Aamsanchar

बधाई तथा शुभकामना दिन सहज बन्यो ‘फेसबुक’

Author Image
सोमवार, मंसिर २५, २०७४

पाल्पा, 

मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना नतिजा सार्वजनिक भएपछि पहिला, दोस्रो र तेस्रो स्थान हासिल गर्ने उम्मेदवारले सामाजिक सञ्जाल ‘मुहारपुस्तक’ मार्फत मतदाता र शुभचिन्तकलाई आभार प्रकट गरिरहेका छन् ।

समयको बचत र स्वदेश तथा विदेशमा रहेकालाई एकैसाथ सम्बोधन हुने भएपछि पाल्पाका विजयी तथा पराजित दुबैथरीले फेसबुकबाट आफूलाई सहयोग गर्ने सबैलाई आभार तथा धन्यवाद प्रकट गरेका हुन् ।

मतदाता तथा शुभचिन्तकले विजयी उम्मेदवारलाई फेसबुकबाटै बधाई तथा शुभकामना दिने क्रम जारी छ । पराजय भोगेका उम्मेदवारले विजेतालाई सम्मानपूर्वक बधाई तथा शुभकामना व्यक्त गर्ने संस्कारको सर्वत्र सराहना गरिएको छ ।

पाल्पा निर्वाचन क्षेत्र २ प्रदेश (ख)का विजयी उम्मेदवार नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती वसन्तलाई नेपाली काँग्रेसका उम्मेदवार राम कार्कीले प्रेस विज्ञप्तिमार्फत शुभकामना दिनुभयो । विज्ञप्तिमा भनिएको छ – “यो निर्वाचनमा मेरा विजेता मित्र वसन्त घर्ती लगायतका टोलीलाई हार्दिक बधाई दिँदै संविधान कार्यान्वयन, लोकतन्त्रको संरक्षण, देश र जनताको समृद्धिका लागि कार्य गर्ने सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्दछु र यस कार्यमा मेरो सधैँ रचनात्मक सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।”

प्रदेशसभामा विजयी भएपछि घर्तीले आम पाल्पाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, शुभचिन्तक, आफन्तजन तथा सम्पूर्ण मतदाताको सद्भाव र सहयोगबाट आफूलाई विजयी बनाउन सहयोग गर्नुभएकामा फेसबुकबाट हार्दिक आभार व्यक्त गर्नुृभयो ।

पाल्पा निर्वाचन क्षेत्र १ का नेपाली काँग्रेसका उम्मेदवार विजयराज घिमिरेले नेकपा एमालेका विजयी उम्मेदवार दलबहादुर रानालाई बधाई तथा शुभकामना दिनुभयो । एमालेका केन्द्रीय सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सोमप्रसाद पाण्डेयले फेसबुकमार्फत नै मतदाता, शुभचिन्तक तथा निर्वाचन सम्पन्न गराउन अहोरात्र खट्ने कर्मचारी, पत्रकार तथा पर्यवेक्षकलाई धन्यवाद दिनुभयो ।

पाल्पा निर्वाचन क्षेत्र १ मा एमालेका पोलिटब्युरो सदस्य दलबहादुर राना, पाल्पा क्षेत्र १ प्रदेश (क) युवराज खनाल, (ख) मा नारायण आचार्य र पाल्पा क्षेत्र २ बाट सोमप्रसाद पाण्डेय, प्रदेश (क)मा डा. पुरन बज्राचार्य र (ख) मा तुलाराम घर्ती वसन्त विजयी हुनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर