Aamsanchar

अब विकास हुनेमा मतदाता आशावादी

Author Image
बुधवार, मंसिर २७, २०७४

दमक।

नेपालभरबाट नै प्रतिनिधिसभा सदस्यमा सर्वाधिक मत ल्याएर बिजय बनेका नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट झापा क्षेत्र नं. ५का बासिन्दाले ठूलो अपेक्षा राखेका छन् । भावी प्रधानमन्त्रीको रुपमा हेरिएका ओलीको जितले दमक र झापा क्षेत्र नं. ७ अन्तर्गतका नगरपालिका र गाउँपालिकाका मतदाताहरुले ठूलो अपेक्षा राखेका हुन् ।

ओेली प्रधानमन्त्री हँुदा झापाको साविक क्षेत्र नं. ७ र अहिलेको ५मा थुप्रै योजनाहरु आएका थिए । दमकमा विश्वको अग्लो बुद्धमूर्ति, एक लाख भन्दा बढीलाई रोजगार दिने औद्योगिक पार्क, सुबिधासम्पन्न दमक सिटी हल, व्यवसायिक भ्यूटावर, अन्तर्राष्ट्रिय खेलमैदान, क्षेत्रीय आयुर्वेद चिकित्सालय जस्ता योजनाहरु अब अघि बढ्नेमा समेत स्थानीयहरु आशाबादी रहेका छन् ।

त्यतिमात्र नभएर बर्षौबाट रतुवा, मावा, कमल, किस्नी, गेउरिया लगायतका खोलानालाबाट प्रताडित भएकाहरुले उचित तटबन्धनको समेत अपेक्षा गरेका छन् । सँधै चुनावी नाराहरुमात्र बने तर यो काम नभएको स्थानीयको गुनासो छ । ओलीको बिजयसभामा सहभागी दमक–२का भगिरथ निरौलाले अब ५ बर्षभित्रमा यी सबै काम पूरा हुन्छ भन्ने लागेको बताए । उनले कुरा मात्र भएको र अहिलेसम्म काम नभएको भन्दै अब काम नै अघि बढ्ने विश्वास रहेको बताए ।

दमक–७ की योगमाया भण्डारीले ओलीको बोलीबाट प्रभावित भएर नै आफूले मत दिएको बताउँदै भनेका योजनाहरु पूरा भएमा खुशी हुने बताइन् ।
बिजयसभालाई सम्बोधन गर्दै ओलीले आफूले गरेका बाचाहरु पूरा गर्ने बताएका छन् । उनले आफूले ल्याएका सबै योजनाहरु अब मुलुकका योजना भएको बताउँदै ती पूरा गर्ने आश्वासन दिए । उनले अब यस क्षेत्रको कायापलट हुने भन्दै बिकासमा सबैलाई सहयोग गर्न आग्रह गरे ।

चुनाव अघि यस्ता थिए ओलीको प्रतिबद्धता

दमकबाट उत्तरी पहाडी जिल्ला जोड्ने निर्माणाधीन दमक–चिसापानी–रबि सडक निर्माण कार्य सम्पन्न गरी गौरीगञ्ज–ताप्लेजुङ हुँदै चीनको सीमानासम्म सडक यातायात सञ्चालन गरिने, दमकमा निर्माणाधीन देशकै ठूलो सुबिधासम्पन्न सभाहल ३ बर्षभित्र पूरा गर्ने, बिस्तृत परियोजना तयार भई कार्यान्वयनका चरणमा रहेको विश्वकै अग्लो बुद्ध मूर्ति बनाइ छाड्ने प्रतिबद्धता पत्रमा छ ।

दमक भ्यू–टावर र क्लिन औधोगिक पार्क निर्माण कार्य अविलम्ब थालिने, कमल गाउँपालिका–५मा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण सम्पन्न गर्ने, उपयुक्त स्थान पहिचान गरी एउटा आन्तरिक बिमानस्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने समेत गठबन्धनको प्रतिबद्धतापत्रमा उल्लेख छ । मंगलवारे, क्याम्पा, शिवगञ्ज सडक निर्माण कार्य प्रारम्भ भइसकेकाले यसलाई तोकिएको समयभित्र कालोपत्रे गर्ने काम पूरा गरिने प्रतिबद्धता पत्रमा जनाइएको छ ।

यहाँका समस्याको रुपमा रहेका मावा, रतुवा, कमल, किस्नी खोला तटबन्ध कार्य सम्पन्न गरी किनारामा हरित पेटीसहित पार्क निर्माण गरिने छ । जनतालाई सहज पहुँच पु¥याउन गौरादह नगरपालिकामा पचास शैय्याको अस्पताल निर्माण र दमक अस्पताललाई विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने पनि ओलीको प्रतिबद्धतापत्रमा सार्वजनिक गरिएको छ ।

५ बर्षभित्रमा यस क्षेत्रमा १ लाखलाई रोजगारी, बहुप्रज्ञा प्रतिष्ठानको स्थापना, बहुप्राविधिक शिक्षालय, दमक नगरलाई सफा हरित नगरको रुपमा बिकास गर्ने, गौरीगञ्ज, गौरादह, केर्खा बजारलाई आधुनिक नगरको रुपमा बिकास गर्ने, ३ बर्षभित्रमा कल्भर्ट तथा पुलहरु निर्माण सम्पन्न गरिसक्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर