Aamsanchar

स्तनपान :स्वस्थ शिशु, स्वस्थ नागरिक

Author Image
शुक्रवार, साउन २०, २०७४

[सुरेश खतिवडा]

अहिले स्तनपान सप्ताह [Brest feeding Week] चलिरहेको छ । प्रत्येक अगष्ट महिनाको १ तारिखबाट एक हप्तासम्म सञ्चालन हुने स्तनपान सप्ताहको आज ४ तारिखसम्म आइपुग्दा औपचारिक रुपमा कसैले पनि झापामा यस सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेको खबर प्राप्त भएको छैन ।

सयौंको संख्यामा निजी क्लिनिकहरु साथै प्राविधिक शिक्षालयहरु र अस्पतालहरु रहेको झापामा कसैले पनि यो सप्ताहलाई सम्पन्न गर्न आफ्नो केही स्वतस्फूर्त सहभागिता हुनुपर्दछ भन्ने बोध नहुने विडम्बना नै मान्नु पर्दछ ।


सधैंका वर्ष झैं यस पटक पनि गत अगष्ट १ तारिखदेखि २५औं स्तनपान सप्ताह शुरु भएको छ । सम्बन्धित मन्त्रालयबाट निश्चित बजेट समेत छुट्याइने यो सप्ताहका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रि संस्थाहरुले समेत सहयोग, समन्वय र सहकार्य गर्दै आइरहेका छन् । बच्चालाई दूध किन चुसाउनु पर्दछ ? यसको अनिवार्यता के हो ? स्तनपानका फाइदाहरु के–के हुन् ? जस्ता स्तनपानलाई प्रोत्साहन गर्ने प्रकृतिका कार्यक्रमहरु लक्षित समूहमा सम्पन्न गर्दै विश्वव्यापी रुपमा नै स्तनपान सप्ताह मनाउने गरिन्छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका पोषण विभाग हेर्ने कुलबहादुर पौडेल भन्नुहुन्छ– ‘बढिरहेको आधुनिकताले स्तनपान सम्बन्धी बेवास्ताले गर्दा र यसको वैज्ञानिक सत्यताबारे ज्ञान अभावका कारण पनि शिशु उचित पोषणबाट वञ्चित बनिरहनु परेको छ ।’ शिशु स्वस्थ र अस्वस्थ हुनुमा स्तनपानको महत्वपूर्ण स्थान रहने उहाँको तर्क सकारात्मक देखिन्छ ।
अर्का झापा कै स्वास्थ्य क्षेत्रमा सक्रिय बुद्धशान्ति गाउँपालिकाका एक स्वास्थ्यचौकीमा कार्यरत् वरिष्ठ स्वाथ्यकर्मी दीपक सापकोटा भन्छन्– ‘स्तनपान सप्ताहले सोचे अनुसार नतिजा नल्याए पनि यो एक स्वास्थ्य शिक्षाको लागि महत्वपूर्ण र उदाहरणीय कार्य रहेको र यसलाई अझ ग्रामीण र दुर्गम क्षेत्रमा स्वीकार्य बनाउँदै लैजानु पर्दछ ।’ ‘पूर्ण स्तनपान गराऔं आमा र बच्चालाई स्वस्थ बनाऔं’ भन्ने नाराका आधारमा आगामी कार्यक्रमहरु तयार पारिएको उहाँको भनाइ छ । जसजसले निजी या सरकारी तबरबाट कार्यक्रमहरु सञ्चालन गर्दै यो ‘स्तनपान सप्ताह’ सफल बनाउन लागि परेता पनि यसलाई फलदायी बनाउन सबैको सहयोग र सहकार्य अपरिहार्य छ ।
जिल्ला जनस्वास्थ्य कार्यलय झापाका प्रमुख मधुसुदन कोइरालाले आफूले सरकारी निजी तथा गैरसरकारी क्षेत्रका सबैलाई सक्रिय रहेर यो सप्ताह सफल बनाउन निर्देशक दिएको बताउँदै गर्दा हामीले निम्नानुसारका फाइदाहरु हुने भएकाले अनिवार्य रुपमा शिशुलाई सकेसम्मको अवधिसम्म स्तनपान गराउनु पर्दछ भनेर लक्षित समूहलाई बुझाउनु पछि पर्नु हुँदैन ।
स्तनपानका फाइदाहरु
– जन्मेको एक घण्टाभित्र शिशुलाई पहेंलो (बिगौति दूध) दूध खुवाउनु पर्दछ । किनकि विगौती दूधमा शिशुलाई चाहिने जति पौष्टिक तत्व रहेको हुन्छ ।
– जन्मेदेखि छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनु पर्छ । यस उमेरमा पानी समेत खुवाउनु जरुरत पर्दैन किनभने आमाको दूधमा शिशुलाई चाहिने मात्रामा पानी रहेको हुन्छ ।
– दिन र रात गरेर कम्तीमा दशपटक आमाको दूध खुवाउनु पर्छ । दुबै स्तनबाट पालोपालो दूध खुवाइनु पर्दछ । एउटा स्तनबाट कम्तिमा १५ मिनेट दूध चुसाउनु÷खुवाउनु पर्दछ ।
– ६ महिना पूरा भएपछि बालबालिकाहरुलाई थप खानाको साथै दुईवर्षसम्म आमाको दूध पनि खुवाइ राख्नु पर्दछ ।
– ६ महिना पुगेपछि बालबालिकाहरुको राम्रो मानसिक र शारीरिक विकासका लागि आमाको दूधले मात्र नपुग्ने भएकोले थप ठोस आहार खुवाउन शुरु गर्नुपर्दछ ।
– स्तनपानलाई परिवार नियोजनको एक प्राकृतिक विधिको रुपमा पनि मान्ने गरिन्छ ।
– उपयुक्त स्तनपानले शिशु र आमाबीचको सम्बन्ध प्रगाढ बनाउँदछ ।
– स्तनपानले आमाको स्वास्थ्य बिगार्छ भन्ने भ्रमबाट मुक्त रही झन्झट र झर्को नमानीकन असल आमाको कर्तव्य निर्वाह गर्नु स्वयम् आमाको शारीरिक र मानसिक स्वास्थ्यका लागि समेत फाइदाकारी मानिएको एक स्वास्थ्य संस्थाको अनुसन्धानले देखाएको छ ।
यसरी माथिका बँुदाहरुलाई हामी सबैले एक सचेत नागरिकको हैसियतले आफ्नो जिम्मेवारी ठानेर छरछिमेक, समुदाय, टोल, गाउँ, बस्ती र सहरमा सधैं नभए पनि यही ‘स्तनपान सप्ताह’ मात्र आ–आफ्नो संघ–संस्थालाई सक्रिय पार्दै जानकारी गराउने हो भने यसको प्रभावकारिता हामी स्वयम्ले औल्याउन सक्ने छौं र एक शिशुले उपयुक्त पोषण प्राप्तीका निमित्त वञ्चित हुनुपर्ने छैन ।

                                                              [email protected]

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर