Aamsanchar

काउलेपानीमा पर्यटकीय संरचना निर्माण

Author Image
शनिवार, पौष १, २०७४

लमजुङ, 

घरबास (होमस्टे) का लागि उत्कृष्ट भनिएको गाउँशहरको काउलेपानीमा रु ४० लाखको लगानीमा विभिन्न पर्यटकीय संरचना निर्माण गरिएको छ । बेँसीशहर नगरपालिका–३ गाउँशहरको काउलेपानी क्षेत्रको पर्यटन विकास र गाउँमा आउने पाहुनालाई स्तरीय सेवा प्रदान गर्नका ्लागि त्यस्ता संरचना निर्माण गरिएको हो ।

गाउँमा पदैलमार्ग, पाहुना सत्कार कक्ष, दृश्यावलोकन टावर, खानेपानी व्यवस्थापन, वनभोजस्थल तथा काउलेपानी देवी मन्दिर जाने बाटो र पुल गरी झण्डै रु ४० लाखको लागतमा ती संरचना निर्माण गरिएका छन् ।

छ वर्षअघिदेखि होमस्टे सञ्चालन भएको काउलेपानी गाउँमा घरैपिच्छे पानीको धारा जडान गरिएको छ । गाउँ आसपासमा घुम्न, मन्दिरसम्म पुग्न पैदलमार्ग निर्माण, खोला खोल्सामा पुलसमेत बनाइएको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देउबहादुर गुरुङले बताउनुभयो ।

यस्तै, गाउँ नजिकै वनभोजस्थलको व्यवस्था गरिएको छ । गाउँ भित्रिएका पाहुनालाई स्वागत गर्न सत्कारगृह निर्माण गर्नुका साथै सूर्योदय र सूर्यास्तको दृश्यावलोकन र तस्वीर खिच्न मिल्ने गरी भ्युटावरको निर्माण गरिएको गुरुङले बताउनुभयो ।

सरकारी तथा गैरसरकारी संस्थाको सहयोग र स्थानीयवासीको जनश्रमदानसँगै गाउँको कोषबाट रकम जुटाएर कूल रु ४० लाख १७ हजारको लागतमा ती संरचना निर्माण गरिएको होे ।

पर्यटन विकास समितिका सचिव जगतबहादुर गुरुङका अनुसार एकघर–एक धारो निर्माणका लागि जिल्ला पर्यटन विकास समितिले रु पाँच लाख सहयोग गरेको थियो । त्यस्तै, सिँढीसहितको पैदलमार्ग निर्माणका लागि पनि सोही समितिले रु एक लाख ५० हजार उपलब्ध गराएकोमा त्यसमा स्थानीयले श्रमदान र नगद गरी करिब रु पाँच लाख खर्च गरेका छन् ।

समितिका अनुसार बेँसीशहर नगर विकास समितिको रु पाँच लाख सहयोग र स्थानीयको रु दुई लाख ६७ हजार लगानी गरी गाउँभन्दा माथि वनभोजस्थल बनाइएको छ । गाउँलेले पर्यटन कार्यालय पोखराको रु पाँच लाख र स्थानीयको रु चार लाख ५० हजारको लागतमा काउलेपानी देवी मन्दिर जाने पैदलबाटो र पुल निर्माण गरेका छन् । बेँसीशहर नगरपालिकाको रु दुई लाखमा स्थानीयले रु तीन लाख थप गरी रु पाँच लाखको लागतमा पाहुना सत्कारगृह निर्माण गरिएको छ ।

लमजुङ उद्योग वाणिज्य संघको ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत रु तीन लाखको सहयोगमा स्थानीयले रु पाँच लाख थप गरी कूल रु आठ लाखको लागतमा दृश्यावलोकन भ्युटावर निर्माण गरिएको छ । टावरलाई तीन तल्लासम्म उठाउने लक्ष्य रहेकामा अहिले एक तल्लामात्रै बनाइएको समितिका सचिव गुरुङले जानकारी दिनुभयो ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टे गाउँ घोषणा गरेपछि काउलेपानी जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेको छ । सदरमुकाम बेँसीशहरबाट मोटरमा करिब सात किलोमिटर कच्ची बाटो पार गर्दै पुगिने गाउँशहरको काउलेपानी गाउँ समुन्द्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा छ । काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत १४ वटा हिमश्रृङ्खला देख्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर