Aamsanchar

मेचीका साहित्यकारलाई जुटायो ‘फरक आयाम’ ले

Author Image
शुक्रवार, असोज ६, २०७४

मंगलबारे,

साहित्य क्षेत्रमा क्रियाशील इलामको ‘फरक आयाम’ नामक संस्थाले सदरमुकाममा बिहीबार साहित्य वाचन समापन गरेको छ । कार्यक्रममा मेची अञ्चलका पुराना अनि नयाँ सर्जकहरुले एकै मञ्चमा उभिएर गीत, गजल तथा कविता वाचन गरेका थिए । माया पिरती, देश प्रेम, हाँसो र आँशुका कुरा अनि समसामयिक विषयमा सर्जकहरुले साहित्य प्रस्तुुत गरेका थिए ।

स्रष्टाले हृदयस्पर्शी साहित्य प्रस्तुुत गरिरहँदा जिल्ला समन्वय समिति इलामको सभाहल तालीले गुञ्जयमान हुन्थ्यो, झनै मायापिरतीका कुरा उठाउँदा हुटिङ थपिन्थ्यो । नयाँ पुस्ताका सर्जकले बढी मायापिरतीका कुरा उठाउँथे । पुराना स्रष्टाले विशेषतः समसामयिक कुरालाई जोड दिएर साहित्य पस्किएको आभास हुन्थ्यो । नयाँ स्रष्टालाई ठूलो पाठ सिक्ने थलोका रुपमा सो कार्यक्रमलाई लिन सकिन्थ्यो ।

साहित्य वाचनमा झापाका केशव आचार्य, पाँचथरका धर्मेन्द्र नेम्वाङ, इलाम चुलाचुलीका सुन्दर कुरुप, झापाकै मेचीपुत्रले साहित्य प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा इलामका विमल वैद्य, डा देवी क्षेत्री दुलाल, प्रकाश थाम्सुहाङ, वसन्त थाम्सुहाङ, अभागी थेगुवा, महेन्द्र विरही, सोम निरौला, शिशिर भट्टराई, भरत ढुंगाना, टीका ढुंगाना, प्रतिभा पौडेल, लता पौडेललगायत डेढ दर्जनभन्दा बढी साहित्यानुरागीले साहित्य प्रस्तुत गरेका थिए ।

फरक आयामका संयोजक महेन्द्र विरहीको अध्यक्षता तथा साहित्यकार केशव आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

पछिल्लो समयमा फरक आयामले जिल्लामा साहित्यसम्बन्धी छलफल, बहस तथा साहित्यिक जमघट गर्दै आएको छ । यस संस्थामा जिल्लाका नयाँ तथा पुराना सर्जक अटाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर