Aamsanchar

स्वाईन फ्लु शंका लाग्यो ? के गर्ने ?

Author Image
बुधवार, साउन १८, २०७४

काठमाडौं,

केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा स्वाईन फ्लु देखिएको छ । गएको असार मध्यतिर नै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा यो सिजनको पहिलो स्वाईन फ्लु देखा परेको हो । यसलाई इनफ्लुन्जा ए  ‘एच वन ए वान’ प्यानडेमिक २००९ भनिने गरिन्छ । सन् २००९ मा पहिलो पल्ट देखा परेको यो भाइरस हाल हरेक सिजनमा देखिने गरेकोले यसलाई मौसमी फ्लु पनि भन्ने गरिन्छ । यो सिजनको मौसमी फ्लु अझै केहि हप्तासम्म देखिन सक्नेछ ।

सुरुको समयमा यो विश्वब्यापी रुपमा फैलिएको र सयौंको ज्यान लिएकोले सर्वसाधारण फ्लु भाइरसको नाम सुन्ने बित्तिकै डराउने गर्दछन् । तर सुरुमै यसको शंका गर्ने बितिकै स्वास्थकर्मीको परामर्श लिएर उपचार गरे रोग जटिल हुन पाउँदैन ।

कसरी स्वाईन फ्लुको शंका गर्न सकिन्छ त ?

१) नेपालमा खासगरी वर्षमा दुइ सिजनमा फ्लुको प्रकोप देखिने गरेको छ । जाडो महिनाको अन्त र वर्षा सुरु भएपछि । यस समयमा रुघाखोकी जस्तो लक्षणहरु जसलाई हामीले ‘इन्फ्लुन्जÞा लाइक ईलनेस’ भन्दछौं, देखा परेमा फ्लु हुनसक्छ । तरपनि फ्लु नेपालमा लगभग बाह्रै महिना जस्तो देखिने गरेको तथ्यांकले देखाउँछ ।

२) कमन कोल्ड र फ्लुको उस्तै उस्तै लक्षणहरु हुने गर्दछ, तर लक्षण प्रकृति हेरी शंका भने गर्न सकिन्छ । फ्लुमा उच्च ज्वरो सहित जाडो हुने गर्दछ, त्यस्तै घाँटी दुख्ने, खोकी लाग्ने, स्वासप्रस्वासमा अवरोध आउने, थकित हुने, कसैकसैलाई पखाला लाग्ने र बालबालिकामा बान्ता समेत हुने गर्दछ । तर कमन कोल्डमा यस्तै लक्षणहरु हुने गरेतापनि धेरै कडा भने हुदैन र नाकबाट पटकै पिच्छे पानी बगिरहने वा नाक बन्द हुने गर्दछ ।

३) फ्लुको लक्षणहरु मिल्दो जुल्दो भएमा र त्यो फ्लुको सिजन भएमा त्यो स्वाईन फ्लु हुने सम्भावना प्रवल हुन्छ । यस्तो बेलामा जति सक्दो चाडो चिकित्सकसँग परामर्श गरी आवश्यक सर्तकर्ता अपनाउँदै रोग निदान गर्न सकिन्छ ।

के गर्ने ?

१) यदी ज्वरो अत्यधिक नभएमा ( १०० भन्दा कम भए ) र स्वासप्रस्वासमा अवरोध नभएमा घरमै पनि झोलिलो खानेकुरा खाएर स्वास्थ लाभ गर्न सकिन्छ ।

२) सकेसम्म संक्रमित भएको अवस्थामा बाहिर सार्वजनिक स्थलमा नजाने र घरमा बस्दा पनि परिवारको अरु सदस्य भन्दा अलग्गै कोठामा बस्ने जसले गर्दा अरुलाई फ्लु सर्ने सम्भावना कम हुन्छ ।

३) तर यदी निरन्तर ज्वरो उच्च आउने र स्वासप्रस्वासमा अबरोध आउन लागे तुरुन्त चिकित्सकको सल्लाह लिई उपचार गर्नु पर्छ ।

४) यदि दीर्घ रोगी भएमा जस्तै दम, सीओपीडी, अंग प्रत्यारोपण गरेका, डाईलाईसीस गरेका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएमा स्वाईन फ्लु विरुद्धको खोप लिए यसबाट हुन् सक्ने मृत्युबाट बच्न सकिन्छ ।

साभारःउज्यालोबाट 

डा. शेरबहादुर पुन,

(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल अन्तर्गत क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ ।)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)