Aamsanchar

झापामा १० हजार मधुमेहका रोगी/हेलचक्र्याइँ गरे ज्यानै जाने

Author Image
मङ्गलवार, कार्तिक २८, २०७४

झापा,

(नरेन्द्र ढकाल)

झापामा करिब १० हजार बढी मधुमेह रोगका बिरामीहरु रहेको जिल्ला जनस्वास्थय कार्यालयले जनाएको छ । वर्षेनी यो रोगका बिरामीहरु बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष वर्ष २०७२÷७३ मा चार हजार ४ सय ४२ जना मधुमेह रोगबाट पिडित भएका थिए भने गत आर्थिक वर्ष २०७३÷७४ मा ५ हजार एक सय ८५ जना रोगी फेला परेको जिल्ला जनस्वास्थय कार्यालयका तथ्याङ्क शाखाका तोया दाहालले जानकारी दिएका छन् । मधुमेहका बिरामीमा सबैभन्दा धेरै पुरुष रहेको जनाइएको छ ।

झापामा वर्षेनी विभिन्न रोगहरुको संक्रमण बढ्दै गइरहेका बेला नसर्ने रोगका बिरामी अधिक रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुधन कोइरालाले बताएका छन् । झापामा यति धेरै मधुमेहका बिरामीहरु रहेको भन्दै यो रोगका बिरामी अझ धेरै रहेपनि उनीहरुले स्वास्थय परिक्षण नगराएका कारण पत्ता लाग्न नसकेको हुन सक्ने बताए । मधुमेह रोग खानपान र जीवन शैलीका कारण लाग्ने भएकाले खानपान र आफ्नो जीवन शैलीमा ध्यान दिन सुझाव समेत दिएका छन् ।

मधुमेह भएका बिरामीमध्ये अत्यधिक मानिसलाई अन्य विकराल रोग देखापर्ने गरेको छ । मधुमेहका बिरामीले हेलचक्र्याइँ गर्दा मिर्गौला खराब हुने, पक्षघात, अन्धोपन तथा खुट्टा काट्नुपर्नेसम्मका अवस्था आउने चिकित्सकहरूले बताएका छन् । मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै देखापर्ने मधुमेह पछिल्लो समय युवापुस्तामा देखा पर्ने गरेको चिकित्सकहरुले बताएका छन् ।

जनस्वास्थ्य प्रमुख कोइरालाले भने–“पहिले पहिले ४० वर्ष उमेर नाघेकाहरूमा मधुमेह देखिन्थ्यो, पछिल्लो समय ३० वर्षका युवायुवती पनि मधुमेहको सिकार बन्ने गरेका छन् । ” नेपालमा मधुमेहका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको भन्दै नियन्त्रणका लागि सन्तुलित आहार तथा शारीरिक व्यायाम अपनाउन उनले सुझाव दिएका छन् । हाल विश्वभरका ३५ करोड मानिस मधुमेहबाट प्रभावित छन् भने सन् २०२५ सम्ममा यो संख्या वृद्धि भई ४० करोड पुग्ने विश्व स्वास्थ्य सङ्गठनको अनुमान छ । नेपालको सहरी क्षेत्रमा १८ देखि २० प्रतिशत र ग्रामीण क्षेत्रमा दुईदेखि पाँच प्रतिशत वयस्क मानिस मधुमेहबाट प्रभावित रहेको विभिन्न तथ्याङ्कहरुमा उल्लेख गरिएको छ ।

शहरीया जीवन शैलीले सतायो–

मानिसहरु गाँउमा भन्दा शहरमा बस्न रुचाउछन् । आरामदायी जीवन शैलीका कारण यो रोग छिट्टै लाग्ने गरेको चिकित्सकहरुले बताएका छन् । खानपानमा ध्यान नदिनु, चिल्लो खानेकुरा बढी खानु, मादकपदार्थ सेवन, दुषित हावापानी, शारिरीक ब्याम नगर्नु लगायतका कारण यो रोगका बिरामी बढेको जनस्वास्थ्य प्रमुख कोइरालाले बताए ।

उनले शहरमा यो अवस्था धेरै रहेकाले झापामा पनि गाँउमा भन्दा शहरमा बस्ने धेरै मधुमेहका बिरामी रहेको जानकारी दिए । उनले अहिले भर्खरमा युवायुवतीमा पनि यो समस्या देखिनु चिन्ताको विषय हो यसमा बेलैमा ध्यान नदिए यसले भयावह अवस्था आउन सक्छ ।

कसरी बच्ने यो रोगबाट–

मधुमेह अर्थात चिनी रोग खानपान र जीवन शैलीका कारण लाग्ने भएकाले खानपानमा ध्यान दिएर शारिरीक परिश्रम गर्ने हो भने यो रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् । गुलीयो खानेकुरा कम खाने तथा मकै, कोदो, फापर लगायतका खाद्यन्न खाने र नियमित रुपमा ब्याम गर्ने हो भने यो रोगबाट बच्न सकिने जनस्वास्थ्य प्रमुख कोइरालाले बताए ।

आज विश्व मधुमेह विरुद्धको दिवस–

आज विश्व मधुमेह दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विश्व मधुमेह संस्था र विश्व स्वास्थ्य संगठनको घोषणा अनुरुप सन् १९९१ देखि यो दिवस मनाउन थालिएको हो । मधुमेहको उपचारको लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेडेरिक ब्यान्टिङको जन्मदिनको सम्झनामा नोभेम्बर १४ लाई मधुमेह दिवसको रुपमा मनाइन्छ ।

यो वर्ष मधुमेह र महिला ः हाम्रो स्वास्थ्य सुरक्षित भविष्यका लागी भन्ने नाराका साथ झापामा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको जिल्ला जनस्वास्थय कार्यालयका सुचना अधिकारी देवराज कार्कीले जानकारी दिए । चिकित्सकका अनुसार छिटोछिटो पिसाब लाग्ने, मुख सुख्खा हुने, छिटो तिर्खा लाग्ने, बढी भोक लाग्ने, तौल घट्ने, कमजोरी महसुस हुने, दृष्टि धमिलो हुने, घाउ चोटपटक निको हुन बढी समय लाग्ने लक्षण भएका व्यक्तिलाई मधुमेह हुने सम्भावना हुन्छ ।

कम शारिरीक श्रम, फास्टफुड, चिल्लो गुलियो खानेकुराको बढी प्रयोग र तनावका कारण गाउँकालाई भन्दा सहरमा बस्ने मानिसलाई मधुमेह बढी हुने गरेको पाईएको जनस्वास्थय प्रमुख कोइरालाले जानकारी दिए । मधुमेह दीर्घ रोग भएकाले यसबाट बच्न रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्नुपर्छ । यसको लागि सन्तुलित भोजनको आवश्यकता पर्छ । खानपान र आनीवानीमा ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् ।

चिकित्सकहरुका अनुसार मधुमेहबाट बच्न लामो समससम्म भोकै नबस्ने, फलफूल, हरिया सागपात, काँक्रो, मूला, गाजर, विना चिनीको चिया खाने, गुलियो नखाने, चिल्लो पदार्थ नखाने, दैनिक व्यायाम र नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)