Aamsanchar

सुन्तलाको बोट मर्न थालेपछि किसान निरास

Author Image
बुधवार, मंसिर २७, २०७४

[गणेश अर्याल]
इलाम,।

नन्दलाल अधिकारीको सुन्तला बगान यसपाली रित्तै छ । तीन बर्षअघि मात्र सलकपुरको एक नम्बर मानिएको उनको बगानमा यसपाली एकदाना सुन्तला देखिँदैन । रोगको कारण बगानै सखाप भएको उनको भनाइ छ ।

इलामकै सबैभन्दा बढी र स्वादिलो सुन्तला उत्पादन गर्ने गरेका जिर्मलेस्थित सलकपुरका किसानहरु अहिले आएर सुन्तलाको बोट नै मर्न थालेपछि निरास भएका छन् । अत्यधिक सुन्तला उत्पादन हुने भएको कारण सलकपुरलाई गोल्डेन भ्यालीको उपमा पनि प्रदान गरिएको थियो ।

सलकपुरका किसानहरुले बिगत पचास बर्षभन्दा अघिदेखि व्यवसायिक सुन्तला खेती गर्दै आएका थिए । सुन्तलाको खेती गर्दै आएका किसानले आम्दामीको मुख्य स्रोत बनाएर हरेक बर्ष एक करोडभन्दा बढी रकम भित्र्याउन सफल रहेका थिए ।

बिगतका बर्षहरुमा गाउँबाट करौडौको सुन्तला निकासी हुने गरेको भए पनि यस बर्ष ८० प्रतिशत बढी बोट मरेको छ । किसानहरुले आफ्नै अनुभवबाट बिगत बर्षहरुमा सुन्तलाबाट आम्दानी लिन सफल भएका हुन् । तर, आम्दानीको मुख्यस्रोत सुन्तलाको बोट धमाधम कक्रिएर सर्लक्क सुक्न थालेपछि किसाहरुमा चिन्ता बढेको सलकपुरका किसान कल्पना भण्डारीले बताइन् ।

साविक जिर्मले बडा नै १, २ र ३ नम्वर बडाहरुका प्रायः सबै किसानहरुले लगाएको सुन्तलाको बोट मर्न थालेको छ । सलकपुर इलामको रोङ गाउँपालिका अन्तर्गत वडा नम्बर ६ मा पर्दछ । यसरी नै सुन्तलाको बोट मर्ने हो भने आगामी एक बर्षमा सलकपुर सुन्तलाबिहीन पनि सक्ने सम्भावना रहेको सलकपुरका किसान याम अधिकारीले बताए ।

एकप्रकारको पधेरा जस्तो सेतो किराको प्रकोपको कारण सुन्तलाको बोट नै मर्ने गरेको किसान देवराज खनालले बताए । सामान्य बिषादिले नमर्ने उक्त किरा मार्न कडा रेड पोइजनको वा हेरेर मारेमा मात्रै नियन्त्रण हुने किसानहरुको अनुभव रहेको छ । किसानहरुले बढी उत्पादनको मोहले विगतका बर्षहरुमा जथाभावी रुपमा बिषादिहरुको प्रयोग गरेको कारणले समेत अहिले समस्या आएको हुनसक्ने अनुमान गरिएको छ ।

पछिल्लो समय त्यस क्षेत्रमा अलंैची खेती हुन थालेको छ । अलैचीलाई सिंचाइ गरिरहनु पर्ने तर सुन्तलाको फेद वरिपरी ओभानो राख्र्नुपर्ने भए पनि अलैंची र सुन्तला खेतीको पारस्परिक मेल नहँुदा पनि सुन्तलाको उत्पादन घटेको हुनसक्ने वडाअध्यक्ष सुवास तामाङले बताए ।

इलामकै ‘शान र पहिचान’ बनेको सुन्तला नेपाली बजारमा मात्र होइन विगतका बर्षहरुमा भारतको कलकत्तामा समेत लोकप्रिय बनेको थियो । हरेक बर्षको हिउँदको समयमा सुन्तला चाख्न र हेर्नलाई लाखौंको संख्यामा स्वदेशी र बिदेशी पर्यटकहरु समेत भित्र्याएर लोकप्रियता कमाउँदै गएको समयमा सुन्तला नै मासिन लाग्दा किसानको आय–आर्जन ठप्प मात्र होइन मेहनत र लगानी समेत डुबेको छ ।

कृषि पर्यटनको सम्भावना बढेको खुल्ला कृषि पाठशालाको उदाहरण बनेका सलकपुरका किसानहरुलाई सरकारी पक्षबाट कुनै सहयोग नपाउनु किसानहरुको लागि दुर्भाग्य नै रहेको किसानहरुको दुःखेसो रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर