Aamsanchar

‘लाइसेन्स’ बितरण नगर्दा सेवाग्राही मारमा

Author Image
शनिवार, पौष १, २०७४

बिर्तामोड।

यातायात व्यवस्था कार्यालय मेचीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नियमित बितरण नगर्दा झापासहित चार जिल्लाका सेवाग्राही मारमा परेका छन् ।

गत बर्षको जेठमा लिएको ‘लाइसेन्स’को परीक्षापछि हालसम्म कार्यालयले आवेदन नलिँदा झापा, इलाम, पाँचथर र ताप्लेजुङका सेवाग्राही मारमा परेका हुन् । दिनप्रतिदिन सवारी साधन खरिद विक्री भए पनि सवारी चालक अनुमति पत्र यातायात व्यवस्था कार्यालय मेचीले बितरण नगर्दा हजारौं सर्वसाधारण लाइसेन्स विना नै सवारी चलाउन बाध्य छन् ।

यातायात व्यवस्था कार्यालयले दिनहुँ सवारी साधन अनुमतिपत्रको आवेदन लिने, सवारी चालक अनुमतिपत्र वितरण गर्नुपर्ने, नवीकरण गर्नुपर्ने नियम भए पनि गत वर्षको जेठ यता ‘लाइसेन्स’ वितरणका लागि आवेदन नलिँदा सेवाग्राही मारमा परेको समाजसेवी देवी गिरीले बताउनुभयो । उहाँले भन्नुभयो– जिल्ला प्रशासन कार्यालयले दिनहुँ नागरिकता बितरण गर्दा हुने, मालपोत कार्यालयले दिनहुँ जग्गाको कारोवार गर्दा हुने, भन्सार गरेर दिनहुँ सवारी नेपाल भित्र्याउँदा हुने तर नियमित ‘लाइसेन्स’ बितरण गर्दा चाँही किन नहुँने ।’

गिरी मात्र होइन झापाका अधिकांश सर्वसाधारणले अन्य सरकारी कार्यालयले जस्तै नियमित यातायात कार्यालयले पनि सेवाग्राहीलाई सेवा दिनुपर्ने माग गरेका छन् । यातायात कार्यालयले समयमा सवारी चालक अनुमपति पत्र ‘लाइसेन्स’ बितरण नगर्दा झापा सहित पूर्वका सडकमा हजारौं सवारी चालकले ‘लाइसेन्स’ विना नै सवारी गुडाउने गरेका छन् ।

यातायात व्यवस्था कार्यालयले वर्षमा एक दुई पटक मात्र सवारी चालक अनुमति पत्र वितरणका लागि आवेदन माग गर्दा ५० हजार बढीले आवेदन गर्ने गरेका छन् । यातायात व्यवस्था कार्यालय मेचीका सूचना अधिकारी टंकवहादुर कार्कीले जनशक्ति अभावमा नियमित रुपमा ‘लाइसेन्स’को आवेदन खुल्ला गर्न नसकिएको बताउनुभएको छ । उहाँले सेवाग्राहीको सेवा पाउने अधिकार खोसिएको भन्दै विभागलाई पटक – पटक जानकारी गराउँदा पनि समस्याको हल गर्न नसकिएको बताउनुभयो ।

झापा मात्र होइन इलाम, पाँचथर र ताप्लेजुङमा पनि समयमा ‘लाइसेन्स’ बितरण नहुँदा यो समस्या रहेको छ । मेची अञ्चलका लागि ‘लाइसेन्स’ वितरण गर्ने एक मात्र कार्यालय हुनु र यातायात कार्यालयले जनशक्ति अभाव देखाउँदै समयमै लाइसेन्स वितरण नगर्नुले सर्वसाधारणले मार खेप्नुपरेको छ ।

ट्रफिक प्रहरीलाई हैरानी

सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’ विनानै झापाका सडकमा अधिकांश सवारी गुड्ने भएपछि ट्राफिक प्रहरीले चेकजाँचलाई कडाई गरेको छ ।

दिनहुँ सवारी चालक कारवाहीमा परेपनि उनीहरुले सवारी चलाउन भने छाडेका छैनन् । ट्राफिक प्रहरीको आँखा छलेर उनीहरुले जथाभावी सवासी चलाउदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेर गएको सरोकारवालाहरुले बताउने गरेका छन् । ‘लाइसेन्स’ विना सवारी चलाउन नपाइने कानुनी प्रावधान छ तर, लाइसेन्स लिनका लागि यातायात कार्यालयले आवेदन नखोल्दा आफूहरुले हैरानी व्यहोर्नु परेको बताउनुहुन्छ जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राई ।

उहाँ भन्नुहुन्छ– सडकमा चेक गर्न बस्यो ‘लाइसेन्स’नहुने सरुमै ५ सय बोकेर चिट काट्नु प¥यो भन्दै आउछ । कति सवारी चालकलाई कारवाही गरेर सक्नु अधिकांश सवारी चालकले ‘लाइसेन्स’ बोकेको हुँदैन , पटकेलाई गाडी राखेर कारवाही अघि बढाउन पनि राख्ने ठाउँको अभाव छ उहाँले भन्नुभयो–कारवाही नगरु त्यस्ता सवारीले दुर्घटना गरायो भने ठूलो समस्या निम्तन्छ ।’

लाइसेन्स नबोक्दा १ करोड १९ लाख जरिवाना

‘लाइसेन्स’ विना दिनहुँ गुड्ने सवारी कारवाहीमा पर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चालू आर्थिक वर्षमा एक करोड १९ लाख ७२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जसमा लाइसेन्स नबोक्ने २० हजार ४ सय ५० सवारी कारवाहीमा परेका छन् ।

अघिल्लो आर्थिक वर्ष ट्राफिक प्रहरीले दुई करोड १६ लाख २२ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । जसमा २१ हजार २ सय ५३ वटा मोटरसाइकल कारवाहीमा परेका थिए । जसमा ट्याम्पो दुई हजार ६ सय ३२ वटा कारवाहीमा परेका थिए । जसवाट प्रहरीले १४ लाख ९३ हजार ५ सय र ट्याक्टर ६ हजार ५ सय ९१ वटा कारवाहीमा पर्दा ३७ लाख ३६ हजार ५ सय , जिपकार ५ हजार ७ सय ४४ कारवाहीमा पर्दा ३२ लाख ५८ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो ।

गत आर्थिक वर्ष वस,ट्रक लगायत साना सवारी सहित ३६ हजार २ सय २० सवारी कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक याम खड्काले जानकारी दिनुभयो ।

दिनानु दिन सवारीको चाप थपिनु र यातायात कार्यालयले ‘लाइसेन्स’ बितरण नगर्दा सडकमा गुड्ने अधिकांश सवारी चालक ‘लाइसेन्स’ विहीन छन् ।

मेचीमा एक लाख मात्र सवारी दर्ता

यातायात व्यवस्था कार्यालय मेचीमा चालू अर्थिक वर्षको कात्तिक सम्ममा एक लाख ६ हजार ४ सय ४१ वटा मात्र सवारी दर्ता भएका छन् । दर्ता भएका सवारी साधन मध्ये सबै भन्दा बढी मोटरसाइकल र स्कुटर रहेका छन् । आर्थिक वर्ष २०७३÷०७४ मा मोटरसाइकल र स्कुटर मात्रै ८२ हजार ६ सय २७ वटा दर्ता भएका थिए भने चालू आर्थिक वर्षको चार महिनामा एक हजार ६ सय ९३ वटा दर्ता भएका छन् । यो संगै मेचीमा दर्ता भएका मोटरसाइकलको संख्या ८४ हजार ३ सय २३ पुगेको छ ।

त्यस्तै बस, ट्रक, मिनी बस, स्काभेटर, रोलर अघिल्लो आर्थिक बर्षमा तीन हजार एक सय ३९ र चालू आर्थिक बर्षमा ९५ वटा दर्ता भएका छन् । जीप, कार, भेन, माइक्रोबस अघिल्लो आर्थिक बर्षमा सात हजार ९ सय ३३ वटा दर्ता भएका छन् भने चालू आर्थिक बर्षमा ३ सय ९० वटा दर्ता छन् । ट्याक्सी अघिल्लो आर्थिक वर्षमा तीन हजार ५ सय ३९ वटा दर्ता भएका थिए भने चालू आर्थिक वर्षमा ५ सय ८१ वटा दर्ता रहेका छन् ।

ट्याक्टर ६ हजार १ सय ९१ अघिल्लो आर्थिक वर्षसम्ममा दर्ता थिए भने चालू आर्थिक वर्षमा १२१ वटा सवारी दर्ता भएको यातायात व्यवस्था कार्यालय मेचीको तथ्याङ्कमा उल्लेखछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर