Aamsanchar

तीज कार्यक्रम स्थगन गर्दै बाढीपीडितलाई राहतमा

Author Image
बिहिवार, भदौ १, २०७४

(नारायण अधिकारी) 

चितवन ।

तीज शुरु हुनु एक महिनाअघिदेखि तडकभडकका साथ पार्टी प्यालेस, होटलदेखि सडकसम्म कार्यक्रम गर्ने यहाँका विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था यस वर्षको तीजमा कार्यक्रम स्थगन गरी उद्धार र राहतमा जुटेका छन् ।

तीज आउनै लाग्दा जिल्लाका विभिन्न ठाउँ र तराईमा बाढीबाट ठूलो जनधनको क्षति भएपछि उनीहरु संस्थागतरुपमा उद्धार र राहतमा जुटेका हुन् ।जिल्लाका महिलासँग सम्बन्धित अधिकांश सङ्घसंस्थाले तीजमा जुटेर नाचगान गर्ने, भोज खाने र त्यसलाई स्थानीय टेलिभिजनमा प्रसारण गर्ने गर्थे । यस वर्ष भने यस्ता गतिविधि जिल्लामा शून्य जस्तै भएको छ ।

हालैमात्र भरतपुर महानगरपालिकाको उपप्रमुखमा विजयी नेपाल महिला सङ्घ चितवनकी अध्यक्ष पार्वती शाह गाउँदेखि वडा, नगर, क्षेत्र हुँदै जिल्लासम्मका सबै तीजका कार्यक्रम स्थगित गरी बाढीपीडितका लागि राहतमा जुट्न निर्देशन दिइएको बताउनुहुन्छ । अधिकांश ठाउँमा तीजका लागि आर्थिक संकलन भइसकेको, होटल र पार्टी प्यालेस बुक भइसकेको भए पनि स्थगित गरी संकलित रकम राहत वितरणमा खर्च गर्न शुरु गरिएको उहाँले बताउनुभयो ।

नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घ चितवनकी अध्यक्ष सरस्वती विष्ट विपत्ति परेका बेला रमाउन नसकिने बताउँदै जे जस्तो सकिन्छ, प्रभावितलाई सहयोग गरेर यस वर्षको तीज मनाउने तयारीमा रहेको बताउनुहुन्छ । सङ्घले जिल्लादेखि गाउँ तहसम्म बाढी प्रभावितलाई सहयोग गर्न आग्रह गरेको उहाँले उल्लेख गर्नुभयो ।

माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) चितवनकी अध्यक्ष संगीता भट्टराई देश रोइरहेका बेला नाचगान र भोजभतेर आवश्यक नरहेको बताउनुहुन्छ । जिल्लादेखि गाउँ तहसम्मका तीजका सबै कार्यक्रम स्थगित गरी तीजका लागि उठेको रकम राहतमा खर्च गर्न भनिएको उहाँले बताउनुभयो ।

जिल्लाको एकमात्र महिलामात्रै पढाउने मैयादेवी कन्या क्याम्पस भरतपुरले हरेक वर्ष तीजलाई विशेष कार्यक्रमका बीच मनाउने गरेको थियो । तर यस वर्षको तीजका लागि खर्च गरिने रकम माडीका बाढी प्रभावितलाई आज राहत बाँडिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष टंकनाथ पौडेलले बताउनुभयो । उहाँका अनुसार माडी बरुवाका एक सय घरपरिवारलाई राहत वितरण गरिएको हो ।

पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घ संगठनका महिला विभागले गर्ने तीज कार्यक्रम पनि यस वर्ष स्थगित भएको छ । नेपाल पत्रकार महासङ्घका महिलाले साउन ३२ गतेका लागि तय गरेको कार्यक्रम स्थगित गरेका छन् भने प्रेस युनियनको महिला विभागले भदौ २ गतेका लागि तय गरेको तीजको कार्यक्रम स्थगित भएको विभागकी संयोजक अनिता खनालले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले तीजका कुनै तडकभडक कार्यक्रम नभएको भन्दै राहत र सहयोग कहाँ गर्ने भन्ने विषयमा विभिन्न सङ्घसंस्थाले चासो दिइरहेको बताउनुभयो । जिल्लामा रहेका आमा समूह, टोल सुधार समिति, सहकारी संस्थाले पनि तीजको कार्यक्रम स्थगित गरी कार्यक्रमको बजेट राहतमा वितरण गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर