Aamsanchar

झापामा १८९०० मत बदर

Author Image
बुधवार, मंसिर २७, २०७४

बिर्तामोड।

मंसीर २१ गते सम्पन्न निर्वाचनमा प्रदेशसभा भन्दा प्रतिनिधिसभा सदस्यका लागि खसेको मत बढी बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ ४.७४ प्रतिशत मत बदर भएको छ भने प्रदेशसभा सदस्यका लागि ३.६० प्रतिशत मात्र मत बदर भएको छ ।

जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ४ लाख १८ हजार ८१ मत खसेको थियो । जसमा १८ हजार ९ सय १५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । यता प्रदेशसभा प्रत्यक्षतर्फ ४ लाख १७ हजार ६ सय २८ मत खसेकोमा १४ हजार ५ सय ४ मत बदर भएको छ ।

झापा क्षेत्र नम्बर १मा खसेको ७३ हजार ३ सय ३ मत मध्ये २ हजार ६ सय ६७ मत बदर भएको छ । क्षेत्र नम्बर २ मा खसेको ८५ हजार ६ सय ५६ मत मध्ये ३ हजार ६ सय ९९ मत बदर भएको छ । क्षेत्र नम्बर ३ मा खसेको ८३ हजार २ सय ४४ मत मध्ये ४ हजार ३ सय १२ मत बदर भएको छ ।

क्षेत्र नम्बर ४मा खसेको ७७ हजार १ सय ९२ मतमध्ये ३ हजार ५ सय ३६ मत बदर भएको छ । यता क्षेत्र नम्बर ५ मा खसेको ९६ हजार १९ मत मध्ये ४ हजार ६ सय ७४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिए ।

यसैबीच समानुपातिकतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभाको मतगणना जारी रहेको छ । पछिल्लो परिणाम अनुसार समानुपातिकमा नेकपा एमाले पहिलो स्थानमा रहेको छ । नेपाली कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो, राप्रपा चौथो, राजपा पाँचौँ र संघीय समाजवादी फोरम छैठौँ स्थानमा रहेका छन् । प्रतिनिधिसभातर्फ एक लाख ३४ हजार २१३ मतगणना भइसकेको छ ।

प्राप्त परिणाम अनुसार एमालेले ५२ हजार ६७, कांग्रेसले ४० हजार ७४०, माओवादी केन्द्रले १० हजार ८०९, राप्रपाले सात हजार ७९२, राजपाले दुई हजार २३५ र समाजवादी फोरमले एक हजार २०९ मत प्राप्त गरेको निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिए ।त्यसैगरी प्रदेशसभा समानुपातिकतर्फ एमालेले ४९ हजार १०५, कांग्रेसले ३९ हजार ९९६, माओवादी केन्द्रले १० हजार ८२३ र राप्रपाले आठ हजार ३०६ मत प्राप्त गरेका छन्।

मंसीर २१ गते सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा झापामा ७० दशमलब ९४ प्रतिशत मत खसेको थियो । पाँच लाख ८५ हजार १६६ मतदाता रहेको यस जिल्लामा चार लाख १५ हजार १०३ मत खसेको निर्वाचन कार्यालय झापाले जनाएको छ । प्रतिनिधिसभातर्फ ४९ दलको र प्रदेशसभातर्फ २७ दलको चुनाव चिन्ह समानुपातिक मतपत्रमा रहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर