Aamsanchar

अर्जुनधारा जलेश्वरधाम स्थापनाको स्वर्ण महोत्सव

Author Image
बिहिवार, कार्तिक १६, २०७४

अर्जुनधारा, 

महाभारतकालीन समयसँग ऐतिहासिक तथा धार्मिक पृष्ठभूमि जोडिएको पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाम स्थापनाको स्वर्ण महोत्सव तथा ३५औँ वार्षिक अनुष्ठान गरिने भएकोे छ ।

यही कात्तिक २१ गते शुरु भई मंसिर १ गते बालाचतुर्दशीका दिन समापन हुने शिव महापुराण तथा रुद्राभिषेक महायज्ञको उद्घाटन महेश सन्यास आश्रम पीठका पीठाधीश एवम् शंकराचार्य मठका संरक्षक देवघाटका १००८ स्वामी रमणानन्द गिरीले गर्नुहुने धाम व्यवस्थापन समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो ।

महोत्सव सम्पन्न गर्न समितिले विभिन्न २८ वटा उपसमिति गठन गरेको प्रचार प्रसार उपसमितिका सहसंयोजक शेखर प्रधानले बताउनुभयो । उहाँका अनुसार धाम परिसरमा नवनिर्मित मोक्षेश्वर शिवलिङ्गको उद्घाटन, प्रत्येक दिन शिवको विशेष पूजाअर्चना तथा वाणगंगा आरती, समितिका पूर्वपदाधिकारी तथा सदस्य तथा दातालाई अभिनन्दन तथा सम्मान, वृत्तचित्र प्रदर्शनी लगायतका कार्यक्रम गरिने बताइएको छ ।

सो कार्यका लागि मूल मन्दिरसँगै सिङ्गो धाम परिसरमा विशेष शृङ्गार गरिने समितिका अध्यक्ष गट्टानीले बताउनुभयो ।

महायज्ञको मुख्य कथावाचक आचार्य पण्डित दुर्गाप्रसाद खतिवडा र उपवाचक धामका मूल अर्चक अग्निप्रसाद सिग्देल रहनुहुने भएको छ । सो महोत्सवमा करिव रू ८० लाख संकलन हुने र रू १९ लाख खर्च हुने अनुमान गरिएको समितिका कोषाध्यक्ष मनोज जोशीले बताउनुभयो ।

अर्जुनधारा जलेश्वरधाम स्थापनाको इतिहासः 

महाभारतकालीन समयमा कौरव पक्षबाट षड्यन्त्र गरी पाण्डवलाई १२ वर्ष वनवास र एक वर्ष गुप्तवास बस्न बाध्य बनाइएपछि गुप्तवासको समयमा राजा विराटको हजारौँ गाईलाई कौरवले हरण गरेर भारतको गुवाहाटीमा पु¥याएको अवस्थामा वृहन्नला (हिजडा)कौ रूप धारण गरेका अर्जुनले दार्जिलिङ र इलाम जिल्लाको लुकानी सुखानी हुँदै ती गाई ल्याउने क्रममा हाल धाम रहेको स्थलमा आइपुगेपछि गाईलाई तिर्खा लागेको र सोही समयमा अर्जुनले भगवान् शिवको पूजा गरी पर्जन्याशस्त्र वाण प्रयोग गरी पानी निकालेको हुँदा अर्जुनधारा नाम रहन गएको किंवदन्ती छ ।

त्यसैगरी २०२३ सालमा देवदूत खडेश्वर तपस्वी मौनी बाबा (खडेबाबा)बाट धाम स्थलमा शिवको वास रहेको जानकारी गराएपछि तत्कालीन हरिविलास वनको अध्यक्षतामा गठित समितिले मन्दिरको स्थापना गरी पूजा शुरु गरेको धामका मूलअर्चक अग्निप्रसाद सिग्देलले बताउनुभयो । विसं २०२३मा स्थापना भएको मन्दिर व्यवस्थापन समितिलाई २०४८ साल पुस २४ गते जिल्ला प्रशासन कार्यालय दर्ता गरिएको थियो । मन्दिरमा प्रत्येक वर्ष गर्दै आएको अनुष्ठान भने २०४० सालबाट शुरु भएको मूल अर्चक सिग्देलले बताउनुभयो ।

धाम परिसरमा के–के छ ? 

धामका मूल अर्चक सिग्देलका अनुसार पाँच बिघाहाको क्षेत्रफलमा रहेको धाम परिसरमा नेपाली वास्तुकलायुक्त भएको प्यागोडा शैलीको शिवको मूल मन्दिर, वाणगंगा पोखरी, पञ्चधारा, सूर्यकुण्ड, यज्ञशाला, भगवान् गणेश, हनुमान, लक्ष्मीनारायण र नागको मन्दिर, अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालय, अर्जुनधारा संस्कृत वेद विद्यापीठ, धर्मशाला, किरियाशाला, छात्रावास, पुस्तकालय, शिवकुटी, प्रवेशद्वार, गौशालालगायत छ ।

हाल निर्माण भइरहेका पूर्वाधार :

हाल शनि मन्दिर र सन्त निवास निर्माण भइरहेको धाममा आगामी दिनमा गुरुकुल भवन निर्माण गर्ने लक्ष्य समितिले लिएकोे छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर