Aamsanchar

नेपाली सभ्यता र पौरख झल्कने ‘आरोहण’

Author Image
शुक्रवार, मंसिर १५, २०७४

काठमाडौँ,

दोस्रो विश्वयुद्धमा नेपालको सहभागितादेखि गोरखा भूकम्पसम्मको नेपाली वीरताको घटना झल्कने महाकाव्य ‘आरोहण’ तेह्र महाकविको हस्ताक्षरसहित आएको छ ।

धेरै सङ्ख्याका लेखक सम्मिलित उपन्यासपछि अहिले आएको महाकाव्य शिखा बुक्सले प्रकाशन गरेको हो जसमा २० सर्ग २० नै छन्द छन् । पुस्तकको आवरणपृष्ठ तीन वर्षीया श्रावणी सिग्देलले तयार गरेकी हुन् । महाकाव्यकारमा गोपीकृष्ण शर्मा, राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, श्रीहरि फुयाँल, ठाकुर शर्मा भण्डारी, प्रकाश चापागाईँ, नारायणप्रसाद पोखरेल, जीवन अधिकारी, लेखप्रसाद निरौला, रामप्रसाद ज्ञवाली, देवी नेपाल, रमेश शुभेच्छु, नारायण निराशीलगायत छन् ।

कृतिमा भूकम्पमा बारपाकको मसेलबाट तल फाँटमा झरेका मानिसहरु जीवनबोध गर्दै पुनःनिर्माण गर्न बारपाक नै उक्लेको आशावादी–जीवनवादी कथा नै आरोहणको भाव हो जसलाई वृद्ध पात्रले अभिव्यक्त गरेका हुन्छन् ।

महाकाव्यको एक अंश यस्तो छ–
यो संसार बनाउँदा प्रकृतिले नेपाल यस्तो चुन्यो
माथिल्ला हिमशैलदेखि तलका बेंसी तराई बुन्यो
सिङ्गो विश्व डुलेर हेर्न नपरोस् नेपाल आए पुग्यो
चोखो गीत छ मानवीय रचना नाचेर गाए पुग्यो

कृति विमोचन गर्दै समालोचक वासुदेव त्रिपाठीले पुर्खाको पौरखलाई पछिल्लो पुस्ताले पुनःनिर्माण गर्नसक्ने उत्साह भाव कृतिमा रहेको बताउनुभयो । समीक्षक ठाकुरप्रसाद पराजुलीले कृतिमा देशभक्ति ओतप्रोत रहेको टिप्पणी गर्नुभयो । कवि राजेन्द्र सुवेदीले कृतिले नेपाली सभ्यताको महाभारतीकरण गर्न सफल रहेको बताउँदै नेपाल एकीकरणको प्रारम्भ गोरखाबाटै भएको र भूकम्प गएर ध्वस्त भएको ठाउँ पनि गोरखा नै हुनु संयोग हो भन्नुभयो । मदन पुरस्कार विजेताले घनश्याम कँडेलले कृतिमा विश्वयुद्ध र प्रेम प्रसङ्गले छुने बताउँदै छन्द कहिल्यै मर्दैन भन्नुभयो ।

प्रकाशका तर्फबाट पुष्पराज पौडेल र कार्यक्रम आयोजक छन्द–अलङ्कार समूहका ज्ञानु विद्रोहीले आफूहरुले नेपाली छन्दलाई प्रवद्र्धन गर्न भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)