Aamsanchar

दमकका अधिकांश मासु पसल ‘अयोग्य’

Author Image
शनिवार, भदौ १७, २०७४

दमक।

झापाको दमकमा रहेका अधिकांश मासु पसलहरुमा काटिएको तथा बिक्री भएको मासु उपभोग गर्न अयोग्य रहेको पाइएको छ ।
केही पसलहरु बाहेक अधिकांश मासु पसलहरुले आधारभूत मापदण्ड समेत पूरा नगरेको र उनीहरुले बिक्री गरिरहेको मासु खानका लागि समेत अयोग्य रहेको पाइएको हो ।
बजार अनुगमन समितिले अनुगमन गर्न जाँदा अनुगमन समितिका सदस्यहरु नै नाक थुनेर जानुपरेको बताइएको छ । बुधबार अनुगमन गर्दा राँगाभैंसी काटिने बधशालामा जथाभावी आन्द्राभँुडी तथा छाला फ्याकिएको, फोहोरमा मासु थुपारेर राखिएको, बधशाला पुरै दुर्गन्धित रहेको पाएपछि अनुगमन समिति अन्यौलमा परेको थियो ।
नगरपालिकाको स्वामित्वमा रहेको दमक– ७ तथा साविक १२ वडामा रहेको सबैभन्दा पुराना बधशालाभित्र छिर्दा नाक थुन्नुपर्ने अवस्था रहेको र यहाँको मासु उपभोगका लागि अयोग्य नै भेटिएको अनुगमनमा संलग्नहरुले बताएका छन् । अनुगमनमा खटिएका पशुसेवा कार्यालय दमकका प्रमुख गणेश प्रधानले हरिया झिंगाहरु भन्किरहेको तथा फोहोरमा मासु बिक्री–वितरण भइरहेको बताए ।
प्रधानका अनुसार यहाँको मासु उपभोगका लागि अयोग्य रहेको छ । प्रधानले भने– ‘मासु काट्दादेखि लिएर राखिएको हेर्दा समेत मासु खानका लागि अयोग्य देखियो । यस्तो फोहोर रहेको पाइएको छ कि जुन कल्पना बाहिरको कुरा हो ।’ यहाँ प्रत्येक बुधबारको दिन राँगा र भैंसी काटिने गरेको छ । बुधबार दमकमा हटिया लाग्ने भएकाले दमकका साथै टाढा–टाढाबाट समेत मासु किन्नका लागि यहाँ आउने गरेका छन् ।
अनुगमन समितिका संयोजक तथा दमक– ७ नम्बर बडाका वडाध्यक्ष भीम पौड्यालले यो मासु बजार तथा बधशाला साह्रै फोहोर र घीनलाग्दो भेटिएको स्वीकार गरे । नगरपालिकाको सार्वजनिक जग्गामा रहेको यो बधशाला २० वर्षअघि नै बनाइएको भए पनि अहिलेसम्म ब्यवस्थित हुन नसकेको भन्दै अब यस बिषयमा नगरपालिकालाई प्रतिबेदन दिइने उनको भनाइ रहेको छ । नगरपालिकाले यसभन्दा अगाडि पनि बजार अनुगमन गरेर सरसफाईमा ध्यान दिन र सावधानी अपनाउन निर्देशन दिए पनि त्यसलाई अटेर गरेको बताइएको छ ।
दमक नगरपालिकाका सामाजिक शाखा प्रमुख तथा बजार अनुगमन समितिका सदस्य सचिब डम्बर बरालले मासु पसलहरु दर्ता नगरी चलाउने र आधारभूत मापदण्ड समेत पालना नगर्ने गरिएको पाइएकाले यस बिषयमा अब सबै मासु पसलहरुलाई तत्कालै पत्रचार गरेर सुधार गर्ने समयसीमा प्रदान गरिने छ ।
दमकमा बुधबार अनुगमन गरिएका अधिकांश मासु पसलहरु अब्यवस्थित रहेको र जालीको समेत प्रयोग नगर्दा झिंगाहरु भन्किरहेको भेटिएको अनुगमन टोलीका सदस्य तथा वडा सदस्य समिन रिजालले बताए । दैनिक रुपमा उपभोग हुने मासु धेरै फोहोर भएकाले स्वास्थ्यका लागि हानिकारक हुने देखिएको उनले बताए । नगरपालिकाले यस बिषयमा गम्भीर ध्यान दिनु पर्ने देखिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर