Aamsanchar

ख्याल गर्नु है फैलँदै छ हेपाटाइटिस ‘डी’

Author Image
शुक्रवार, साउन १३, २०७४

काठमाडौँ।

हेपाटाइटिस ‘डी’ को संक्रमण बढिरहेको छ । अन्य हेपाटाइटिसभन्दा ‘डी’बाट बढी संक्रमित भइरहेको तर यसबारे धेरैले ध्यान नदिएकाले यसबारे विषयमा बहस गर्नुपर्ने समय आएको शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पछिल्लो समय हरेक दिनजसो टेकु अस्पतालमा हेपाटाइटिस ‘डी’का संक्रमित आउने गरेका छन्, यौनसम्पर्क र रगतका माध्यमबाट हुने यस रोबारे धेरै व्यक्ति अनभिज्ञ भएकाले उपचारमा पनि निकै कम आउने गरेका छन् ।” आज विश्व हेपाटाइसिटस दिवस मनाइँदैछ ।
सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने व्यक्तिले रगत जाँच गराउँदा ‘डी’को संक्रमण भेटिएको डा पुनको भनाइ छ । सुत्केरीको रगत जाँच गर्दा र रक्तदानलगायत नर्स पनि यसको उच्च जोखिममा रहेको छ ।
सामान्यतया वाकवाक लाग्ने, खानमा रुचि नहुने, आँखा र पिसाब पहेँलो हुने, दाँया कोखामा अप्ठेरो हुने लगायत लक्षण देखापर्दा धेरैले ग्यास्ट्रिकको शंका गर्ने भएकाले पनि यसको उपचारमा नजाने चिकित्सक बताउँछन् । ग्याष्ट्रो एण्ड हेपाटोलोजी कन्सल्टयान्ट फिजिसियन प्रा डा विधाननिधि पौडेलले हेपाटाइटिस ‘डी’ अपूर्ण आरएनए नामक भाइरसबाट सर्ने हेपाटाइटिस भएको बताउँदै भन्नुभयो, “यो हेपाटाइटिस बीसँगै वा बी भइसकेकालाई मात्र संक्रमण गर्छ ।
यी दुवै हेपाटाइटिस शरीरमा मिल्दा खतरा हुन्छ, यसले छिटो सिरोसिस र क्यान्सर हुने सम्भावनालाई बढाउँछ, कतिपय अवस्थामा हेपाटाइटिस ‘बी’ को उपचार हुँदा यसको पनि उपचार हुन्छ ।” यदि छिटो सिरोसिस र क्यान्सर भएमा कलेजो प्रत्यारोपणको विकल्प नहुने चिकित्सकको भनाइ छ । यो रोगबाट बच्न यसको खोप लगाउनुपर्छ ।
हेपाटाइटिस ‘ए’ र ‘इ’ 
विश्वमा मुख्य पाँच हेपाटाइटिस देखिएका छन्– हेपाटाइटिस ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ । यी सबै हेपाटोट्रोपिक नामक भाइरसबाट लाग्छ । यो भाइरसको संक्रमणबाट हुने कलेजोको रोग हो । रोग लागेपछि कलेजो सुन्निने, फुल्ने, पछि गएर खुम्चिने र पाचन प्रणालीबाट कलेजोमा जाने रक्तनली थुनिने हुन्छ ।

डा पुनले गर्मीमा देखिने हेपाटाइटिस ‘इ’अर्थात् भाइरस हेपाटाइटिसले गर्भवतीलाई बढी असर गर्ने बताउनुहुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार गर्भवतीको मृत्युमध्येको ३० प्रतिशत मृत्यु हेपाटाइटिस ‘इ’ अर्थात् भाइरस हेपाटाइटिसको कारणबाट हुने गरेको छ ।
हेपाटाइटिस ‘ए’ र ‘इ’ प्रदूषित पानी, संक्रमित मानिसको दिसा, राम्ररी नपाकेका खानेकुरा खाँदा र ¥यालबाट पनि सर्न सक्छ । वर्षात्को पानी प्रयोग गर्दा यो रोग लाग्ने सम्भावना रहन्छ । यो विद्यालयका बच्चा र भीडभाड हुने स्थानमा बढी देखिन्छ । एउटै शौचालय प्रयोग गर्दा, सरसफाइ नहुँदा र दूषित पानी प्रयोग गर्दा रोग फैलन सक्ने सम्भावना रहन्छ । काठमाडौँ जस्तो शहरमा पानी र ढलको पाइप एकै स्थानमा हुँदा रोगको महामारी फैलन सक्ने खतरा सधैँ रहेको चिकित्सकले बताउँदै आएका छन् ।
डा पौडेलले भन्नुभयो, “हेपाटाइटिस ‘ए’ र ‘इ’ गर्भवतीलाई भएको खण्डमा कलेजो फेल भई गर्भ तुहिने र मृत्यु हुने खतरा बढी हुन्छ, विश्वमा हेपाटाइटिस ए को सुई भए पनि नेपालमा उपलब्ध छैन, ‘इ’ को सुई आजसम्म नबनेकाले रोग लाग्ने कारणबाट बच्नु नै उत्तम उपाय हो ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर