Aamsanchar

धार्मिक पर्यटकीय स्थल बनाइँदै गोलोक गोबद्र्धन गौशाला

Author Image
शुक्रवार, मंसिर १, २०७४

बिर्तामोड।

झापाको शिवसताक्षी नगरपालिका–११ सताक्षीधामस्थित गोलोक गोवर्धन गौशालालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित गरिने भएको छ ।

गौ सेवाको महान उद्देश्यलाई सनातन र सार्वजनिक अवधारणा बनाइ गाउँघरमा वृद्ध भएका गोवंशलाई बेच्ने परम्पराको अन्त्य गर्दै बुढा भएका, अनुपयोगी, रोगी, असक्त गाईहरुलाई संरक्षण एवम् सम्बर्धन गर्ने उद्देश्यले २०७१ साल चैतमा स्थापना गरिएको गोलोक गोवर्धन गौशालामा गोरक्षा महोत्सव एकादश दिवसीय अखण्ड हरिनाम संकीर्तन एवम् श्रीराम कथा महोत्सवको आयोजना गरिएको छ । गतकात्तिक २२ गतेदेखि आगामी मंसीर २ गतेसम्म सञ्चालन भइरहेको उक्त महोत्सवमा पछिल्लो पटक धार्मिक पर्यटकहरुको समेत आवागमनमा वृद्धि भएको छ ।

वृन्दावनका व्यसाचार्य हरिप्रसाद शास्त्री, र युवा पण्डित कुबेर सुवेदीको प्रमुख वाचकत्वमा गौ कथा वाचन भइरहेको आयोजक मूल समितिका संयोजक प्रसाद सुब्बाले बताए । त्यस्तै पूर्वका झापा, मोरङ, सुनसरी, संखुवासभा, तेह्रथुम, धनकुटा, इलाम, पाँचथर तथा भारतका विभिन्न ठाउँका भक्तजनहरुले अष्टलक्ष्मी गौ मन्दिरमा र नवनिर्मित गोयज्ञशालालाई अखण्ड परिक्रमा गर्दै अखण्ड हरिनाम संकीर्तन गरिरहेको गोलोक गोवद्र्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजले बताए ।

शताक्षीधाममा आयोजना हुने गौ कथा महोत्सवमा अनन्तश्री विभुषित जगतगुरु स्वामी मोहनशरण देवाचार्य जी महाराज चतराधाम, अनन्त श्री विभुषित स्वामी भागवताचार्य महाराज माईधार, वेदमूूर्ति परमादरणीय आचार्य मेदनीपति मिश्रा युके, अनन्तश्री विभुषित स्वामी विष्णु वल्लभानन्द हरिद्वार भारत, अनन्त श्री विभुषित सद्गुरुदेव स्वामी गोपालशरण देवाचार्य जी महाराज दिल्लीबाट आएर प्रवचन दिइरहेको उनले बताए ।

विगत २२ वर्षदेखि भारतका विभिन्न धार्मिकस्थलमा बसेर गाईको सेवा गरेका आचार्य नन्दकिशोर भारद्वाजले झापाको सताक्षीधाममा ‘गोलोक गोवद्र्धन गौशाला’ नामक संस्था स्थापना गरेर बृद्ध र अशक्त गाईलाई संरक्षण गर्नका लागि गौशाला स्थापना गरेको बताए । संस्था स्थापना भएदेखि अशक्त गाईलाई ल्याएर गौशालामा बुझाउनेको संख्या बढिरहेको उनले बताए ।

वृद्ध र अशक्त गाईलाई संरक्षण गर्नका लागि गौशाला स्थापना गरेको बताउँदै उनले ‘वृद्ध गौहरु बजारमा बेच्नु जघन्य अपराध भएको बताए । गौशालामा हाल २१० वटा गाई रहेको उनले बताए । गौशाला सञ्चालन गर्न महिनामा डेढ लाख रुपैयाँभन्दा बढी खर्च भइरहेको भारद्वाजले बताए । उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित गर्न ३० लाख रुपैयाँको लागतमा द्वादश ज्योर्तिलिङ्ग शिवालयको स्थापना गरिएको छ भने सताक्षी यज्ञशाला समेत निर्माणाधीन रहेको छ ।

त्यस्तै अष्टलक्ष्मी गौ मन्दिर र राम मन्दिर समेत निर्माणाधीन अवस्थामा रहेको छ । उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित गर्न शिवसताक्षी नगरपालिकाले २० लाख रुपैयाँ छुट्याएको भारद्वाजले बताए । नगरपालिकाले उक्त स्थलसम्म पुग्न बाटो समेत निर्माण गरेको बताउँदै उनले बालाचतुर्दशीको अवसरमा ५० हजार भन्दा बढी भक्तजनहरुले सत्वीज छर्ने बताए । त्यहाँ आउने भक्तजनहरुलाई खान बस्नको समेत व्यवस्था गरेको उनले बताए ।

यसैबीच नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको आयोजनामा रक्तदान समेत गरिएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)