Aamsanchar

बीएण्डसीमा अब टाउको र ढाडको चोट तथा रोगको निःशुल्क उपचार

Author Image
आइतवार, भदौ १८, २०७४

बिर्तामोड।

बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा अब टाउको तथा ढाडमा लागेका चोट एवम् रोगको निःशुल्क उपचार हुने भएको छ ।
बीएण्डसीमा मानिसको ‘हेड इञ्जुरी’ र ‘स्पाइनल इञ्जुरी’ भएका बिरामीलाई निःशुल्क उपचार गरिने शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो । उक्त दुई अंगमा हुने घाउ तथा रोगको एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क हुने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले जानकारी दिए । नेपाल सरकारले बीएण्डसी हस्पिटललाई उक्त उपचार निःशुल्क गर्ने गरी सूचीकृत गरेको छ । विपन्न बिरामीलाई लक्षित गरी सरकारले उक्त कार्यक्रम लागू गरेको हो ।
पूर्वाञ्चल क्षेत्रमा निजी अस्पतालमा सरकारबाट सूचीकृत भई उक्त सेवा उपलब्ध गराउने बीएण्डसी हस्पिटल पहिलो हो । बिरामीको उपचार गरेवापत एक लाख रुपैयाँसम्मको सोधभर्ना स्वास्थ्यसेवा विभागले बीएण्डसीलाई उपलब्ध गराउने स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखाका शाखा अधिकृत कृष्णप्रसाद सुवेदीले बताए ।
बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले सबै मापदण्ड पूरा गरेको स्वास्थ्य मन्त्रालयको टोलीले अनुगमन गरी उक्त सेवाका लागि सूचीकृत गरेको बताइएको छ । विपन्न नागरिक औषधिउपचार कोष निर्देशिका अन्तर्गत ‘हेड इञ्जुरी’ र ‘स्पाइनल इञ्जुरी’का लागि राष्ट्रिय ट्रमा सेन्टरले लिने शुल्कभन्दा नबढ्ने गरी त्यस्ता बिरामीको उपचार गर्न सरकारको सचिवस्तरीय निर्णय अनुसार बीएण्डसी हस्पिटललाई सूचीकृत गरेको बताइएको छ ।
पूर्वमै निजी अस्पतालमा बीएण्डसीसँग उक्त रोगको उपचार सेवा प्रदान गर्न सरकारले सहकार्य गरेकोमा कार्यकारी निर्देशक प्रसाईंले धन्यवाद दिएका छन् । अस्पतालको भूकम्प प्रतिरोधी भवन र आवश्यक अत्याधुनिक उपकरणका कारण ‘हेड इञ्जुरी’ र ‘स्पाइनल इञ्जुरी’ जस्तो जटिल अवस्थाको उपचार बीएण्डसीमा सम्भव हुँदै आएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।
स्वास्थ्य मन्त्रालयसँगको सहकार्यबाट अब यसक्षेत्रका सबै बिरामीले गुणस्तरीय उपचार सेवा पाउने हस्पिटलले जनाएको छ । गुणस्तरीय उपचारका लागि भारत तथा नेपालका अन्य हस्पिटलमा गइरहनुपर्ने झञ्झटसँगै आर्थिक बोझको समस्या पनि टरेको बताइएको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई यथाशीघ्र अनलाइन कम्प्युटर एप्लिकेशन निर्माण गरी उपचार गरेका बिरामीहरुको विवरणको अभिलेख तथा सोधभर्ना गर्दाको अभिलेख व्यवस्थापन दुरुस्त गर्न निर्देशन दिइसकेको छ ।
गतभदौ १२ गतेको निर्णय अनुसार बीएण्डसीलाई उक्त सेवा सुचारु गर्न भदौ १५ गते स्वास्थ्य मन्त्रालयले आधिकारिक पत्राचार गरेको र शनिबारबाटै सो हस्पिटलमा उक्त सेवा शुरु भएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर