Aamsanchar

जिल्लालाई खुल्ला दिसामुक्त गर्न सहयोग समितिहरु गठन

Author Image
शुक्रवार, मंसिर १५, २०७४

झापा, १५ मंसीर ।
जिल्लामा सञ्चालित खुल्ला दिसामुक्त अभियानलाई सहयोग पु¥याउन जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले चार सहयोग समिति गठन गरेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, कार्यदलको बैठकले सहयोग समितिहरु गठन गरेको हो ।
राजनीतिक एवम् सामाजिक क्षेत्रको परिचालनका लागि जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलको संयोजकत्वमा राजनीतिक एवम् सामाजिक क्षेत्र परिचालन सहयोग समिति गठन गरिएको छ ।
स्थानीय तहसम्म खुल्ला दिसामुक्त अभियानमा प्राविधिक सहयोग गर्नका लागि जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यसचिव एवम् खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख ई. सीताराम काफ्लेको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ ।
यसैगरी, सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रशासनिक क्षेत्र परिचालन सहयोग समिति र उप जिल्ला शिक्षा अधिकारीको संयोजकत्वमा क्षेत्रगत परिचालन सहयोग समिति गठन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सरसफाइ फोकल पर्सन रुद्रबहादुर न्यौपानेले जानकारी दिए ।
खुल्ला दिसामुक्त अभियानमा शिक्षा र स्वास्थ्य क्षेत्र संस्थागत रुपमा परिचालन हुन नसकेको गुनासो आइरहेको बेला सहयोग समितिले क्षेत्रगत परिचालन गरेमा खुल्ला दिसामुक्त अभियान संस्थागत हुन सक्ने विश्वास व्यक्त गर्छन् सहारा नेपालका खुल्ला दिसामुक्त अभियान कार्यक्रम संयोजक किसन गौतम । “स्वास्थ्य शिक्षाको जिम्मेवारी लिएका महिला स्वास्थ्य स्वयंसेविका र शिक्षककै घरमा समेत शौचालय थिएन”, गौतमले भने, “कम्तिमा पनि विद्यालय र स्वास्थ्य चौकीहरुले क्षेत्रगत परिचालन गर्ने हो भने खुल्ला दिसामुक्त अभियानले तीव्रता लिन सक्छ ।”
आसन्न संघ र प्रदेश सभाको निर्वाचनलगत्तै जिल्ला शिक्षा कार्यालय श्रोत केन्द्रमार्फत खुल्ला दिसामुक्त अभियान प्रवद्र्धन र घरायसी शौचालय निर्माणका लागि सम्पूर्ण विद्यालय क्षेत्रलाई परिचालन गरिने उप जिल्ला शिक्षा अधिकारी उद्धव विष्टले जनाए ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले खुल्ला दिसामुक्त राष्ट्रिय अभियानलाई सफल बनाउनका लागि आवश्यक सम्पूर्ण प्रशासनिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सोही बैठकले खुल्ला दिसामुक्त घोषणा गर्ने साविकका गाउँ विकास समितिहरु र नगरपालिकालाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तर्फबाट दिइने प्रोत्साहन पुरस्कारलाई निरन्तरता दिने समेत निर्णय गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर