भएको उद्घाटन कार्यक्रममा समितिले निर्मित भवन सशस्त्र प्रहरी संगठनलाई हस्तान्तरण समेत गरेका थिए ।
सरोकार समितिका अध्यक्ष विकेन्द्र लिम्बूको अध्यक्षतमा भएको कार्यक्रममा भवन निर्माण लागि निःशुल्क जग्गा दान दिएका जग्गादाता देवीबहादुर कार्कीलाई डिआइजी भट्टराईले दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका एसपी आनन्द नेम्बाङ, आर्थिक स्रोत व्यवस्थापन समितिका संयोजक शिवकुमार राजभण्डारी लगायतले बोलेका थिए ।
भारतीय नकाबधारी डाका समूहले हत्या र लुटपाट गरी आतंक मच्चाउन थालेपछि स्थानीयबासीले सुरक्षाको लागि सशस्त्र प्रहरीको माग गरेका थिए । स्थानीयको माग बमोजिम सीमा सुरक्षा कार्यालय झापाले एक जना प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरीको दरबन्दी कायम गरी २०७३ साल असोज २९ गते त्यहाँ पठाएको थियो ।
स्थानीयले घर भाडामा लिएर सशस्त्र प्रहरी राख्दै आएको अवस्थामा स्थानीयकै जनसहयोगमा भवन निर्माण गरी सशस्त्र प्रहरीलाई दीर्घकालीन रुपमा राख्न सफल भएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)