Aamsanchar

महाकवि देवकोटाको पुर्णकदको सालिक अनावरण

Author Image
बिहिवार, कार्तिक २, २०७४

काँकरभिट्टा, 

निर्माण भएको तीनवर्षपछि मेचीनगर—६ काँकरभिट्टास्थित देवकोटा पार्कमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुर्णकदको सालिक विहीबार अनावरण भएको छ । देवकोटा पार्क व्यवस्थापन समितिले आयोजना गरेको महाकवि देवकोटाको १०९ औँ जन्मजयन्ती तथा सालिक अनावरण कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सालिक अनावरण गर्नुभएको हो ।

व्यवस्थापन समितिका अध्यक्ष रविन कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रममा सालिक वरिपरी राखिएको १ सय ९ वटा माटाको दियोमा बत्ती बालेर कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका कुलपति उप्रेतीले सालिक अनावरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य यज्ञराज प्रसाईले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

वरिष्ट साहित्यकार चुडामणि रेग्मी, मेचीनगर नथरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, एमालेका झापा जिल्ला सचिवालय सदस्य गोपालचन्द्र बुडाथोकी, माओवादी केन्द्रका बोधाज दाहाललगायतले देवकोटामा बारेमा आ आफ्नो विचार राख्नु भएको थियो । उनीहरुले नेपाली भाषामा महाकविले पुर्याएको योगदानको चर्चा जति गरेपनि कम हुने धारणा राखेका थिए ।

देवकोटाको १०४ औँ जन्मजयन्तीको अवसर साहित्यकार मोदनाथ प्रश्रितले सालिक निर्माण कार्यको शिलान्यास गर्नुभएको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटा चिल्ड्रेन पार्क निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष साहित्यकार पुण्यप्रसाद खरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा व्यवस्थापन समितिका उपाध्यक्ष भवानी केरुङले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न स्रष्टाहरले आ आफ्नो रचना समेत सुनाएका थिए । अनावरण समारोहमा झापा, मोरङ, सुनसरी, इलाम तथा छिमेकी भारतको सिलिगुडी, दार्जिलिङ, खर्साङ, सिक्किमलगायतका स्रष्टाको समेत जमघट थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)