Aamsanchar

झापामा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम

Author Image
बिहिवार, असोज २६, २०७४

भद्रपुर।

झापा जिल्लामा सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रम बुधबारबाट शुरु भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति झापाले भद्रपुरमा आयोजित एक कार्यक्रमका बीच बीमा सदस्य दर्ता शुभारम्भ गर्दै सेवा शुरु गरेको हो । भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले पारिवारीक स्वास्थ्य बीमाको पहिलो दर्ता गराएका थिए ।

श्रेष्ठले दर्ता गरेको प्रमाणपत्र जिल्ला समन्वय समिति झापाकी उपप्रमुख मीना पराजुलीले प्रदान गरेकी थिइन् भने उपप्रमुख पराजुलीले गरेको दोस्रो दर्तालाई जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुधन कोइरालाले हस्तान्तरण गरेका थिए ।
झापामा प्रथम बिन्दु अन्तर्गत बनियानी, धुलाबारी, शनिश्चरे, सुरुङ्गा, शिवगञ्ज, खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्र, मेची अञ्चल अस्पताल भद्रपुर, मेची आँखा अस्पताल बिर्तामोड र आम्दा अस्पताल दमक गरी ९ वटा सेवा प्रदायक स्वास्थ्य संस्थाहरु रहेको जनाइएको छ ।
त्यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोवेल मेडिकल कलेज विराटनगर, कोशी अञ्चल अस्पताल विराटनगर, काठमाडौंका कान्ति वाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शहीद गंगालाल हृदय रोग निवारण केन्द्र, शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, वीर अस्पाताल रेफरल सेन्टरहरु रहेका जनाएका छन् । अन्य जिल्लामा पाटन मानसिक अस्पताल ललितपुर, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, क्यान्सर अस्पताल चितवन र पाटन अस्पताल ललितपुर समेत रेफरल सेन्टर रहेको जनाइएको छ ।
झापामा १ सय ९२ जना दर्ता सहयोगीले गाउँ तथा नगरमा परिचालित भई बीमा गराउने छन् । पाँच जनाको परिवारले बीमा गराउँदा २ हजार ५ सय र सो भन्दा माथि भएमा प्रति व्यक्ति बराबर ४ सय ५० थप शुल्क लाग्ने बताइएको छ ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति झापाका प्रवन्धक रमेन्द्रप्रसाद कुश्वाहाको सभापतित्व तथा जिल्ला समन्वय समितिका उपप्रमुख पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्ड पिताम्बर ठाकुर, स्थानीय विकास अधिकारी खेमराज ओझा, जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक कोइराला लगायतले बोलेका थिए ।

नेपाल सरकारले २०७२ चैत्र २५ गतेदेखि कैलाली जिल्लाबाट कार्यक्रमको शुरुवात गरी हालसम्म १९ जिल्लामा सञ्चालन भइरहेको र ०७४ असोज २५ वाट सोलुखुम्बु, सुनसरी र झापामा दर्ता सुरु गरिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति झापाका प्रवन्धक कुश्वाहाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर