अब आरोप–प्रत्यारोप होइन विकास रोजौं

(नरेन्द्र ढकाल)

देशमा राष्ट्रियता प्रति देखाएको स्वाभिमान तथा दरिलो अडानका कारण केपी ओली प्रति धेरैको आशा र भरोसा बढ्दै गएको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वामपन्थी गठबन्धनको विजयको लहर अप्रत्यासितजस्तो देखिए पनि यो अस्वाभाविक भने होइन । माओवादी मूलधारको राजनीतिमा आएपछि वामपन्थीहरूको समग्र मत ५५ प्रतिशतजति थियो। कांग्रेसको मत ३० प्रतिशतदेखि ३७ प्रतिशतको हाराहारीमा हो । नेपालमा कम्युनिष्ट एक हुने हो भने अन्य राजनीतिक दलले लगभग शासन सत्ता चलाउने मौका कम मात्र पाउने छन् ।

तर सघर्षमा एक हुने कम्युनिष्टहरु जब सत्तामा पुग्छन् तब टुक्रा–टुक्रा हुने गरेकाले कांग्रेसले सधैं रा जगर्ने मौका पाएको थियो । यस पटक एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको केही चलाखी पूर्ण नियर्ण र केपी ओलीको साथले बामपन्थीहरुले कांग्रेसले सोच्दै नसोचेको परिणामा ल्याई दिएका छन् । कांग्रेसको व्यवस्थापकीय कमजोरी नभएको भए उसको लागि नतिजा योभन्दा राम्रो हुन सक्थ्यो ।

चुनावअगाडि एमाले माओवादी गठबन्धनमा मत हस्तान्तरण हुन्छ कि हुन्न भन्ने आशंका थियो तर सोचेभन्दा राम्रो मत हस्तान्तरण भयो । पार्टी एकता हुने भनिएकाले पनि मत हस्तान्तरण भएको हो । त्यसैले यस्तो परिणाम आएको हुन सक्छ । मत हस्तान्तरणको व्यवस्थापनमा उनीहरू सफल भए । कम्युनिष्टहरूबीच एकता हुनुपर्छ भन्ने विचारलाई नेता, कार्यकर्ता र जनताले स्विकारेको देखिएको छ । ६०÷४० को अनुपातमा सिट संख्या स्वीकार गरेर एमालेले ठूलै जोखिम मोलेको थियो । पार्टी एकीकरण हुन सक्यो भने त्यो जोखिम सही ठहर्छ तर एकीकरण हुन सकेन भने त्यसको नराम्रो असर एमालेमा पर्न सक्छ । कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय निकायको निर्वाचनका बेला केही ठाउँमा गठबन्धन भएको थियो तर त्यसले केही परिणाम दिए पनि खासै प्रभावकारी भने हुन सकेन । कांग्रेस र माओवादी केन्द्रको नीति र दृष्टिकोणमा धेरै अन्तर थियो । त्यसैले माओवादी केन्द्र र कांग्रेसको गठबन्धन स्वाभाविक थिएन पनि ।

यो गठबन्धन र एकताले पाँच वर्षका लागि स्थायी सरकार र स्थिरता देओस् भन्ने कामना गर्नुपर्छ । उनीहरूले मुलुकलाई समृद्धितर्फ लैजाने भनेका छन् । त्यसतर्फ उनीहरूलाई सफलता मिल्यो भने लाभान्वित हुने त नेपाली जनता हुन् । यसमा उनीहरूलाई रचनात्मक सहयोग हुनुपर्छ । निर्वाचन मानेर प्रतिस्पर्धा गरेपछि जीत हार गौण हुन्छ र किन हार भयो या जीत सम्भव भयो भनेर समीक्षा गरिन्छ । हारे धाँधली भन्ने र जिते निष्पक्ष निर्वाचन भन्ने सँस्कृति भएकाहरुसमेतले निर्वाचनलाई प्रयोग गरेर जित्दै गरेको बेलामा प्रजातान्त्रिक प्रक्रियाको जीत भएको मान्नैपर्छ ।

नयाँ संविधानले एउटा संवैधानिक बाटोको डोरेटो कायम गरिसकेको छ तर त्यो डोरेटोका प्रयोग नहुँदै भत्काउने खेल सुरु भएको छ । एकातिर डोरेटो मात्र छ, पक्का बनाउन समय लाग्नेछ भने अर्को्तिर त्यसलाई पनि बीच बाटोमै भत्काइयो भने यात्रु बिचल्लीमा नै पर्ने पक्का छ । न त हामी साम्यवादको प्रयोग गर्दैछौँ, न त हामी पूर्ण पुँजीवादको प्रयोग गर्दैछौं । हामी त लोक कल्याणकारी राज्यको पूर्वाधार तयार गर्दैछौँ र त्यसैको आधारमा राज्य प्रणाली विकास गर्ने ध्याउन्नमा लागेर पहिलो चक्रको निर्वाचन सम्पन्न गरेका छौं । अब मुलुकलाई अगाडी बढाउन एउटा स्पष्ट निित बनाउन आवश्यक छ ।

साँच्चै मुलुकले नयाँ परिवर्तनको चाह गरेकै हो भने संक्रमणकालको अन्त्य भएकै हो र मुुलुक अपेक्षित समन्वय र समझदारीमा चल्नेछ । अन्यथा जानेर नजानेर , संविधान विरोधीहरुको चंगुलमा फस्यो भने जत्तिसुकै बहुमतको सरकार बने पनि मुलुकमा अस्थिरता कायम रहनेछ र त्यो अस्थिरताले मुलुकको अस्मितासम्मलाई नकारात्मक असर र्पुयाउन सक्छ । शासन प्रणाली चलाउनु र विरोध गरेर बन्दुक नै उठाउनु फरक फरक कुरा रहेछ भन्ने कुरा हाम्रै इतिहासले पनि देखाएको छ ।

जनताको आधारभूत अधिकारको प्रत्याभूति प्रजातान्त्रिक अधिकार र कर्तव्यको कुनै कमी नगरी जनताले पाऊन् भन्ने आशा नै संक्रमणकालको अन्त्य र प्रजातान्त्रिक प्रणालीको नयाँ सुरुवात मानिने छ । गुण दोषको आधारमा सरकारको मूल्यांकन हुनुपर्छ । पूर्वाग्रहभन्दा माथि उठेर संविधानको कार्यान्वयन जरुरी रहेको छ । विपक्षी विरुद्ध खरोरुपमा प्रस्तुत हुने एमाले अध्यक्ष ओलीले बाम गठबन्धनले विजयी हासिल गरेपछि आयोजना गरिएका विभिन्न सभाहरुमा सबैसंग मिलेर अघि बढ्ने कांग्रेसलाई पनि संगै लिएर अघि गएपनि नेतृत्व आफुहरुले गर्ने जस्ता नरम शब्द प्रयोग गर्नुले पनि कांग्रेसले जस्तो भ्रम छर्न खोजेको थियो त्यसमाथि भने गतिलो जवाफको रुपमा यसलाई लिनु पर्छ । अब राजनीतिक यात्रालाई स्थायित्व दिदैं देश विकासलाई प्रथमिकता दिन अबको नेतृत्व सक्षम भएर अघि बढ्न जरुरी रहेको छ ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com