Aamsanchar

गोर्खाल्याण्डका घाइते बीएण्डसीमा

Author Image
बुधवार, साउन ४, २०७४

बिर्तामोड।

गोर्खाल्याण्ड आन्दोलनले उग्ररुप लिएपछि त्यहाँका बिरामीलाई समस्या भएको छ । आन्दोलनका क्रममा घाइते हुनेहरु भारतमा उपचार गराउन छाडेर अहिले नेपाल आउन थालेका छन् ।
औषधि उपचार गर्न समेत समस्या सिर्जना भएपछि उनीहरु नेपालीको सहयोगमा नेपालको अस्पतालमा उपचारका लागि आउन थालेका हुन् । मिरिक– ७ का ३८ वर्षीय आनन्द तामाङ झडपको क्रममा घाइते भए । उनको उपचार भारतको शिलगढीमा सहज हुने भए पनि आन्दोलनका कारण उपचारका लागि लैजान असहज भएपछि पशुपतिनगरका नेपालीको सहयोगमा उनलाई झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याइएको छ ।
छाती, घाँटी र हातमा खुकुरीले काटेर गम्भीर चोट लागेका उनलाई पशुपतिनगरका नेपालीले उद्धार गरी बीएण्डसी अस्पतालमा ल्याएका हुन् । चिन्ताजनक अवस्थामा अस्पताल ल्याइपुर्याएका तामाङ अहिले औषधि उपचारपछि स्वास्थ्य लाभ गरिरहेका छन् । उनलाई सोमबार राति आन्दोलनका क्रममा खुकुरीले काटिएको र आइतबार राति ११ बजे अस्पताल ल्याइपुर्याएको बताइएको छ ।
घाइते तामाङको उपचार डा. बासु बास्कोटा र डा. सन्दिप अधिकारीले गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए । गोर्खाल्याण्डमा आन्दोलन चर्किएपछि त्यहाँका अस्पतालमा उपचार समेत गराउन असम्भव भएपछि धमाधम बिरामीहरु नेपाल आउन थालेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)